१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ आश्वासनबाट माडुरो उत्साहित

चीन भ्रमणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरो (बायाँ) सँग शुक्रबार भेट गर्दै चिनियाँ प्रधानमन्त्री ली खछ्याङ। तस्बिर : रोयटर्स

कराकास – भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएका छन्।

मुलुकको अर्थतन्त्र मुख्यरूपमा तेलमा आश्रित रहेको भेनेजुएलामा विगत तीन दशकमा तेल उत्पादनमा लगानी वृद्धि हुन सकेको छैन । सरकारले तेल उत्खनन् र प्रशोधनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा राज्य सञ्चालित पिडिभिएसएको पूर्वाधार कमजोर अवस्थामा पुगेको विश्लेषकहरुले बताउँदै आएका छन् । पछिल्लो तीन दशक भेनेजुएलाको तेल उत्पादनको क्षेत्रमा लगानी बढ्न सकेको छैन । तेलबाट आर्जित राजश्व वित्तीय घाटाको व्यवस्थापनमा मात्र प्रयोग गर्नुपर्ने अवस्था रहेको छ।   

चीन भ्रमणमा रहेका राष्ट्रपति माडुरोले राज्य सञ्चालित टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, ‘तेलको उत्पादन, सुनको उत्पादनका साथै पाँच सय भन्दाबढी विकास परियोजनामा वित्तीय लगानी गर्ने चीनको प्रतिबद्धता आएको छ ।’ माडुरो शुक्रबारदेखि बेइजिङ भ्रमणमा छन् । उनलाई चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा स्वागत गरेका थिए । राष्ट्रपति माडुरोले चिनियाँ विकास बैंक र चिनियाँ राष्ट्रिय पेट्रोलियम निगमका पदाधिकारीसँग पनि भेटघाट गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । बेइजिङबाट यसअघि नै ५० अर्ब अमेरिकी डलर ऋण लिएको भेनेजुएलाले अझै २० अर्ब डलर भुक्तानी गर्न बाँकी छ । तेल बिक्री गरेर भेनेजुएलाले चीनलाई ऋण भुक्तानी पनि गरिरहेको छ । चीनले भेनेजुएलालाई उपलब्ध गराएको ऋणको भुक्तानीमा सन् २०१६ देखि केही लचक नीति लिएको छ।

माडुरोले थप ऋण वा भुक्तानीका बारेमा वा अरु पाँच अर्ब डलर ऋणका बारेमा छलफल भए नभएकोबारे भने केही नखुलाएको एएफपीले जनाएको छ । भेनेजुएलाको इकोएनालिटीकाले राष्ट्रपति माडुरो थप पाँच अर्ब डलर ऋण लिएर चीनबाट फर्किने सम्भावना रहेको जनाएको छ । साथै भुक्तानी गर्नुपर्ने ऋणको समयसीमा समेत वृद्धि हुने बताइएको छ । भेनेजुएला र यसको राज्य सञ्चालित कम्पनी पिडिभिएसएलाई सन् २०१७ मा ऋण नतिरेको आरोपमा आंशिक रूपमा कालोसूचीमा राखिएको थियो । शुक्रबार राष्ट्रपति माडुरोले ऊर्जा र खनिज उत्खनन्सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भेनेजुएलाको कच्चा तेल उत्पादन अगष्ट महिनामा प्रतिदिन १४ लाख ब्यारेल थियो । सन् २००२ र २००३ यता यो नै सबैभन्दा न्यून उत्पादन हो । भेनेजुएलाको कूल राष्ट्रिय आम्दानीको ९६ प्रतिशत तेल उत्पादन र बिक्रीले ओगटेको छ।

माडुरोको सरकारले अर्थतन्त्र धरासायी हुनबाट रोक्नका लागि मुद्राको अवमूल्यन गरेको थियो । भेनेजुएलाका १६ लाखभन्दा बढी मानिस खाद्यान्न र औषधिको अभाव भएपछि आफ्नो देश छोडेर दक्षिण अमेरिकाकै अन्य मुलुकमा पलायन भएका छन् । उता, राजधानी कराकासमा शनिबार उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकन स्टेट अर्गनाइजेसनका प्रमुख लुइस अल्माग्रोले दिएको चेतावनीका विरुद्धमा राष्ट्रसंघ समक्ष आवाज उठाउने बताएका छन् । भेनेजुएलाका नागरिकले माडुरो सरकारका कारण दुःख पाएको भन्दै अल्माग्रोले भेनेजुएलामा सैनिक हस्तक्षेप आवश्यकता रहेको बताएका थिए।     

राष्ट्रपति माडुरोले संयुक्त राज्य अमेरिकाका कारण आफ्नो मुलुकले विभिन्न समस्या झेल्नुपरेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: १ आश्विन २०७५ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App