१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनद्वारा ‘पोलर सिल्क रोड’ परियोजना घोषणा, रुसको साथ

बेइजिङ – चीन सरकारले आफ्नो आगामी परियोजना ‘पोलर सिल्क रोड’को घोषणा गरेको छ। व्यापार विस्तारको उद्देश्यसहित आएको यो महत्वाकांक्षी योजनाले समुद्री मार्गमार्फत उत्तरी धुव्रलाई जोड्नेछ।

यो योजनाको रुसले समर्थन गरेको र निर्माणमा साझेदारी गर्ने प्रतिबद्धता जनाएको चिनियाँ सञ्चारमाध्यमले बताएका छन्। गत वर्षको मे महिना चिनियाँ विदेशमन्त्रीको रुस भ्रमणका क्रममा यसबारे दुई देशबीच समझदारी भएको थियो।

यो परियोजना चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१३ मा घोषणा गरेको ‘सिल्क रोड र वन बेल्ट वन रोड’को हिस्सा हो। ‘पोलर सिल्क रोड’ले उत्तरी अमेरिका, पूर्वी एसिया, र पश्चिमी युरोपका तीन ठूला आर्थिक धुव्रलाई चीनसँग जोड्ने छ। यो मार्गमार्फत समुद्री व्यापार उत्तरी धुव्रसम्म पुग्नेछ।

सबै देशले निर्वाध रुपमा प्रयोग गर्न पाउने यो मार्गको निर्माणले पर्यावरण रक्षाका लागि रणनीतिक सहयोगी हुने चीनको विश्वास छ। यो योजनाले पनामा रुटमा चीनको निर्भरतालाई कम गर्ने र उत्तरी धुव्रको यात्रा २० देखि ४८ दिनसम्म छोटो पर्ने चीनको सूचना परिषदले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीन पछिल्ला वर्षमा नयाँ अन्तर्राष्ट्रिय समुद्री मार्गहरु र बन्दरगाह निर्माणमा सक्रिय देखिएको छ। आर्थिक महाशक्तिको दौडमा रहेको चीन व्यापारका लागि कम समय र कम दुरी भएका नयाँ मार्गको खोजी गरिरहेको छ। समय र लागतको बचतमा चीनको ध्यान केन्द्रीत छ।

प्रकाशित: १५ माघ २०७४ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App