६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अरब मरुभूमिमा पहिलोपल्ट हिमपात

इतिहासमै पहिलो पटक साउदी अरेबियामा भारी वर्षा र हिमपात भएको छ। साउदी अरेबियाको अल–जाफ मरुभूमिमा पहिलोपटक हिमपात भएको हो। त्यहाँ भएको यो अनौठो मौसमी घटनाले सबैलाई आश्चर्यचकित पारेको छ।  

हिमपातपछि अल–जाफ मरुभूमि चिसो भूमिमा परिणत भएको त्यहाँका समाचारमाध्यमले जनाएका छन्। गत सातादेखि नै साउदी अरेबियाले असामान्य मौसमको सामना गरिरहेको थियो। अघिल्लो बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्‍याएको थियो। त्यस दिन साउदी अरेबियाको उत्तरी सीमालगायत रियाद र मक्का क्षेत्रमा पनि वर्षा भएको थियो। 

ताबुक र अल बाह क्षेत्र पनि मौसममा आएको परिवर्तनका कारण प्रभावित भएका छन्। संयुक्त अरब इमिरेट्समा रहेको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसिएम) का अनुसार अरब सागरदेखि ओमानसम्म फैलिएको न्यूनचापीय प्रणालीका कारण असामान्य रूपमा हिमपात भएको हो। यो मौसमी चक्रले सामान्यतया सुख्खा रहने त्यस क्षेत्रमा आद्र्रताले भरिएको हावा ल्याएको थियो र त्यही कारणले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) मा मेघगर्जन, हिमपात, असिना र वर्षा भइरहेको बताइएको छ।  

अरब राष्ट्रमा हिमपात र चिसो मौसम दुर्लभ मानिन्छ र यसका लागि जलवायु परिवर्तन कारक रहेको हुन सक्ने मानिएको छ। जलवायु परिवर्तनका कारण विषम मौसमी घटना बढेका छन्। यसै वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियाद र दुबईमा पनि भारी वर्षा भएको थियो।  (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित: २१ कार्तिक २०८१ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App