१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिरामी पर्न लागेको आवाजले बताउँछ

हिजोआज आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले विभिन्न रोगको परीक्षण गर्न सहज हुन थालेको छ। कतिपय अवस्थामा हामी बिरामी परे/नपरेको हामीलाई नै थाहा हुँदैन तर समयअघि नै मेसिनले भने यस्ता कुरा पत्ता लगाउन सक्ने अवस्था सिर्जना हुन थालेको छ। रोग पत्ता लगाउने विषयमा तपाईं बिरामी पर्न लाग्नु भएको छ कि छैन भन्ने अब आवाजले समेत पत्ता लाग्ने भएको छ। तपाईंको आवाजको मिहिन अध्ययन गर्दा कुन रोग लाग्न लागेको हो भन्नेसमेत थाहा हुने शोधकर्ताहरुको भनाइ छ।

अमेरिकाको एउटा स्टार्टअप कम्पनी ‘क्यानरी स्पिच’ले आवाजको विश्लेषण गरी न्युरोलजिकली र अन्य किसिमका रोगका बारेमा पत्ता लगाउने प्रविधिको विकास गरिरहेको छ। यस प्रविधिबाट पार्किन्सन्स डिजिजदेखि लिएर तनावजस्ता कैयौँ रोगलाई समयभन्दा अघि नै पत्ता लगाउन सकिने बताइएको छ। यसको सुरुवात कम्पनीका संस्थापक हेनरी ओ’कोनलको निजी अनुभवबाट भएको थियो। कोनलका एक जना पुराना साथीलाई छ वर्षयता पार्किन्सन्सको उपचार गरिँदैआएको थियो। १० वर्षअघिदेखि नै उनलाई सायद रोगले च्याप्न थालेको थियो।

कोनल भन्छन्, ‘मेरा साथीको रोगबारे ठ्याक्कै पत्ता लाग्यो। यसअघि नै उनको मांशपेसी र नशामा पीडा हुने गर्थ्यो। उनले कैयौँ पटक उपचार पनि गरे।’ मांसपेसी र नसाको पीडा बिस्तारै बढ्नु पार्किन्सन्ससँग जोडिएको हुन्छ। यो रोगबारे समयमै पत्ता लगाउन सकिएन। उपचार पनि उनको राम्रो हुन सकेन र झन् तीव्र गतिमा बढ्न थाल्यो।

क्यानरी स्पिचले अल्जाइमर्स, पार्किन्सन्स र उन्मादजस्ता रोगबाट पीडित मानिसहरुको आवाजहरु अध्ययन गरी एउटा अल्गोदिम बनाएको छ। रोग लाग्नुअघि र रोगले च्यापेपछि देखिने विविध लक्षणहरूबारे अब पत्ता लगाउन सहज भएको छ। यसमा प्रयुक्त हुने शब्द, शब्दसमूह र बोलीचालीको गुणवत्ता आदि पनि अध्ययन गर्न सकिने भएको छ।

यस अध्ययनका आधारमा कैयौँ किसिमका रोगका लक्षणहरु पहिले नै पत्ता लगाउन सकिने भएको छ।

उदाहरणका लागि, रोगीको एउटा लक्षण के हो भने उसको आवाज सुस्त हुन थाल्छ। रोग लाग्ने मानिसको यस परिवर्तनबारे ठ्याक्कै कसैले पनि पत्ता लगाउन सक्दैन। तर क्यानरी स्पिचको सफ्टवेयरले उसको आवाजमा देखिने सामान्यभन्दा सामान्य परिवर्तन र अन्तर पनि पक्डन्छ। समग्रमा यस सफ्टवेयरको उद्देश्य भन्नु नै रोग लाग्नुअघि नै र लक्षण देखिनुभन्दा पहिले नै यसबारे सर्वसाधारण जानकार होऊन्।

सुरुवाती परीक्षणका बेला रोगी र जाँच गर्नेहरूबीचको वास्तविक कुराकानी विश्लेषण गरियो। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका जाँच प्रमुख टोनी यङ भन्छन्, ‘स्वास्थ्य सेवामा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिनको भूमिका बढेर गएको छ। र, यसले सर्वसाधारणलाई गज्जबको सुविधा दिने अवस्था आउन थालेको छ।’

प्रकाशित: ७ माघ २०७३ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App