१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ। 

दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ। विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व्यापारमा असर पार्ने अनुमान गरिएको छ। 

जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको, जुन गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो। अमेरिकासँग चीनको व्यापार असन्तुलन नै ट्रम्पको सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो। ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आएका छन्। 

चीनको विश्वव्यापी व्यापारमा पनि कमी आएको छ। आयात र निर्यात बढेपनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ। चीनको अमेरिकासँगको व्यापार असन्तुलनमा कमी आएपनि ट्रम्पसँगको तनाब कम हुने देखिन्न। जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनियाँ उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ। बेइजिङले पनि यस्तै कम चालेको छ। 

अमेरिकी अधिकारीहरुका अनुसार, अगष्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ। ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ। यसबाट पूर्ण व्यापार युद्ध हुने खतरा बढेको छ भने विश्व अर्थतन्त्रमै यसले गम्भीर असर पार्नेछ। 

अमेरिकाले भविष्यमा थप २०० अर्ब डलरका चिनियाँ सामानमाथि कर लगाउने तयारी थालेको छ। 

ट्रम्पले व्यापार युद्धलाई सहजै जित्न सकिने बताउँदै अाएका छन् र चीनले आफ्ना कार्यमा सुधार नगरे सबै चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन्। उनले यस कार्यबाट ३३५ अर्ब अमेरिकी डलरको व्यापार घाटालाई न्यूनीकरण हुने बताएका छन्। 

अमेरिकी उद्योग र किसानहरु यो कदमबाट सर्वाधिक प्रभावमा परेका छन्। ट्रम्प प्रशासनले किसानहरुलाई परेको प्रभाव कम गर्न १२ अर्ब डलरको सहायता गर्ने घोषणा गरिसकेको छ। 

अक्सफोर्डका अर्थशास्त्रीहरुका अनुसार, अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी कूल घरेलु उत्पादनमा सन् २०२० सम्ममा करिब ०.७ प्रतिशतले कमी आउनेछ। .

अमेरिकासँगको कर युद्धका बाबजूद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ। 

प्रकाशित: २३ श्रावण २०७५ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App