अमेरिकी राष्ट्रपति चुनावमा विजेता भएपछि सबैलाई चकित पार्ने गरी डोनाल्ड ट्रम्पले अर्बपतिहरू इलन मस्क र विवेक रामास्वामीलाई नयाँ विभाग सम्हाल्न दिएका छन्स जसको नाम, डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डिओजिई– डोज) नामकरण गरिएको छ। यो विभागले सरकारी निकायहरू सुस्त भए, तिनको निर्णय प्रभावकारी भएनन् भन्ने गुनासो सम्बोधन गर्ने बताइएको छ। तर मुख्य सरकारी विभागलाई नै निस्तेज पार्ने गरी जुन ‘डोज’ दिन खोजिएको छ, त्यसले के सन्देश दिन्छ भन्ने खोजी सुरु भएको छ।
हालै एक्समा डोजको नयाँ अकाउन्ट तयार भएको छ र त्यसमा लेखिएको छ, तपाईंले हामीलाई चुस्त प्रशासनका लागि विभिन्न सुझाव दिन सक्नुहुन्छ। यी सुझावलाई मस्क र रामास्वामीले छनोट गर्नेछन् र साँच्चिकै कामलाग्दा सुझावलाई कार्यान्वयनमा ल्याउने छन्। त्यसका लागि तपाईंले डिएम (डाइरेक्ट म्यासेज) गर्नुहोस्।
कुरा यहाँनेर बिग्रन्छ। डोजलाई तपाईंले सिधा म्यासेज गर्न खोज्नुभयो भने हुँदैन। डिएम गर्न तपाईंले एक्सको विशेष ग्राहक बन्नुपर्ने हुन्छ। यो ग्राहक बन्न कम्तीमा आठदेखि १६ डलर प्रतिमहिना तिर्नुपर्ने हुन्छ। मस्कले यसअघि सरकारी कामकारबाही निकै सुस्त र खर्चालु भएकाले यसलाई २ ट्रिलियन डलर बराबरले घटाउन सकिन्छ भनेका थिए। उनीहरूको सोही सोचलाई कार्यान्वयन गर्न डोज बनाइएको हो।
विज्ञहरू भने तिनको यो अभियान न सफल हुन्छ न त घोषणा गरेजस्तो सजिलो नै छ। उल्टै यसले अमेरिकी प्रशासनलाई ध्वस्त बनाउने छ। हुन त मस्कले यसलाई उति सजिलो छ भनेका पनि छैनन्। उनले एक्समा लेखेका छन्, ‘यो काम निकै गाह्रो र फोहोरी हुनेछ। यसले धेरै शत्रु जन्माउने छ भने त्यसबाट मैले पाउने फाइदा भने शून्य नै हुनेछ।’
तर यसका बाबजुद पनि उनले किन यस्तो गर्न खोजे भन्ने अझै प्रस्ट हुन सकेको छैन। डोजको अकाउन्टमा तपाईंको उद्देश्य के हो भनी प्रश्न गर्दा कुनै पनि जवाफ आएको छैन भनी द वाल स्ट्रिट जर्नल लेख्छ। डोजले खोजेको चाहिँ, ‘उच्च आईक्यु भएको सरकारी कर्मचारीहरू हुन्, जो सातामा ८० घन्टाभन्दा बढी (दैनिक कम्तीमा ११ घन्टा) काम गरून्।’ यस्ता कर्मचारीले भने बल्ल सरकारी कामलाई चुस्त बनाउन सक्छन् भन्ने बुझाइ मस्क र रामास्वामीको छ।
उनले उदाहरणका रूपमा अस्पताल र सेयर बजारमा काम गर्ने कर्मचारीलाई बनाएका छन्। मेडिकल र सेयर बजारका कर्मचारीहरू तीक्ष्ण मात्र छैनन्स उनीहरू लामो अवधिसम्म काम गरेर चुस्त सेवा दिइरहेका छन्। अन्य क्षेत्रका कर्मचारीहरू भने सातामा जम्मा ५६ घन्टा काम गर्छन् र त्यसमा पनि उनीहरूको बुद्धि प्रयोग हुँदैन। उनीहरूले कामलाई सहज बनाउने त परै जाओस्, सहजै हुने काम पनि ढिलाइ गरिदिएर देशको समय र पैसा बर्बाद गरिरहेका छन्।
डोजले छान्ने कर्मचारीमध्येबाट एक प्रतिशत कर्मचारी मस्क र रामास्वामी स्वयंले विश्लेषण गर्ने बताइएको छ। यसको अर्थ– ती कर्मचारीको काम न अन्य सरकारी कर्मचारीको जस्तो ग्ल्यामरयुक्त हुनेछ न त काम गर्नै सजिलो हुनेछ। रामास्वामीले एकपटक सरकारी कर्मचारीहरूले तिनले पाउने रकमको तुलनामा निकै कम काम गर्ने गरेको र उनीहरूले छान्ने कर्मचारीहरूले भने पैसाभन्दा कामको ‘मूल्य’ देखाउने बताएका थिए।
मस्क आफैं पनि सरकारी कर्मचारीजस्तो दिनमा आठ घन्टा काम गर्ने कर्मचारीहरूलाई तीव्र घृणा गर्छन्। उनले ट्वीटर किन्नेबित्तिकै आठघन्टे कर्मचारीहरूलाई ठूलो मात्रामा कटौती गरेका थिए। उनले त्यतिबेला आफ्ना ट्वीटरका कर्मचारीलाई इमेल पठाउँदै भनेका थिए, ‘या त तिमीले लामो समय काम गर्नुपर्छ र उच्च परिणाम देखाउनु पर्छ या त जागिर छाड्नुपर्छ।’
उनको यो इमेलपछि धमाधम कर्मचारीले जागिर छाडेका थिए। त्यसयता कम्पनीले ठूलो आर्थिक क्षति बेहोरेको भए पनि पछिल्लो समय ‘एक्स’ मा ठूला कम्पनीहरूले विज्ञापन दिन थालेपछि नाफामा जान थालेको छ। कतिपय एप्पल, नाइक, माइक्रोसफ्टलगायतका ठूला कम्पनीले एक्सले देशमा घृणा फैलाउन भूमिका खेलेको भन्दै विज्ञापन दिन बन्द गरेका थिए। जब ट्रम्प निर्वाचित भए र मस्क प्रभावशाली व्यक्तिका रूपमा उदाउन थाले, ती कम्पनीले आफ्ना विज्ञापनहरू एक्समा दिन बाटो खोज्न थालेका छन्। पहिले उनीहरूले गरेका निर्णयहरू गलत नभए पनि सरकारी आँखी हुनबाट जोगिने बाटो तिनले खोजिरहेका छन्।
ट्रम्पलाई जिताउन दुई सय मिलियन डलरभन्दा बढी खर्च गरेका मस्कको यो नयाँ फन्डाले ‘एक्स’ लाई अनौठो तरिकाले फाइदा हुन थालेको छ। डोजकै लागि पनि सुझाव दिन र त्यहाँ कर्मचारीका लागि छनोटमा पर्नका लागि एक्समा आठदेखि १६ डलर मासिक रूपमा तिरेको व्यक्ति हुनुपर्ने नियमले पैसाप्रति मस्कको मोह कति छ भन्ने पनि देखाएको छ।
प्रकाशित: ५ मंसिर २०८१ ०८:१८ बुधबार