१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या

नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्।

पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्। ठूलो आवाजमा आधुनिक म्युजिक डिभाइस प्रयोग गर्ने र अन्य खालका ध्वनि प्रदूषणले कानको श्रवण क्षमता गुम्दै जाने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार हिजोआज लामो समयसम्म हेयरफोन लगाएर रेडियो तथा कम्प्युटरमा गीतसंगीत सुन्ने, मोबाइलमा बोल्ने, बिहे, व्रतबन्धमा लामो समय चर्को आवाजबीच काम गर्ने, हवाईजहाज, मोटरको ध्वनिजस्ता प्रदूषणले कान नसुन्ने समस्या बढिरहेको छ।

चिकित्सकका अनुसार ध्वनि प्रदूषणको जोखिममा कारखानामा काम गर्ने मजदुर, सडक तथा एयरपोर्टनजिक घर भएका व्यक्तिहरू, लामो समय समूहमा बसेर पूजा प्रार्थना गर्ने समुदाय, लामो समय अस्पतालमा भर्ना भई बसेका बिरामी हुन्छन्। यसको साथै जन्मजात कानको समस्या भएका, कानको संक्रमण भई समयमै उपचार नभएका व्यक्तिहरू पनि कान नसुन्ने समस्याको जोखिममा हुन्छन्।

कुनै पनि कारणले कान नसुन्ने समस्या आउन थालेको भए पनि समयमै उपचार गरेमा र नियमित कानको जाँच गरेमा कान नसुन्ने समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ। चिकित्सकका अनुसार शिशु गर्भमा रहँदा आमाले अनावश्यक औषधि प्रयोग गरेमा तथा अन्य कारणले शिशुमा जन्मजात कानको समस्या हुन्छ। उनीहरूको एक महिनाभित्र परीक्षण गरेमा कारण पत्ता लगाई उपचार गर्न सकिने चिकित्सक बताउँछन्। यसका साथै मानिसको औसत आयुको कारण पनि कान नसुन्नेको संख्या बढिरहेको डा. बुढाथोकी बताउँछन्।

कानमा हुने सानो संक्रमणको पनि समयमै उपचार नगर्नाले नसुन्ने समस्या बढेको टिचिङ अस्पतालका नाक, कान तथा घाँटी सर्जन डा. रवीन्द्र प्रधानांगले बताए। ‘बच्चामै कान पाक्ने, गर्भावस्थामा लिनुपर्ने खोप नलिँदा पनि शिशुमा कान नसुन्ने समस्या आएको हुन सक्छ’, उनले भने। यस्तो समस्या भएका शिशुको समयमै कानको शल्यक्रिया गरी हेयरिङ उपकरण, कक्लियोइम्पलान्ट गरी कान सुन्ने बनाई सामान्य जीवन बिताउन सक्ने उनले बताए।

चिकित्सकका अनुसार नेपालमा समयमै उपचार गरेको खण्डमा ६० प्रतिशत कान नसुन्ने समस्या समाधान गर्न सकिन्छ। तर समयमै समस्याको पहिचान नगर्नाले समस्या बढिरहेको हो। नेपालको जनगणना २०६८ को तथ्यांकअनुसार कुल जनसंख्याको १५.५ प्रतिशतमा कुनै न कुनै प्रकारको कान नसुन्ने समस्या छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो अध्ययनले १८.४ प्रतिशत जनसंख्यामा कानको समस्या भएको देखाएको छ। तीमध्ये ५० प्रतिशतमा कानमा फोहोरले समस्या लिएको छ। १७ देखि १८ प्रतिशतमा कान नसुन्ने समस्या छ।

नेपालमा कानको समस्यालाई गम्भीर रूपमा नलिनु, कान स्वास्थ्यको उपचारमा पहुँच नहुनु र कानको हेरचाहबारे जनचेतनाको कमीका कारण कान नसुन्ने समस्या लिएर ठूलो जनसंख्याले जीवन बिताउनुपरेको डा. बुढाथोकी बताउँछन्। सामान्य समस्यामै उपचार पाएमा धेरैलाई कान नसुन्ने समस्याबाट बचाउन सकिने भएकाले स्थानीय तहमै कानको आधारभूत जाँचमा पहुँच, कान रोग विशेषज्ञको दरबन्दी वृद्धि, जिल्ला अस्पतालमा कान जाँचका लागि आवश्यक उपकरणको व्यवस्था र केन्द्रीय अस्पतालहरूमा कानको शल्यक्रियाको व्यवस्था गर्नेगरी सरकारको नीति तय भएर प्रक्रिया अघि बढेको उनले बताए। ‘हाल कान जाँचको पहुँच बढिरहेको छ, अब सेवा विस्तारमा ध्यान दिइरहेका छौं’, उनले भने। कानको समयमै उपचार गर्न वीर अस्पतालमा ९० बेडको कान वार्ड विस्तार भइरहेको उनले बताए।

कडा आवाजका डिभाइसको प्रयोग नगर्ने, कानको संक्रमणको समयमै उपचार गर्ने, कानको सफाइमा ध्यान दिने, समयसमयमा कानको जाँच गर्ने, गर्भवतीले औषधि प्रयोेग नगर्ने, कारखानामा काम गर्ने समूहले समयमै कानको जाँच गर्ने, नवजात शिशु जन्मेको एक महिनामा उपचार गर्ने गरेमा कान नसुन्ने समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

प्रकाशित: २० फाल्गुन २०७८ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App