४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा झाडापखाला फैलिन सक्ने

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ।

हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन्।

मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ। गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ।

सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाइ छ। दैनिक पेटको समस्या लिएर आउने बिरामीमध्ये ४० प्रतिशतमा दूषित खाना तथा पानीका कारण हुने कीटाणुको संक्रमण भएको पाइएको सोही अस्पतालका चिकित्सक डा. अफतार जावेदले बताए।

पेटको समस्या लिएर आएकामध्ये केहीलाई लाक्षणिक उपचार गरी पठाउने गरेको र कीटाणु भेटिएकाहरूलाई एन्टिबायोटिक नै दिएर उपचार गर्ने गरेको डा. जावेदको भनाइ छ। सो अस्पतालमा उपचारका लागि पुग्नेहरू धेरैजसो दूषित पानी र खानाको कारण बिरामी भएको पाइएको उनले बताए। ‘यस्तो झाडापखाला कि दूषित खाने कुराले हुन्छ या पानीले,’ उनले भने।

उपत्यकामा झाडापखाला सुरु हुनेबित्तिकै आफूखुसी औषधि किनेर खाने चलन रहेको चिकित्सकहरू बताउँछन्। औषधिले काम नगरेका र स्लाइन लगाउनुपर्ने अवस्थामा पुगेका बिरामी मात्र अस्पताल पुग्ने गरेको शुक्रराज ट्रपकिल अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए।

‘अस्पतालमा कम बिरामी पुगेका छन्। धेरै बिरामी समुदायमै उपचाररत छन्,’ उनले भने। अस्पताल पुगेका बिरामीमध्ये अहिलेसम्म कसैमा हैजाका कीटाणु नदेदिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। तथ्यांकअनुसार वैशाखभरि झाडापखालका १६२ जना बिरामी थिए भने जेठमा १४३ ले उपचार गराएका छन्।

विकसित देशमा धेरै वर्ष पहिला नै देखिन छोडेको झाडापखाला नेपालको राजधानी काठमाडौंमा भने बर्सेनि देखिने गरेको चिकित्सक बताउँछन्। उपत्यकाकामा सफाइको अभाव, असुरक्षित पानी र दूषित खानाका कारण यस्तो हुने गरेको डा. पुनको धारणा छ। उनका अनुसार विकसित देशहरूमा सुरक्षित पानी, सुरक्षित खाने कुरा र अन्य सफाइका पक्षहरू सबल बन्दै गइरहेकाले धेरै वर्ष पहिला नै झाडापखाला उन्मूलन भइसकेको छ।

उपत्यकामा गुणस्तरहीन खाजा पसल, खाजा पसलमा हुने सफाइको अभाव, खाना वितरण गर्ने व्यक्तिमा सफाइको अभाव, शौचालयहरूमा पानीको अभाव, गुणस्तरीय पानी बिक्रीवितरण नहुनुजस्ता कारणले उपत्यकामा सामान्य मानिएको झाडापखाला बर्सेनि दोहोरिने गरेको डा. पुन बताउँछन्। ‘सरकारले बिक्रीमा रहेका पानीको न सही अनुगमन गरिरहेको छ न दैनिक खानाखाजा खुवाउने होटलहरूको अनुगमन गरेको छ,’ डा. पुनले भने।

खाजाखाना बाँड्नेहरूका हात सफा भएनन् भने तिनले वितरण गरेको खानाबाटै झाडापखाला लाग्न सक्ने डा. पुनले बताए। त्यसैगरी उपत्यकामा वितरण हुने कतिपय जारको पानी कम्पनीको उत्पादनमै असुरक्षित रहेकाले यो पनि संक्रमणको कारण बन्ने गरेको छ। राम्रोसँग नपाकेको मासुु, सडेगलेका खाना खानाले पनि झाडापखाला हुने चिकित्सक बताउँछन्।

उपत्यकामा यो मौसममा थप संक्रमणको जोखिम भएकाले सरकारले खाना तथा खाजा पसलको अनुगमनमा कडाइ गर्नुपर्ने, सकेसम्म घरबाहिरको खाना नखाने, उमालेको पानी पिउने, हातको सफाइमा ध्यान दिने र शुद्ध पानी मात्र पिउने गरे झाडापखालाबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App