शान्तुन शर्मा १८ वर्ष पहिला काठमाडौंको नयाँ बानेश्वरमा बस्थे। उनका पिताको इन्जिनियरिङमा पिएचडी गर्न अमेरिकामा जाने निधो भयो। उनी परिवारमा एक्ला सन्तान थिए। पितासँगै आमा र शान्तुन पनि अमेरिका जाने भए। त्यतिबेला शान्तुन ९ वर्षका मात्र थिए। पितासँगै अमेरिका छिरेपछि त्यहींको स्कुल पढे। स्कुलदेखि नै उनको फुटबलमा रुचि बढ्यो। स्कुलपछि कलेजमा टिमसँग मिलेर फुटबल खेल्न थाले। उनलाई फुटबलमा धेरै क्षमता प्रदर्शन गर्ने रुचि थियो। फुटबल खेल्ने क्रममा उनका खुट्टामा चोट लाग्यो। त्यही चोटका कारण उनी पहिलाजस्तो खेल्न सक्ने स्थितिमा थिएनन्।
एक दिन कलेजले फुटबल टिममा सहभागीहरूको शारीरिक तन्दुरुस्ती परीक्षण गर्यो। यसमा उनी फिट भएनन्। फुटबल टिममा पनि समावेश हुन पाएनन्। यो कुराले उनको मनमा धेरै पीडा उत्पन्न भयो। त्यतिबेला शान्तुन २० वर्ष भइसकेका थिए। कलेजमा साइकोलोजीमा अध्ययनरत थिए। फुटबल टिममा सहभागी हुन नसकेको पीडाले उनी भित्रभित्रै उदास बन्दै गए। पढाइमा पनि एकाग्र हुन सकेनन्। यही क्रममा सन् २०१५ मा नेपाल फर्के। विभिन्न मनोचिकित्सककहाँ पुगे; उपचार गराए तर मनोरोगबाट उनी मुक्ति हुन सकेनन्। त्यसपछि पढाइ पूरा गर्न अमेरिका गए। त्यहाँ पनि उनलाई मनोरोगले छाडेन। धेरै कठिन भएपछि दुई साता अस्पतालमा भर्ना भए। पढाइ पूरा गर्न नसकेपछि कलेजले आराम गर्न भन्दै नेपाल जान सुझायो।
उनी सन् २०१६ अगस्तमा पुनः नेपाल फर्किए। नेपाल आएको भोलिपल्ट आफ्नै घरको चार तलाबाट उनी हामफाले। तल खस्दा बम विस्फोट भएजस्तो आवाज उनको कानमा पर्यो। त्यसपछि बहोस भए। हामफालेकाले मेरुदण्ड भाँचिएछ। खुट्टामा चोट लागेछ। उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भए। मेरुदण्डको शल्यक्रिया भयो तर उनको तल्लो भाग चल्न सकेन सदाका लागि पक्षाघात भयो।
त्यसपछि परिवारले शान्तुनको मानसिक तथा अन्य उपचार गरे। विस्तारै उनी आफ्ना पीडा सामाजिक सञ्जालमा सेयर गर्न थाले, कविता लेख्न थाले। यही बीचमा उनी आर्ट अफ लिभिङको आध्यात्मिक अनलाइन कक्षामा सहभागी भए। यसपछि उनमा बाँच्ने कला जागृत भयो। आफूले जीवनको विकल्प नदेखेर तथा आफैंलाई नबुझेर विगतमा गरेका भूल मात्र थिए भन्ने बुझे। उनी भन्छन्, ‘डिपे्रसनले सीमित दृष्टिकोण बनाएको थियो, बाहिरी संसार दैख्नै सकेको थिइनँ’, उनले भने।
अहिले उनलाई जीवन भनेको निरन्तर विकास प्रक्रिया हो भन्ने लाग्छ। त्यही प्रक्रियाअनुसार जीवन चलाइरहेका छन्। अहिले उनी विभिन्न मानसिक तनावमा रहेका व्यक्तिहरूका समस्या सुन्ने र आफ्नो जीवन कथा सेयर गर्ने गर्छन्। आपसमा कुरा साट्दा एकअर्काका लागि जीवन पे्ररणादायी बनिरहेको र त्यसले खुसी थपिइरहेको महसुस गर्छन्। आत्महत्याबाट बचेको ६ वर्षको अवधिमा उनले धेरै पक्षमा सफलता हाँसिल गरेका छन्।
