१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

५० वर्षे एटिएम मेसिन

५० वर्षअघि नोट गन्ने मेसिन बनाएका स्कटल्यान्डका जोन सिटफर्ड ब्यारनको उति चर्चा भएन। होस् पनि कसरी? पैसावालको सुविधाका लागि बनाइएको सामग्रीको चर्चा सर्वसाधारणले गरुन् पनि किन? तर त्यही नोट गन्ने मेसिनकै आधारमा बनाइएको पहिलो मेसिन सन् १९६८ मा बजारमा ल्याइँदा भने धेरैले ठूलो चर्चा गरे। क्यापिटल नेसनल बैंक अफ मियामीका निर्देशकले यस पहिलो एटिएम मेसिनलाई बैंककै एउटा लबीमा लगाउँदा ठूलो आकर्षणको विषय बन्न पुगेको थियो।

यसैको देखादेखीमा सन् १९७० को दशकमा युरोपमा पनि पैसा निकाल्ने मेसिन जारी गरिँदा लोकप्रिय भयो। एटिएम मेसिनले सफ्टवेयरमार्फत् जानकारी लिने र सोहीअनुसार काम गर्ने गर्छ। मेसिनभित्रको साँचोमा नोट भरिन्छ। सफ्टवेयरले मेसिनलाई नोट निकाल्ने निर्देशन दिन्छ। मेसिनसँग जोडिएको ‘इन्ट्रानेट कनेक्सन’का कारण पैसा निस्कनेबित्तिकै तपाईंको खाता मात्र अपडेट हुँदैन, उत्तिखेरै तपाईंको मोबाइलमा पनि यसले कति पैसा निकालियो भनी सन्देश दिन्छ।

एटिएमका कारण आम मानिसले ठूलो राहत पाएका छन्। यस मेसिनका कारण बैंकिङ कागजको प्रयोग ५० प्रतिशतले कमी भएको एउटा अध्ययनले देखाएको छ।

संसारको जुनसुकै कुनामा जानुस्, एटिएमको बटम एकै किसिमको हुन्छ। काम अघि बढाउन हरियो रङको बटम, रद्द गराउन रातो। यस एक रुपताका कारण भाषा नबुझे पनि एटिएम प्रयोग गर्न सकिन्छ।

एटिएम मेसिनको लोकप्रियता कति छ भने सुरुमा मुस्लिम धर्मावलम्बी मुलुकहरूले यसलाई ईश्वरको इच्छाविरुद्धको कार्य भनी रोक लगाएका थिए तर बढ्दो लोकप्रियताका कारण बिस्तारै रोक खुकुलियो।

समयसँगै एटिएम मेसिन पनि बुद्धिमान हुँदै जान थालेका छन्। हिजोआज त यसबाट पैसा निकाल्ने मात्र होइन, एउटा खाताबाट अर्को खातामा रकम स्थानान्तर पनि गर्न सकिन्छ। तर समयसँगै एटिएम मेसिनमार्फत् चोरी गर्नेहरूको संख्या पनि बढ्न थालेको छ। नेपालमै पनि एटिएममार्फत् चोरी गर्नेको गिरोह नै पक्राउ परेका थिए। त्यस्तै एटिएमको पैसा चोर्न बुल्डोजर नै प्रयोग गरी एटिएम बुथ नै उखेलिएको थियो। त्यस्तै जर्मनीमा सानोतिनो बम पड्काएर मेसिन भाँची चोरी गरिएको पाइएको थियो। जर्मनीमा त हरेक महिना एटिएमलाई निसाना बनाउने गरिएको हालैको एउटा रिपोर्टले देखाएको थियो।

पछिल्लो समय एटिएम मेसिनको लोकप्रियता पनि घट्ने सम्भावना बढेर गएको छ। आउँदो पाँचदेखि दस वर्षभित्र परम्परागत एटिएम मेसिन बन्द हुने विशेषज्ञहरुको दाबी छ। यसको मूल कारण चाहिँ इन्टरनेटमार्फत् हुने कारोबार, लेनदेन र दैनिकी रहने विशेषज्ञ बताउँछन्।

प्रकाशित: १३ माघ २०७३ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App