२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनका लागि जासुस गर्ने अमेरिकी पक्राउ

वासिङ्टन– चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचर निकायका एक जना पूर्वकर्मचारी पक्राउ परेको वासिङ्टनले बताएको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार ५८ वर्षका रोन रक्वेल ह्यान्सेनलाई संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले शनिबार हिरासतमा लिएको थियो । चीन जानका लागि सियाटल विमानस्थलतर्फ गइरहेका बेला ह्यान्सेनलाई पक्राउ गरिएको बताइएको छ । ह्यान्सेनले चीन सरकारको लागि अमेरिकाको जासुसी गरेबापत कम्तीमा आठ लाख डलर पाएको न्याय मन्त्रालयको दाबी उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

चीनका लागि आफ्नै नागरिकले जासुसी गरेको अमेरिकाको टिप्पणीलाई चीनले भने ‘गैरजिम्मेवार’ भन्दै खण्डन गरेको छ । शनिबार पक्राउ परेका ह्यान्सेनलाई चीनका लागि अमेरिकाविरुद्ध जासुसी गरेको अभियोगमा सियाटलस्थित एउटा अदालतमा उपस्थित गराइएको बिबिसीले उल्लेख गरेको छ । अदालतमा भएको छोटो उपस्थितिमा ह्यान्सेनले आफूविरुद्ध लागेको मुद्दा आफ्नै गृह राज्य युटामा खेप्न सहमति जनाएको बताइएको छ।

अभियोग के के छन् ?

युटा राज्यको साइराकज निवासी ह्यान्सेनले विदेशी सरकारलाई आर्थिक सहयोगका लागि राष्ट्रिय सुरक्षाको सूचना भेला गरेको वा दिन प्रयास गरेको अभियोग लगाइएको छ । उनीविरुद्ध सन् २०१३ देखि २०१७ सम्म निरन्तर अमेरिकी सैनिक र गुप्तचर गतिविधिसँग सम्बन्धित सम्मेलनमा भाग लिएको र त्यसको जानकारी चीनस्थित सम्पर्क सूत्रलाई उपलब्ध गराएको लगायतका १५ वटा अभियोग लगाइएको बिबिसीले उल्लेख गरेको छ।

राज्यविरुद्ध जासुसीको प्रयास गरेको अभियोग प्रमाणित भए ह्यान्सेनले आजीवन कारावाससहितको अधिकतम सजाय पाउन सक्ने बताइएको छ । अमेरिकी सहमहान्यायधिवक्ता जोन डेमेर्सले ह्यान्सेनले राष्ट्रिय सुरक्षालाई धोका दिएको प्रतिक्रिया दिएका छन् । उनको पहुँच माथिल्लो तहका गोप्य जानकारीसम्म वर्षौंसम्म रहेको र उनले सन् २०१३ देखि २०१७ सम्म निरन्तर चीनको भ्रमण गरेको अमेरिकी न्याय मन्त्रालयको दाबी उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

युटा राज्यका अमेरिकी महान्यायाधिवक्ता जोन हबरले ह्यान्सेनविरुद्धको अभियोग निक्कै चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् । उनीविरुद्ध लागेको १५ वटा अन्य अभियोगमा चीनका लागि दर्ता नगरिएको विदेशी एजेन्टका रूपमा काम गरेको, थोक मुद्रा स्मिगलिङ गरेको र अमेरिकाबाट सामान स्मिगलिङ गरेको लगायतका रहेको बिबिसीले जनाएको छ।

चीन र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आइरहेकै समय चीनका लागि अमेरिकाविरुद्ध जासुसी गरेको अभियोगमा ह्यान्सेन पक्राउ परेका छन् । गत शनिबार मात्रै अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले विवादित साउथ चाइना सीको टापुहरुमा चीनले संरचना बनाउनु र क्षेप्यास्त्र तैनाथ गर्नुलाई छिमेकी राष्ट्रलाई धम्क्याउने नीति भएको आरोप लगाएका थिए ।

चीन र अमेरिकाबीच पछिल्लो समय असमान व्यापार रहेको भन्दै बढिरहेको व्यापारसम्बन्धी तनाब अन्त्यका लागि दुई देशबीच बेइजिङमा भइरहेको वार्ता पनि अमेरिकाले चिनियाँ सामानमा भन्सार कर (ट्यारिफ) सुरुवात गर्ने मिति सार्वजनिक गरेसँगै छायाँमा परिरहेका अवस्थामा भएको ह्यान्सेनको पक्राउले दुई देशबीचको सम्बन्धमा अझै चिसोपन आउनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०३:३९ बुधबार

चीनका लागि जासुस गर्ने अमेरिकी पक्राउ