सन् २०२१ मा बेलायतबाट उनलाई ‘मेन्टल हेल्थ रेस्पोन्डर प्रमाणपत्र’ प्राप्त भएको छ। नेपाली पत्रपत्रिकामा मानसिक स्वास्थ्यका बारेमा लेख तथा कविता लेख्ने र डिपे्रसन तथा अन्य मनोरोगबाट प्रताडित व्यक्तिका बीचमा उनी उत्पे्ररक वक्ता बनेर पुग्ने गरेका छन् ठाउँठाउँमा। पछिल्लो समय कोसिस संस्थासँग मिलेर उनी थुपै कार्यक्रममा पुगिसकेका छन्। त्यहाँ उनी आफ्नो अनुभव बाँड्छन्। त्यसवापत सञ्चालकले पैसा पनि दिन्छन्।
वर्तमान जीवनप्रति उत्साह जाग्दै गएको शान्तुन सुनाउँछन्। उनी भन्छन्, ‘जीवन भनेको खालि समस्या मात्र हैन, समस्याबाट माथि आउन सक्यौं भने मनमा खुसी छाउँछ र जीवन सुन्दर बगैंचाजस्तो लाग्छ।’ ‘संसारप्रतिको सीमित दृष्टिकोणले म त्यो घटनामा पुगेको थिएँ। अहिले संसार फराकिलो देख्छु। जिउनका लागि अनेक बाटा छन्। एउटा बाटो नहुँदा सबै बन्द हुँदैन’, उनले भने।
मनोरोगका कारण धेरैले आत्महत्या रोज्ने गर्छन्; तर बाँच्ने हो भने जीवन सुन्दर रहेको उनी बताउँछन्। ‘आत्मालाई माथिल्लो स्थितिमा ल्याउनुपर्दो रहेछ, त्यसपछि जीवनमा आइपर्ने जस्तोसुकै परिस्थतिलाई जित्न सकिन्छ’, उनले भने।
शान्तुन बिहीबार स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘विश्व आत्महत्या रोकथाम दिवस’ का बारेमा आफ्नो अनुभव सुनाउन पुगेका हुन्। उनीसँगै अन्य एक अधबैंसे पुरुष र एक युवतीले आफ्नो अनुभव साटे। तीनैजना आत्महत्या प्रयासबाट बाँचेका थिए। तीमध्ये काठमाडौंकी एक १८ वर्षीय युवती जसले ११ वर्षकै उमेरमा आमा गुमाएकी थिइन्। त्यसपछि मनमा उदासीनता छाउन थाल्यो। सात महिनापछि उनले आत्महत्याको प्रयास गरिन्। उनले तीनपटक आत्महत्याको प्रयास गरेकी थिइन्। स्वास्थ्य परीक्षण गर्दा उनलाई मनोरोग लागेको थाहा पाइयो। अन्तिमपटक लकडाउनका बेलामा आत्महत्या प्रयास गर्दा कसैले उद्धार गर्यो। उनी त्यो घटनाबाट बच्न सफल भइन्।
त्यसपछि उनी कोसिस संस्थाको सम्पर्कमा पुगिन्। संस्थामा पाएको सकारात्मक उत्पे्ररणापछि उनी परिवर्तन भएकी छन्। अहिले उनमा आत्महत्याको सोच आउँदैन। जीवनप्र्रति आशा जागेको छ। कुनै न कुनै मानसिक रोगका कारण मानिसले आत्महत्याको बाटो रोज्ने भएकाले यसको पहिचान र उपचारमा आफन्त र परिवारले ढिलाइ गर्न नहुने उनको भनाइ छ।
काठमाडौंका अर्का ५३ वर्षीय पुरुष पनि आत्महत्या प्रयासपछि बाँचेका हुन्। परिवार तथा मनोचिकित्सकबाट परामर्श पाएमा सम्भावित ठूला दुर्घटनाबाट बच्न सकिने उनले सुझाए। कार्यक्रमका विज्ञहरूले लक्षणका आधारमा पहिचान गरेर समयमै उपचार गर्ने र उनीहरूका समस्या सुन्ने गरेमा आत्महत्याबाट बचाउन सकिने सुझाए। यसका लागि हरेक व्यक्तिको सहकार्य आवश्यक रहेको उनीहरूले सुझाए।
प्रकाशित: २५ भाद्र २०७९ ०१:२३ शनिबार