३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले एम्बुलेन्सको भाडा र सिफारिस शुल्क नलिने

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर सुखदेव यादवलले नगरवासीलाई नगरपालिकामा सिफारिस बापतको तिर्नुपर्ने शुल्क नलिन सबै वडा कार्यलयमा परिपत्र गरेको छ। त्यस्तै नगरपालिकाबाट सन्चालित एम्बुलेन्सको भाडा समेत नलिने निर्णय गरेको छ।

बुधबार मेयर यादवले नगरपालिकाको सबै वडा कार्यलयको नाममा पत्र जारी गर्दै नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता बसाइँसराइ घरबाटो र चारकिला प्रमाणित गर्दा यसअघि लाग्दै आएको शुल्क अबदेखि नलिन वडाध्यक्षहरुलाई निर्देश दिएको छ।

नगरपालिकाभित्रका गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई जिल्लाभित्र स्वास्थ्य संस्था र अस्पतालसम्म निःशुल्क पुर्‍याउने निर्णय गरेको छ। यसअघि नगरपालिकाको केन्द्र समेत रहेको महेन्द्रदेखि जनकपुरसम्म नगरपालिकाको एम्बुलेन्स प्रयोग गरेबापत एक हजार रुपैयाँ तिर्नु परेको थियो।

'सुरुमा हामीले कार्यपालिकाबाट यो निर्णय गराउन खोजेका थियाै। तर नगरपालिकामा हाम्रो बहुमत छैन। मैले गरेको प्रस्तावमा वडाध्यहरुले अस्वीकार गरेका कारण कार्यपालिकाबाट निर्णय गराउन सकेनाैं,' मेयर यादवले भने, '१० वटा नगरपालिका छन्। जसमध्ये ८ वटा वडासहित उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित छन्।'

'कार्यपालिकामा बहुमत नहुँदा मैले गरेको प्रस्ताव अस्वीकृत भयो। उम्मेदवार भएको बेलानै म निर्वाचित भएपछि एम्बुलेन्स र सिफारिस शुल्क नलिने घोषणा गरेको थिए। निर्वाचित भएपछि त्यो बाचा पूरा गर्नुपर्छ। बहुमतसँग डराएर जनतासँग गरेको बाचा भुल्नु भएन। त्यसैले सिधै वडा कार्यलयको नाममा पत्र लेखेका छौं,' उनले भने, 'मैले गरेको निर्णय जनताको हितमा छ यसमा सबै वडाध्यक्षहरुले सहयोग गर्नुहुन्छ भने विश्वास छ।'

नगर कार्यपालिकाको बैठकबाट नगरवासीको लागि आफूले गरेको पहिलो निर्णय कार्यान्वयनको लागि निम्ति प्रस्ताव लगेको तर, कार्यपालिकाका एमालेबाट निर्वाचित वडाध्यक्ष बाहेक सदस्यहरुले असहयोग गरेपछि एकल निर्णय गरी उक्त सेवाहरु निःशुल्क गर्न सबै वडा कार्यालयलाई परिपत्र गरिएको मेयर यादवले बताए।

विकास र सेवा गर्छु भनेर निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले नगरवासीको हितमा निर्णय गर्न नदिएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनको भनाइ छ। मेयर यादवले, 'यो त मेरो पहिलो निर्णय हो अब हुने कार्यपालिका बैठक प्रत्येक नगरवासीले हेर्ने गरी लाईभ गर्छु। ताकि आफूले मत दिएर पठाएको जनप्रतिनिधिहरुले के बोल्छ, के गर्छ, त्यो जनताले पनि हेर्छन्।'

क्षिरेश्वरनाथ नगरपालिकामा उपमेयरसहित ८ वटा वडामा नेपाली कांग्रेस र मेयरसहित २ वटा वडामा नेकपा एमालेबाट निर्वाचित भएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७९ १२:२८ शुक्रबार