भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शैयाको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ।
६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको लागि एक सय शैयाको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको भक्तपुर नगरपालिकाले जनाएको छ। सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक सय शैयाको क्षमतामा ख्वप अस्पताल सञ्चालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लग्नुका साथै नर्सिङ शिक्षा सञ्चालन गर्ने बताए।
यसअघि २०६० सालदेखि नर्सिङ पढाई हुँंदै आएकोमा यो वर्ष एक सय शैयाको अस्पताल नभएको भन्दै नर्सिङ पढाई बन्द गर्न बाध्य भएको थियो। अब यो कक्षा चालू शैक्षिक सत्रदेखि सुरु गर्ने नगरपालिकाले जनाएको छ।
हाल नै दैनिक झण्डै सात सयले सेवा पाइरहेको यो अस्पतालले एक सय शैयाको क्षमताको बनाउने अनुमति पाएपछि थप संख्यामा विरामीले सेवा पाउने आशा गरिएका छ। सुरुमा १५ शैयाबाट सुरु भएको अस्पताल अहिले २५ शैयामा छ।
यसअघि वैशाख ८ गते ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाई भएको थियो।
प्रकाशित: २५ जेष्ठ २०७९ १२:५२ बुधबार