१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मेडिकल काउन्सिलको परीक्षामा ४२ प्रतिशत मात्र उत्तीर्ण

आमा बुवाले छोराछोरीलाई डाक्टरी पढाउन लाखौं खर्च गर्छन्। नेपालभित्रै कुरा गर्ने हो भने एमबिबिएस अध्ययनको लागि करिब ५० लाख बढी खर्च लाग्छ। तर पढाइ पुरा भएपछि मेडिकल शिक्षा हासिल गरेका विद्यार्थीहरु काम गर्न लाइसेन्स परीक्षा पास हुन सक्दैनन्। यसले मेडिकल शिक्षा तर्फ गुणस्तरको सवालमा प्रश्न उब्जाएको छ।  

काउन्सिलले चार/चार महिनामा संचालन गर्ने लाइसेन्स परीक्षामा ३०–४० प्रतिशतको हाराहारीमा मात्र पेसा गर्न डक्टरहरु योग्य हुने गरेको तथ्याँक सार्वजनिक गरेको छ। काउन्सिलले असोज ६, ७ र ८ गते संचालन गरेको ६४ औं चिकित्यसक दर्ता प्रमाणपत्र परीक्षामा ४२.३२ प्रतिशत परीक्षार्थी मात्र सफल भएका छन्। अर्थात सहभागिता जनाएकामध्ये ५७.६८ करिब ५८ प्रतिशत मेडिकल  शिक्षा पास भएकाहरु डाक्टरी पेसा गर्न अयोग्य रहे। यसले अभिभावकको लाखौं लगानी समेत खेर गएको छ।  

यस पटकको परीक्षामा  कुल दुई हजार ६० परीक्षार्थीहरु सहभागिता जनाएका थिए। यसमा स्वदेशी र विदेशी दुवै  विश्वविद्यालयबाट मेडिकल पढाई पुरा गरी इन्टरसिप  समेत गरेका डाक्टरहरु रहेका थिए। जसमध्ये मेडिकल तर्फ कूल एक हजार सात सय पााच र डेण्टल तर्फ तीन सय ५५ रहेका थिए। काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्ण अधिकारीका अनुसार कूल परीक्षार्थीमध्ये मेडिकल तर्फ ७ सय ४० ( ४३.८९ प्रतिशत) र डेण्टल तर्फ कुल सहभागिमध्ये १ सय २३ ( ३४.८४ प्रतिशत) उत्तीर्ण भई समग्रमा ४२.३२ प्रतिशत कुल पास भएका छन्। रजिष्ट्रार डा. अधिकारीले विगत ६० वर्षदेखि काउन्सिल मेडिकल शिक्षामा गुणस्तर नियन्त्रक गर्दै आएको जनाउँदै उनले अब नेपालका अस्पतालहरुमा योग्य र सक्षम डाक्टरहरुले मात्र सेवा उपलब्ध गराउने जनाए। यसले स्वास्थ्य सेवामा गुणस्तर कायम हुने र जनताले सही उपचार पाउने समेत काउन्सिलको दाबी छ।  

‘मेडिकल शिक्षा तर्फ लाखौं खर्चेर पढेर मात्र हुँदैन। डाक्टरहरुमा योग्य डाक्टर बन्ने व्यक्तिगत क्षमता हुनु अति आवश्यक हुन्छ,’ रजिष्ट्रार डा. अधिकारीले नागरिकसँग भने ‘यस अघि जेठ १२,१३ र १४ गते सम्पन्न भएको परीक्षामा कुल ३१.७९ प्रतिशत मात्र योग्यताको परीक्षा पास गर्न सफल भए।विसं २०२० सालमा स्वास्थ्य सेवा क्षेत्रमा योग्य र क्षमतावान् डाक्टरहरुको प्रवेश गराउने उदेश्यका साथ काउन्सिल स्थापना भएको हो। यो जनताको कार्यालय हो।’ उनले थपे ‘मेडिकलमा लामो समय र लाखौं लगानी खर्चेर अध्ययन सम्पन्न गरेपछि  सय प्रतिशत नै पास हुनुपर्ने हो।तर संसारभरि एउटै पढाइ नभएकोले धेरै डाक्टरहरु फेल भएका हुन्। ’ उनले काउन्सिल योग्य र क्षमतावान् डाक्टरको प्रवेश गराउने व्यक्तिगत क्षमता मापदण्ड गर्ने संयन्त्र भएकोले यसको परीक्षा पास हुनेले मात्र नेपालमा डाक्टरी पेसामा काम गर्न पाउने उनले जनाए। यसका साथै मेडिकल अध्ययन गराइने कलेजहरुको उचित रुपमा नियमन हुन नसक्नु,प्रवेश परीक्षा कमजोर हुनु, शिक्षकहरु पनि हेमलेट बोकी विभिन्न कलेजमा पढाउनु , विद्यार्थी प्रति शिक्षक जिम्मेवार नहुनु र विद्यार्थी पनि संवेदनशिल नभएकै कारण लाइसेन्स परीक्षामा धेरै विद्यार्थी फेल हुँदै आएका छन्। नियमन निकायहरु चिकित्यसा शिक्षा आयोग, विश्वविद्यालय र स्वयं कलेजहरुबीच पनि समन्वयको खाँचो भएकोले नियमनमा कमजोरी देखिएको विज्ञहरुले औंल्याएका छन्।  

काउन्सिलका अनुसार हालसम्म काउन्सिलमा दर्ता भएका कूल ३० हजार एक सय ३३ डाक्टरहरु रहेका छन्। जसमध्ये पुरुष डाक्टरहरु १८ हजार ९ सय २७ र महिला डाक्टर ११ हजार २ सय ६ मात्र दर्ता भएका छन्।  

यसमध्ये पनि मेडिकल तर्फ कुल २६ हजार ५२ दर्तामा छन्। जसमध्ये पुरुष १७ हजार ३ सय ८१ र महिला ८ हजार ६ सय ७१ दर्ता छन्।  

यसैगरी डेण्टल तर्फ कुल हालसम्म चार हजार ८१ डाक्टरहरु काउन्सिलमा दर्ता छन्। जसमध्ये पुरुष एक हजार ५ सय ४६ र महिला २ हजार ५ सय २५ छन्। डेण्टल तर्फ महिलाको रुचि बढी देखिन्छ।  

‘कउन्सिल स्थापना भएको ६ दशकभित्र हालसम्म ३० हजार एक सय ३३ डाक्टरहरु दर्ता छन्। यो तथ्याँक ३१ डिसेम्बर २०२१ सम्मको हो,’ उनले भने ‘यसमध्ये पनि धेरै विदेशमा छन् भने कतिपयको निधन पनि भइसकेको छ। काउन्सिलको काम गुणस्तर नियन्त्रण गर्ने हो।  यो काम निरन्तर हुन्छ।’ यसैगरी काउन्सिलले उपलब्ध गराएको तथ्याँक अनुसार विशेषज्ञ डाक्टर कूल ८ हजार ८ सय ६२ दर्ता छन्। जसमध्ये महिला २ हजार ५ सय ४७ छन् भने पुरुष ६ हजार ३सय १५ दर्तामा छन्। जसमध्ये एमडि÷एमएस तर्फ ८ हजार २ सय ३ र एमडिएस तर्फ ६ सय ५९ दर्तामा छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App