१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

तमिल नाडुको थुथुकुडीस्थित तामा कारखानाबाट निक्लिरहेको प्रदुषणको विरोध गर्दै गत साता प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी । तस्बिर :एजेन्सी

नयाँ दिल्ली– भारतको दक्षिणी राज्य तमिल नाडु सरकारले देशकै सबैभन्दा ठूलो तामा कारखाना स्थायी रूपमा बन्द गर्न सोमबार आदेश दिएको छ ।लन्डनमा सूचीकृत भेदान्त कम्पनीले सञ्चालन गरिरहेको थुथुकुडीस्थित तामा कारखानाबाट निक्लिरहेको प्रदुषणको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा गत साता १३ जनाको मृत्यु भएको थियो ।

‘हामीले तामा कारखाना स्थायी रूपमा बन्द गर्ने निर्णय गरेका छौं र सरकारले आजै आदेशसमेत जारी गरिसकेको छ,’ राज्यको प्रदुषण विभागका अधिकारीसहित अन्य अधिकारीसँगको बैठकपछि तामिल नाडुका मुख्यमन्त्री ई के पलनीस्वामीले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।भारतकै दोस्रो ठूलो तामा कारखाना बन्द गरिनुपर्ने माग गर्दै लामो समयदेखि स्थानीयवासी तथा वातावरणविद्ले आन्दोलन गरिरहेका थिए । वेदान्त तामा कारखानाले वार्षिक रूपमा चार लाख बढी टन तामा उत्पादन गर्ने गरेको छ । वेदान्त तामा कारखानाका कारण वायु तथा पानी प्रदुषण भएको भन्दै स्थानीयवासी र वातावरणविद्ले उक्त प्लान्ट बन्द गर्न माग गर्दै आइरहेको थिए ।

यद्यपी भेदान्तले भने प्रदुषण गराएको भन्ने आरोप अस्वीकार गर्दै आइरहेको छ । वातावरणविद्का अनुसार तमिल नाडुको बन्दरगाह सहर थुथुकुडीस्थित वेदान्त तामा प्लान्टका कारण भूमिगत जलमा प्रदुषण भइरहेको थियो र उक्त इलाकामा क्यान्सरसहित अन्य रोगको खतरासमेत बढिरहेको थियो । तर स्टारलाइट प्लान्टको स्वामित्वमा रहेको बेलायती कम्पनी वेदान्तले भने पर्यावरण अभियन्ताले दुष्प्रचार गरेको आरोप लगाउँदै आएको छ । कारखाना बन्द गर्ने कुनै पनि प्रकारको प्रयासविरुद्ध कम्पनीले कानुनी लडाइँ लड्ने भेदान्तको भारतीय तामा व्यापारका प्रमुख पी.रामनाथले शुक्रबार समाचार एजेन्सी रोयटर्सलाई बताएका थिए । उनले स्थानीय समुदायसँग पुल बनाउने लक्ष्य राखेको समेत बताएका थिए ।

प्लान्ट मर्मतसम्भार र लाइसेन्सको नवीकरण प्रक्रिया स्थगित भएका कारण मार्च महिनादेखि बन्द रहेको बताइएको छ । बन्द भएकै बेला पनि प्लान्ट वरपरका स्थानीयवासीले सही कार्यका लागि कारखाना बन्द गरिनुपर्ने माग गर्दै ठूलो संख्यामा शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । प्रदर्शनको सयौं दिन पुगेको दिन गत साताको मंगलबार हजारौंको संख्यामा रहेका प्रदर्शनकारी तमिल नाडु राज्य सरकारको कार्यालयतर्फ अघि बढेको थियो ।

त्यही बेला प्रहरीले गोली चलाउँदा १० जनाको घटनास्थलमै र बाँकी तीन जनाको प्रदर्शन भएको केही दिनमा मृत्यु भएको थियो । तमिल नाडुको तुतिकोरिन जिल्लामा भएको उक्त प्रदर्शनमा ती प्रदर्शनकारीको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । प्रदर्शनकै क्रममा पत्रकार र क्यामेराम्यानसहित कम्तीमा ४० जना घाइते भएका थिए ।
कारखानाको विषयलाई लिएर स्थानीयवासीसँग तनाब चुलिएपछि आफूले करिब तीन हजार पाँच सय कामदार लगिसकेको वेदान्तलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।


 

प्रकाशित: १५ जेष्ठ २०७५ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App