३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चिकित्सा शिक्षा आयोगको समस्या समाधान गर्न डा केसीको सात दिने अल्टिमेटम

फाइल तस्बिर

डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको समस्या समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्।  

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसँगको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका हुन्।

उनले वार्ताका क्रममा शिक्षामन्त्री तथा मुख्य सचिवले आयोगमा कर्मचारी खटाउने क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पनि गरेको तर दुवै जनाले उक्त प्रतिबद्धता पूरा नगरेको बताएका छन्।  

यदि सात दिनभित्र समस्या समाधान नभएमा सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने पनि उनले चेतावनी दिएका छन्।  

यस्तो छ प्रेस विज्ञप्ति:

प्रेस विज्ञप्ति

हाम्रो पछिल्लो सत्याग्रहका क्रममा चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्नुपर्ने एउटा प्रमुख माग रहेको थियो। वार्ताका क्रममा शिक्षामन्त्री तथा मुख्य सचिवले आयोगमा कर्मचारी खटाउने क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पनि गरेका थिए।

तर दुवै जनाले त्यो प्रतिबद्धता पूरा गरेका छैनन्। उल्टै आयोगको कार्य सम्पादन नै प्रभावित हुने गरी हस्तक्षेप चलिरहेको छ। आयोगको समन्वयविना त्यहाँ पठाएका भनिएका कर्मचारीले गुण्डागर्दी गरेर आयोगलाई अस्तव्यस्त बनाएका छन्। यसबाट आयोगलाई असफल बनाउन चाहने निहित स्वार्थ समुह र माफियाहरुको स्वार्थमा काम भएको देखिन्छ। साथै हामीसित भएको सम्झौता कार्यान्वयनका लागि शिक्षा मन्त्रीसित सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आएका छैनन्।

यस्तो अवस्था हामीलाई स्वीकार्य छैन। त्यसैले हाल आयोगमा चलिरहेको हस्तक्षेप रोक्न र त्यहाँ देखिएको कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसितको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिन चाहन्छौं। त्यसो नभएमा सत्याग्रहसहितको आन्दोलन शुरु गर्न बाध्य हुने जानकारी पनि गराउँछौं।

डा गोविन्द केसी

काठमाडौं

२०७९।६।३०

प्रकाशित: ३० आश्विन २०७९ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App