२ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेजिङ र सांघाईमा विरोध प्रदर्शन, दर्जनाैं गिरफ्तार

एक महिनाअघि मात्र आफ्नो शक्तिलाई मजबुत पारेका चिनिया राष्ट्रपति सि जिनपिङविरुद्ध शून्य कोभिड नीतिविरुद्ध पहिलो व्यापक जनआक्रोश देखिएको छ। चीनका सांघाई तथा सांघाईमा प्रदर्शनकारीको प्रहरीसँग झडप भएको छ। उनीहरूले राष्ट्रपतिको राजीनामा समेत माग गरेका छन्। विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले पनि विरोध प्रदर्शन गरेका छन्।  

सन् १९८९ मा तियानमेन स्वायरमा भएको आन्दोलनयता भएको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। कोभिड नियन्त्रणको नामका महिनौसम्म अकारण लकडाउनमा बस्नुपरेकोमा प्रदर्शनकारी आक्रोशित बनेका हुन्। विगत ७३ बर्षदेखि लगातार सत्तामा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका विरोध र राष्ट्रपतिको राजीनामा माग गर्नुलाई देशद्रोहको आरोप लाग्न सक्ने र प्रदर्शनकारीलाई जेल सजायसमेत हुन सक्ने मानिएको छ। प्रदर्शननकारीलाई तितरवितर गर्न सांघाईमा प्रहरीले खुर्सानीको धुलो प्रयोग गरेको थियो। दर्जनाैं प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ। चीनको सुदृढ सुरक्षा संयन्त्रले आफ्ना विरोधीहरूलाई योजनाबद्ध रूपमा गिरफ्तार गर्न सक्ने देखिएको छ।  

आगामी दिनमा पनि प्रदर्शन हुने अथवा नहुने भन्नेमा प्रष्ट भइसकेको छैन तर प्रदर्शनका समर्थनमा इन्टरनेटमा रहेका भिडियो तथा सन्देशलाई चिनियाँ सरकारले रोक लगाइसकेको छ। आपसी मतभेद नभएको खण्डमा चिनियाँ कम्युनिस्ट पार्टीले यो असन्तोषलाई तत्काल नियन्त्रण गर्ने देखिएको छ। कोभिड महामारी नियन्त्रणको नाममा चीनले अख्तियार गरेको सख्त नीतिले मृत्यु कम भएकाका कारण सुरुमा जन समर्थन पाए पनि पछिल्ला सातामा यसप्रति व्यापक आक्रोश देखिएकोछ।  

व्यापक जनआक्रोशपश्चात चीनले भाइरस नियन्त्रणका नीतिलाई खुकुलो पार्ने निर्णय गरेको छ तर उसले शून्य कोभिड नीतिलाई जारी राख्ने बताएको छ। बेजिङ सहरको स्थानीय सरकारले संक्रमण भएका अपार्टमेन्ट तथा ब्लकमा आवागमनमा नियन्त्रण नगरिने घोषणा गरेको छ। गत साताअघि एक अपार्टमेन्टमा आगलागी हुँदासमेत सर्वसाधारणलाई बाहिर निस्कने नदिइएको भनेर सरकारी नीतिको व्यापक आलोचना भएको छ।। चीनको उरुम्की सहरमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्य भएको थियो। लकडाउनका कारण उक्त अपार्टमेन्टका सर्वसाधारण ४ महिनादेखि घरभित्रै बस्न बाध्य थिए। बाहिरबाट चुकुल लगाइका कारण आगलागीबाट बच्न चाहनेहरू समेत भाग्न नसकेको सामाजिक सञ्जालमा आरोप लगाइएको छ। क्वारेन्टिनमा रहेका सर्वसाधारणले खाद्यवस्तु र औषधिको अभाव रहेको बताउँदै आएका छन्। आपतकालीन औषधिको अभावमा दुई नाबालकको मृत्यु भएको भनेर अभिभावकले दिएको अभिव्यक्तिका कारण पनि सरकारविरुद्ध आक्रोश चुलिएको हो  

उता, सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले सकेसम्म सर्वसाधारणको जीवनमा कम असर पर्ने गरी कोरोना भाइरसविरुद्धको अभियान अगाडि बढाइने बताएको छ। तर यो नीतिका कारण सर्वसाधारणले भोग्न परेको कठिनाइप्रति सरकार कम चिन्तित रहेको आलोचकहरूले बताएका छन्। केही महिनाअघि सांघाईमा भएको लकडाउनका कारण खाद्यान्न, औषधि अभाव सिर्जना भएको थियो भने सर्वसाधारणले आर्थिक नोक्सानी बेहारेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीका कारण १० लाखभन्दा बढी तिब्बती तथा अल्पसख्यक मुस्लिमलाई गिरफ्तार गरेर क्याम्पमा राखिएको छ। आफ्नो धर्म र सस्कृतिलाई त्याग्ने सर्तमा कतिपयलाई रिहा गर्ने गरिएको छ।  

तर पछिल्लो प्रदर्शनमा यो समुदायबाहेकका हान समुदायका सहरी मध्यमवर्गको समेत सहभागिता रहेको छ। जिवनस्तर सुधार गर्ने अवसर दिने शर्तमा सरकारले यो समुदायसँग सम्झौता गरेको थियो। तर यो पुरानो सहमति तोडिएको देखिएको छ। सन् १९८९ कै स्तरमा विरोध प्रदर्शन जारी रहनका लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा समेत विभाजन देखिनुपर्ने जोन हपकिन्स विश्वविद्यालयका हङहो फुङ ठान्छन्। ‘पाटीको नेतृत्व तहमा विभाजन नआएसम्म यसप्रकारका प्रदर्शन लामो समयसम्म टिक्न सक्ने देखिन्न,’ उनी भन्छन्। राष्ट्रपतिले राजीनाम दिने सम्भावना नरहेको उनको ठम्याइ छ।

प्रकाशित: १३ मंसिर २०७९ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App