१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केजरीवाललाई झड्का, २० सांसद अयोग्य घोषित

नयाँ दिल्ली – भारत दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आद्मी पार्टी (आप) का २० विधायक अयोग्य ठहर भएका छन् ।

भारतको निर्वाचन आयोगले दिल्ली विधानसभामा आम आद्मी पार्टीबाट प्रतिनिधित्व गर्ने २० विधायकलाई अयोग्य ठहर गर्न गरेको सिफारिसलाई राष्ट्रपति रामनाथ कोविन्दले स्वीकृत गरेसँगै उनीहरु अयोग्य ठहर भएका हुन् ।लाभको पदमा बहाल रहँदा चुनाव लडेको भन्दै भारतीय निर्वाचन आयोगले ती विधायकहरुलाई अयोग्य ठहर गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

‘निर्वाचन आयोगले व्यक्त गरेको धारणामा म, रामनाथ कोविन्द, भारतीय राष्ट्रपति, अधिकारको प्रयोग गर्दै, दिल्लीको विधानसभाका २० विधायकलाई अयोग्य भएको घोषणा गर्दछु’ भारतको न्याय मन्त्रालयले जारी गरेको भारतीय राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ ।आइतबार बिहान दिल्ली सरकारका उपमुख्य मन्त्री मनिस सिसोडियाले निर्वाचन आयोगले आम आद्मी पार्टीलाई आफ्नो विचार राख्ने मौका नदिएको आरोप लगाएका थिए ।

आम आद्मी पार्टीका अध्यक्ष एवं दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले भने आफ्ना विधायक अयोग्य घोषणा हुनुमा केन्द्र सरकारको षड्यन्त्र रहेको आरोप लगाएका छन् ।‘सुरुमा उनीहरुले हाम्रा २० जना विधायकमाथि झुटो मुद्दा दायर गरे र केन्द्रीय अनुसन्धान ब्युरो लगाएर म माथि छापा मारे । यति गदौ पनि उनीहरुले केही नपाएपछि उनीहरुले हाम्रा २० विधायकलाई अयोग्य घोषणा गरे,’ मुख्यमन्त्री केजरीवालले बताए ।

भारतीय निर्वाचन आयोगले शुक्रबार आम आद्मी पार्टीका २० विधायकलाई पदबाट अयोग्य घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । सुरुमा निर्वाचन आयोगले २१ विधायकविरुद्ध राष्ट्रपतिसमक्ष निवेदन दिएको थियो तर जार्नेल सिंह नामक एक विधायकले पञ्जाब निर्वाचनमा प्रतिस्पर्धा गर्न पदबाट राजीनामा दिएका थिए ।

दिल्ली विधानसभाको ७० मध्ये ६६ सिट आम आद्मी पार्टीले जितेको थियो । राष्ट्रपतिको घोषणाबाट २० विधायक अयोग्य ठहर भएपछि अब आपको सिट संख्या ४६ मा सिमित भएको छ । २० सदस्य घट्दा पनि वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारसँग आवश्यक बहुमत भने यथावत नै रहेको छ । खाली हुन आउने सिटमा पुनः निर्वाचन हुने भएपनि आपका नेताहरुले चुनावमा जानु अघि अदालतमा जाने बताएका छन् ।

 

 

प्रकाशित: ८ माघ २०७४ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App