५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुम्बई हमलाका योजनाकारसँग राजदूत भेटिएपछि...

नयाँदिल्ली – मुम्बई हमलाका प्रमुख योजनाकार एवं पाकिस्तानी आतंकवादी हाफिज सईदको र्‍यालीमा प्यालेस्टाइनका राजदूत देखिएपछि भारतले कडा आपत्ति जनाएको छ। भारतको आपत्तिपछि प्यालेस्टाइनले यो घटनाप्रति खेद व्यक्त गर्दै पाकिस्तानमा रहेका आफ्ना राजदूत वालिद अबु अलीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

पाकिस्तानी अतिवादी एवं कट्टरपन्थी संगठन ‘लश्कर ए तैबा’का संस्थापक प्रमुख हाफिज सईदलाई भारतले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको छ। सईदलाई राष्ट्रसंघबाटै प्रतिबन्ध लगाउने लबिङमा भारत रहेको छ।

यस्तो बेला मित्र राष्ट्र प्यालेस्टाइनका राजदूत आफ्नो दुश्मनसँग देखिएपछि भारत चिन्तित बनेको हो। भारतको चिन्तालाई सम्बोधन गर्दै प्यालेस्टाइनले पाकिस्तानमा रहेका राजदूत अलीलाई फिर्ता बोलाउँदै आतंकवादविरुद्धको लडाईंमा भारतसँगै रहेको विश्वास दिलाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा रहेका भारतका लागि प्यालेस्टानी राजदूत अदनान अबु अल हजाले यो खबरको पुष्टि गरेका छन्।

पाकिस्तानको राहुलपिण्डीमा दिफाह–ए–पाकिस्तान काउन्सिलले आयोजना गरेको र्‍यालीमा प्यालेस्टाइनी राजदूत सहभागी भएका थिए । साथै, कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए।

लगत्तै भारतीय विदेश मन्त्रालयले कडा आपत्ति जनाउँदै यो कदमलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएको थियो।

 

प्रकाशित: १५ पुस २०७४ १४:२१ शनिबार

मुम्बई हमलाका योजनाकारसँग राजदूत भेटिएपछि...