५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सका राष्ट्रपति चीनमा, ‘वन वेल्ट, वन रोड’ परियोजनाको समर्थन

बेइजिङ – फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा छ। उनले सिल्क रोड, जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ, यसबाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।

म्याक्रोँले चीनको राजकीय भ्रमणको पहिलो दिन अमेरिकाले जलवायुबारे पेरिस सम्झौताबाट पछिहट्ने निर्णयसँगै ओझेलमा परेको जलवायु प्रदुषणको प्रभावको न्युनिकरण मुद्दालाई यूरोप र चीनले मिलेर अघि बढाउनुपर्ने बताएका छन्।

‘हामीहरूका भाग्य जोडिएका छन्,’ म्याक्रोँले चीन–फ्रान्ससम्बन्ध विकासका लागि दिएको महत्वपूर्ण भाषणमा भने। प्राचीन सिल्करोडको प्रारम्भिक विन्दु उत्तरी शहर सिआनबाट भ्रमण गरेका फ्रान्सका राष्ट्रपतिले भने, ‘भविष्यमा फ्रान्स, यूरोप र चीनको सहकार्य आवश्यक छ।’

तीन दिने चीन भ्रमणमा चीनमा सोमबार मात्र आइपुगेका म्याक्राँेले चीनसँगको सम्बन्ध विस्तारमा जोड दिँदै सहकार्यका लागि कम्तीमा बर्षको एक पटक चीनको भ्रमण गर्ने बताए। सडक, रेल तथा समूद्रको सञ्जालमार्फत् यूरोप र एसियालाई जोड्न सिल्क रोडको योजना अघि सारेका चिनियाँ राष्ट्रपति सी चिन फिङको भावनाप्रति साङ्केतिक समर्थन जनाउँदै म्याक्रोँ सिआनबाट भ्रमण गरेका छन्।

सय अर्ब अमेरिकी डलर बराबरको योजना अघि सार्दै आधुनिक सिल्क रोड, जुन बाटो प्राचिन समयमा पनि कपडा, मसला र अन्य सरसामान ओसार पसार गर्न प्रयोग हुन्थ्यो, लाई पुनर्जीवन दिन चिनियाँ राष्ट्रपतिले पहल शुरु गरेका हुन्।

चीनसँग रहँदै आएको करिब ३६ अर्ब अमेरिकी डलर बराबरको व्यापार घाटालाई सन्तुलन ल्याउनलाई दुई देशबीच छलफल हुने बताइएको छ।

म्याक्रोँले वन वेल्ट, वन रोड’ले बहुपक्षीय अर्थात् सन्तुलित सहकार्यलाई जोड दिनुपर्ने बताउँदै सडकलाई सबैको हिस्सा बनाइनुपर्ने बताए।

म्याक्रोँले अहिलेसम्म यूरोप र अफ्रिकातर्फ केन्द्रित रहँदै आएको कूटनीतिक सम्बन्धलाई एसियातर्फ जोड्ने प्रयास चीनको भ्रमणबाट थालेका छन्। उनले चीनसँग ‘रणनीतिक साझेदारी’ तथा आतङ्कवाद विरुद्धका बिषयलाई भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग छलफल गर्ने बताइएको छ।

म्याक्रोँ तथा फ्रान्सकी प्रथम महिला ब्रिगेटीले सोमबार नै राष्ट्रपति सी तथा उहाँकी धर्मपत्नि पेङ लियुआनसँग दियायुटाई स्टेट गेष्ट हाउसमा भेट गरेका छन्। भेटमा चिनियाँ नेता सीले फ्रान्सले पश्चिमी मुलुकबाट सर्वप्रथम चीनसँग कुटनीतिक सम्बन्ध राख्ने दूरदर्शीता देखाएको भनी प्रशंसा गरे।

राष्ट्रपति म्याक्रोँले चीनको फरबिडन सिटीको मङ्गलबार भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २४ पुस २०७४ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App