४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गाउँका महिलामा प्रजनन दर घट्यो

सांकेतिक

महिलामा प्रजननदर घटेकाले नेपालमा जनसंख्या वृद्धिदर घटेको परिवार कल्याण महाशाखाले औंल्याएको छ। शुक्रबार एक छलफल कार्यक्रममा विज्ञहरूले अहिलेको जनसंख्या वृद्धिदरमा कमी आउनुका पछि गाउँका महिलामा प्रजननदर घटेको औंल्याएका हुन्।

‘सहरमा १० वर्षपहिला नै प्रजननदर घटिसकेको थियो भने गाउँमा १० वर्षयता घटेको देखियो,’ महाशाखा परिवार योजना शाखाकी प्रमुख कविता अर्यालले भनिन्। तथ्यांकअनुसार पहिला गाउँका महिलाको प्रजननदर ४ प्रतिशत रहेकामा यो वर्ष २.३ मा झरेको छ। गाउँका महिलाको प्रजननदर घटेपछि समग्र प्रजननदर २ भएको हो।

परिवार योजना कार्यक्रमको प्रभाव, ढिला विवाह तथा अन्य कारणले प्रजननदरमा कमी आउने भए पनि गाउँको हकमा विश्लेषण गर्दा वैदेशिक रोजगारीको प्रभाव मुख्य देखिएको अर्याल बताउँछिन्। उनका अनुसार पछि विदेशबाट युवाहरू घर फर्केर आएको अवस्थामा पुनः जन्मदर वृद्धि हुनसक्ने भएकाले अहिलेको प्रजननदर घटेको विषय स्थिर रहन नसक्ने विज्ञहरूको तर्क छ।  

गाउँका महिलामा प्रजननदर घट्नुको मुख्य कारण वैदेशिक रोजगारीमा जानु, दम्पतीबिच लामो समय सम्बन्ध नहुनु र विवाहको उमेर बढ्नु रहेको यौन तथा प्रजनन स्वास्थ्य सल्लाहाकार डा. राजेन्द्र गुरुङले बताए। धेरैले परिवार नियोजनका कारण प्रजननदरमा कमी आएको तर्क गरे पनि नेपालको हकमा परिवार कार्यक्रमको प्रभाव मात्र नभई अन्य कारण रहेको उनीहरूको तर्क छ। पछिल्लो १५ वर्षदेखि नेपालमा परिवार नियोजनका साधन प्रयोगकर्ताहरूको संख्या स्थिर रहेकाले यो मात्र कारण नभएको प्रमुख अर्याल बताउँछिन्।

नेपालमा औसत प्रजननदर घट्नुमा परिवार नियोजनको साधन मात्र कारक नभई अन्य पक्ष बालबच्चा हुर्काउन पर्ने आर्थिक बोझ, क्यारियर बनाउने महत्वाकांक्षा, बसाइ–सराइ, ढिला विवाह, महिलाहरूको श्रम बजारमा सहभागिता बढ्दै जानु, एकल परिवारको संरचना, महिला सशक्तीकरण जस्ता आर्थिक तथा सामाजिक पक्षको कारण जन्मदरमा कमी आएको सल्लाहकार गुरुङको तर्क छ। ‘आर्थिक स्थिति सुधार भएका देशहरूमा परिवार नियोजन कार्यक्रम रहे पनि जन्मदरमा वृद्धि भएको देखिन्छ,’ उनले भने।

अहिले पनि नेपालमा मुस्लिम समुदाय, दलित समुदाय, विवाहित किशोरीहरू, सुत्केरीहरूमा गर्भनिरोधका साधनहरूको प्रयोगदर औसतभन्दा कम रहेकाले अनिच्छित गर्भवती हुने दर उच्च रहेको महाशाखाले जनाएको छ। हाल ४३ प्रतिशत प्रजनन उमेर समूहले परिवार नियोजनको साधन प्रयोग गरिरहेको र दिगो विकास लक्ष्यका लागि ६० प्रतिशत प्रजनन उमेर समूहमा परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या पुर्‍याउनुपर्ने देखिए पनि चुनौतीपूर्ण रहेको महाशाखाले औंल्याएको छ।

परिवार नियोजनका साधन प्रयोग मात्र जन्मदरमा कमी आउनुको कारण नभएको र यो कार्यक्रमलाई रोक्नुको सट्टा निरन्तरता दिनुपर्ने उनीहरूको सुझाव छ। दुई बच्चाबीचको जन्मान्तर कायम राख्न, महिलालाई अनिच्छित गर्भाधानबाट सुरक्षित राख्न, महिलाहरूको प्रजनन अधिकारको प्रत्याभूति गर्न, मातृमृत्युदर घटाउन परिवार योजना कार्यक्रम आवश्यक रहेको उनीहरूको सुझाव छ।

प्रकाशित: १२ असार २०७९ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App