१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘एन्टिजेन परीक्षणमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गर्नु पर्दैन’

कोरोना भाइरस संक्रमण पुष्टिका लागि पिसिआरसंगै एन्टिजेन विधिबाट पनि परीक्षण गरिँदै आइएको छ। एन्टिजेनभन्दा पिसिआर परीक्षण विश्वसनीय मानिन्छ। तर पछिल्लो समय नेपालमा पसिआरसँगै एन्टिजेन परीक्षणको नतिजालाई पनि मान्यता दिन थालिएको छ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमा हाल विश्व स्वास्थ्य संगठन, युएस–एफडिएर युरोपेली मुलुकहरुमा मान्यता प्राप्त बिभिन्न कम्पनीहरुका 'एन्टिजेन सेल्फ टेस्टिङ किट' हरु उपलब्ध छन्। फ्लोफ्लेक्स, एस.डि बायोसेन्सर, एक्सेस बायो, सेलिट्रन युएसए, डि.एन.एडायग्नोस्टिक, फुजिरेबियो लगायत बिभिन्न १६० भन्दा बढी कम्पनीका 'एन्टिजेन सेल्फ टेस्टिङ किट' हरु हाल नेपालमा उपलब्ध छन्।

एन्टिजेनमा आधारित परीक्षणमा पिसिआरमा जस्तै मानिसको घाँटी तथा नाकबाट स्वाबको नमुना लिइन्छ। एन्टिजेनमा आधारित परीक्षणको नतिजा पिसिआर परीक्षण जत्तिकै मान्य हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भनाइ छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए नजिकैको फार्मेसीबाट एन्टिजेन किट खरिद गरी सजिलै कोरोना परीक्षण गर्न सक्छ। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने एन्टिजेन किट आम नागरिकको सहज पहुँचमा भएपनि स्वास्थ्यकर्मीको निगरानीमा मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गर्न सुझाएको छ।  

नेपाल सरकारले समुदाय स्तरमा र सीमानाहरुमा निःशुल्क रुपमा एन्टिजेन परीक्षण गर्ने गरेको छ भने निजी प्रयोगशाला वा फार्मेसीहरुले भने शःसुल्क एन्टिजेन परीक्षण गर्दै आएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिजेन परीक्षणको लागि निजी संस्थाहरुले अधिकतम एक हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरेको छ। तर फार्मेसीहरुले बजार अनुगमन भने सरकारले गर्न सकेको छैन। जसका कारण सरकारले मन्यता दिएका एन्टिजेन किटहरु र बजार मूल्यमा फरक पर्दै आएको गुनासो बढ्दै गएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख मेडिकल टेक्नोलोजिस्ट लिली श्रेष्ठका अनुसार प्रयोगशालाले पिसिआर परीक्षण गर्ने ल्याबहरुको अनुगमन गरेपनि एन्टिजेन किटहरुको विषयमा भने अनुगमन गरेको छैन। ‘हामीलाई एन्टिजेन किटको शुल्क वा एन्टिजेन किटका विषयमा गुनासो आए मात्रै अनुगमन गर्छौ, तर बजारमा कुन किट उपलब्ध छ वा तोकिएको कम्पनीहरुको एन्टिजेन किटहरुबाट परीक्षण भईरहेको छ वा छैन भन्ने विषयमा अनुगमन भएको छैन,’ उनको भनाइ थियो।  

सामान्यतया पिसिआर विधिबाट परीक्षण गर्दा १२ देखि १४ घण्टाभित्र नतिजा आउँछ भने, एन्टिजेन टेष्टको नतिजा १५ देखि ३० मिनेटभित्रै लिन सकिन्छ। एन्टिजेन परीक्षणलाई पीसीआर परीक्षणमा चाहिने महँगो उपकरण र रिजेन्टहरू नचाहिने भएकाले एन्टिजेन तुलनात्मक रपमा कम खर्चिलो पनि मानिन्छ।

पछिल्लो समयमा नेपालमा दैनिक रुपमा करिब ७ हजार नमुनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिन्छ भने दैनिक १५ देखि १८ हजार नमुनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिन्छ। यसरी हेर्दा नेपालमा एन्टिजेन परीक्षणको तुलनामा पिसिआर बिधिबाटै कोरोना परीक्षण बढी गरिन्छ। ‘कतिपयले एन्टिजेन विधिबाट गरिएको परीक्षण विश्वसनीय नभएको भन्दै पुनः पिसिआर विधिबाट परीक्षण गर्ने गरेका छन्। तर हामीले एन्टिजेन परीक्षणलाई पनि मान्यता दिएका छौं,’ प्रयोगशालाकी प्रमुख मेडिकल टेक्नोलोजिस्ट श्रेष्ठ भन्छिन्, ‘एन्टिजेन पनि प्रभावकारी विधि नै हो। लक्षण देखिएका व्यक्तिहरुले एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो भने पुनः पिसिआर गर्नु पर्दैन।’  

एन्टिजेन परीक्षणको नतिजाको विश्वसनीयतामा फरक नपर्ने भए पनि परीक्षणको क्रममा संकलन गरिएका ¥यालका नमुनामा भाइरसको मात्रा कम भएमा यसले सतप्रतिशत सही नजिता भने दिन सक्दैन। यस्तो अवस्थामा नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाह अनुसार पिसिआर गर्नु सकिने प्रयोगशालाको सुझाव छ।

प्रकाशित: १४ माघ २०७८ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App