११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वार्ता असफल भए लडाइँ

काजकिस्तान–सिरियाको विषयमा आस्तानामा हुने शान्ति वार्ता असफल भएमा सरकारसँग हाल भइरहेको लडाइँ जारी रहने सिरियाली विद्रोहीले जनाएका छन् ।विद्रोहीका प्रवक्ताले सोमबार यस्तो जानकारी दिएका हुन् । ‘यदि सरकार र विद्रोहीबीच हुन लागेको शान्ति वार्ता  सम्झौता सफल भएमा हामी सम्झौतामा जाने छौँ । दुभाग्र्यबस यो असफल भएमा लडाई जारी राख्नु बाहेक अरू विकल्प हामीसँग रहनेछैन्’ प्रवक्ताले बताएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । सो जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्यो । सन् २०११ देखि हालसम्म त्यहाँ जारी उक्त युद्धमा तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले हालै जारी एक प्रतिवेदनमा जनाएको थियो ।     यस आन्दोलनमा परी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँले आफ्नो देश छोडी छिमेकी देशमा शरण लिन बाध्य भएका छन् ।

त्रिदेशीय संयन्त्र बनाइने

द्वन्द्वग्रस्त सिरियामा शान्ति स्थापनार्थ रसिया, टर्कीको पहलमा गरिएको युद्धबिराम सम्झौतापछिको वार्ता प्रक्रियालाई अगाडि बढाउन त्रिदेशीय संयन्त्र गठन गरी शान्ति वार्ताको अनुगमन गर्ने सहमति भएको छ ।

सिरिया द्वन्द्व अन्त्यका लागि मंगलबार भएको संयन्त्र गठन गर्ने सहमति भएको र रसिया, टर्की र इरानी प्रतिनिधि सम्मिलित संयन्त्रले सिरियाली राष्ट्रपति बसर अल असद प्रशासन र विद्रोहीबीच हुने वार्तालाई सम्झौताअनुरुप अगाडि बढ्न अभिपे्ररित गर्ने सहमति भएको काजकिस्तानका विदेशमन्त्री कैराट अब्द्राखमानोभले एक विज्ञप्ति जारी गरी बताएका छन् ।

विदेशमन्त्री अब्द्राखमानोभका अनुसार वार्तालाई संयन्त्रले अनुगमन गर्ने र सकेसम्म छिटो टुङ्ग्याउन सरकार तथा विद्रोही पक्षलाई अभिप्रेरित गर्नेछ ।  सिरियाली सरकार र विद्रोहीवीच भएको युद्धविराम सम्झौता अनुरुप अस्तानास्थित एक होटलमा सोमबारदेखि वार्ता शुरु भएको हो ।

प्रकाशित: १२ माघ २०७३ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App