२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फोटोफोबियाले मुद्दा जितायो

यस्तो पनि

फोटोफोबिया भएकी बेलायती एक महिलाले सडकमा राखिएको चर्को उज्यालोबाट दिक्क लागेपछि स्थानीय काउन्सिलमा गुनासो गरेकी थिइन्। ७० वर्षीया सासा रोडीले केही वर्षअघि आँखाको शल्यक्रिया गराएकी थिइन्। त्यसपछि उनलाई रात्रिकालीन सडक बत्तीले निकै अप्ठेरो पार्न थाल्यो। त्यसपछि बर्नेट बोरो काउन्सिललाई उनले अनुरोध गरी सडकबत्तीलाई सामान्य बनाउन आग्रह गरिन्। आफ्ना कुरा ध्यान नदिएको भन्दै सासाले ५० हजार पाउन्ड खर्च गरेर स्थानीय अदालतमा मुद्दा हालिन्।

त्यसपछि औपचारिक रूपमै कानुनी लडाइँ सुरु भयो। मुद्दा सुरु भएपछि भने उनीजस्तै समस्या भएका थप मानिसहरू पनि सम्पर्कमा आउन थाले। कुल तीन सयभन्दा बढी गुनासा आएपछि सो समस्या समाधान गर्न अदालतले आदेश दियो।

पछिल्लो एलइडी विधिको बत्ती पहिलेको जस्तो चर्को उज्यालो छैन। ठिक्कको उज्यालो भएकाले सर्वसाधारणको आँखा पनि दुख्दैन। पहिले चार हजार वाटका बल्बहरू त्यहाँ बल्थे। अचेल २२ सय वाटबाटै काम चल्न थालेको छ। यो मुद्दा सासाले जितेपछि स्थानीय काउन्सिलले यसबारे सार्वजनिक रूपमा छलफल नगर्न सम्झौताको प्रयास गरेको थियो तर उनले मानिनन्। उनी भन्छिन्, ‘यस्ता विषयमा सर्वसाधारणले थाहा पाउनुपर्छ। गुपचुप राखेर जनताका समस्या समाधान हुँदैनन्।’ यस्ता समस्या भएका देशभरि पक्कै पनि निकै हुुनुपर्छ भन्ने सासाको विश्वास छ। आफ्नो अभियान देशभरि पुर्‍याउन सके गज्जब हुन्थ्यो भन्ने उनी सोच्छिन्।

उनको जस्तो समस्या वास्तवमा दुर्लभ समस्या हो। फोटोफोबिया वास्तवमा उज्यालोको संवेदनशीलता हो। चर्को प्रकाशका कारण मनमा डर उब्जने त होइन तर मानिसलाई सधैँ अप्ठेरोमा भने पारिरहेकै हुन्छ। कतिपयलाई भने आँखा दुख्छ। कतिपयलाई बेस्कन टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन्छ। ८० प्रतिशत माइग्रेन भएकाहरूलाई फोटोफोबिया हुनसक्ने अध्ययनले देखाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App