२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विस्थापितलाई सहयोग गर्न आग्रह

तस्विर : एजेन्सी

जेनेभा– विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसिमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले एन्टोनियो गुटेर्रेसले आग्रह गरेका छन्।

महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रूपमा बाहिरिनु मानिसको बाध्यता भएकोले अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख मानिस कुनै न कुनै रूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।

यसरी आफ्नो देश वा इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।

महासचिव गुटेर्रेसले हालैमात्र म्यानमारबाट भागेर बंगलादशेको कोक्स बजारमा शरणार्थीका रूपमा बसिरहेका रोहिन्जा शरणार्थीको शिविर भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताएका थिए । म्यानमारको सेनाले ज्यादति गरेपछि ती शरणार्थी भागेर बंगलादेश पुगेका हुन् ।

हाल त्यहाँ करिब आठ लाख शरणार्थी रहेका छन् ।‘विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित नागरिकले निकै दयनीय जीवन बिताउन बाध्य भएका छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्दछु,’ महासचिव गुटेर्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २७ असार २०७५ ०४:०९ बुधबार

विस्थापितलाई गर्न आग्रह