३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न रुससमक्ष अमेरिकी माग

निःशस्त्रीकरण सम्मेलनका लागि अमेरिकी दूत रोबर्ट वुड । तस्बिर: एजेन्सी

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले रुससमक्ष उसको नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न सोमबार माग गरेको छ। रुसको नयाँ सामुद्रिक क्षेप्यास्त्र प्रणाली मध्यम–दूरी आणविक फौज (आइएनएफ)सम्बन्धी सन्धिको प्रत्यक्ष र निरन्तर उल्लङ्घन भएको भन्दै सो प्रणाली तत्काल अन्त्य गर्न वासिङ्टनले मस्कोसँग आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। नयाँ क्षेप्यास्त्र प्रणाली लागू गरेर रुसले विश्व सुरक्षालाई अस्थिरतातर्फ लगेको आरोपसमेत संयुक्त राज्य अमेरिकाले लगाएको छ।

रुसले ल्याएको नयाँ क्षेप्यास्त्र प्रणालीसँग परम्परागत र आणविक दुवै प्रकारका हतियार बोक्न सक्ने क्षमता रहेको अमेरिकी निःशस्त्रीकरण राजदूत रोबर्ट वुडलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। सो प्रणालीले युरोप र एसियालाई प्रत्यक्ष तथा शक्तिशाली चुनौती खडा गरेको समेत वुडले बताएका छन्। उनका अनुसार रुसको नयाँ क्षेप्यास्त्र प्रणालीले पाँच सयदेखि एक हजार पाँच सय किलोमिटरसम्म मार हान्न सक्छ।

रुसले ऐतिहासिक आइएनएफ सन्धिलाई जोगाइराख्नेबारे अमेरिकासमक्ष गत साता गरेको आग्रहलाई वासिङ्टनले अस्वीकार गरेको थियो। सो सन्धिमा आणविक क्षेप्यास्त्र युरोपभन्दा बाहिर राखिने प्रावधान रहेको छ। राम्ररी प्रमाणित गर्न नसकियोस् भनेर यस्तो प्रावधान सो सन्धिमा राखिएको छ। यही प्रावधानकै कारण वासिङ्टनले अर्को महिनाबाट सो ऐतिहासिक सन्धिबाट हात झिक्दै छ। ‘दुःखका साथ भन्नुपर्छ हतियार नियन्त्रणबारे रुसले बहन गरिरहेको उत्तरदायित्वप्रति अमेरिकाले विश्वास गरिरहन सक्दैन। साथै उसको बलजफ्ती पूर्ण सोच र विश्वभर उसले गर्ने आक्रोशपूर्ण गतिविधिका कारण पनि तनाव सिर्जना भइरहेको छ,’ अमेरिकाले प्रायोजन गरेको निःशस्त्रीकरणसम्बन्धी एक सम्मेलनमा वुडले बताए। ६५ सदस्य राष्ट्र रहेको सो सम्मेलनको २०१९ को सत्र राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका रुसी प्रतिनिधिमण्डलले भने अमेरिकी मागबारे केही प्रतिक्रिया दिएका छैनन्।

रुसले गैरकानुनी क्षेप्यास्त्रको परीक्षण गरेको र आइएनएफ सन्धिप्रति धोकाबाजी गरेको वुडले सम्मेलनमा बताए। ‘आइएनएफ सन्धिप्रति वफादारिता देखाउने हो भने रुसले एसएससी–आठ नामका ती सबै क्षेप्यास्त्र, लन्चर र त्यससँग सम्बन्धित सबै उपकरण प्रमाणित रूपमै ध्वस्त गर्नुपर्छ,’ वुडले बताए। वुडले रुसले सिरियाली राष्ट्रपति बसर अल–असदलाई गरिरहेको समर्थनको पनि विरोध गरेका छन् भने इरानलाई रुसले अत्याधुनिक हतियार उपलब्ध गराएको भन्दै त्यसको पनि निन्दा गरेका छन्।

रुसका पूर्वगुप्तर सेर्गेई स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतको साल्सबरीमा गत मार्च महिनामा गरिएको रासायनिक हमलाले पनि रुसको गैरजिम्मेवारिता प्रष्ट भएको र आइएनएफमा रासायनिक हतियार प्रयोग नगर्ने भन्ने बुँदाको उल्लङ्घन भएको वुडले बताए। पूर्वगुप्तर स्क्रिपाल र उनकी छोरी युलियामाथि रुसको जिआरयू सैन्य गुप्तचर निकायका एजेन्टहरुले आक्रमण गरेको आरोप बेलायतले लगाउँदै आएको भए पनि मस्कोले भने सो आरोप अस्वीकार गर्दै आइरहेको छ।

गत मार्चमा भएको सो आक्रमणमा परेका बाबुछोरी दुवै बच्न सफल भएका थिए। स्क्रिपाल र उनकी छोरीमाथि रासायनिक हमला भएपछि बेलायत र रुसबीच कूटनीतिक समस्यासमेत उत्पन्न भएको छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेका छन्।

प्रकाशित: ८ माघ २०७५ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App