सदरमुकामस्थित उदयपुर अस्पतालमा महिलाको पाठेघर र एपेन्डिक्सको सफल शल्यक्रिया सम्पन्न भएको छ। पछिल्लो समय विशेषज्ञ चिकित्सहरु आएसँगै जिल्ला अस्पतालले यो सेवा दिन सफल भएको हो।
४ दिनअघि आङ खसेकी एक महिलाको पाठेघरको सफल अप्रेसन भएको अस्पतालले जनाएको छ। विगत १२ वर्षअघिदेखि खसेको आङ बोक्दै हिँडेकी रौतामाई ७ मुर्कुचीकी ५५ वर्षीया सीता मगरको पाठेघरको सफल अप्रेसन भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले बताए। उनका अनुसार आफू र डा. रितेश कर्णको टिमले गत २१ गते मगरको सफल शल्यक्रिया गरेको हो।
यो सेवा उदयपुर अस्पतालले दिएको पहिलो हो। ५ दशक पुरानो अस्प्तालले यसअघि जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो। अहिले अस्पतालमा आङ खसेको महिलाको अप्रेसन पहिलो घट्ना भएको र अब यसलाई निरन्तरता दिइने मेसु डा. झाले बताए।
साढे ३ वर्षअघि यहीँ अस्पतालमा गाईनो चिकित्सामा मेडिकल अधिकृत रहेर अनुभव बढुलेका झा गाईनोमै ३ वर्षे अध्ययन पूरा गरेर विशेषज्ञ डाक्टरको रुपमा मेसुको जिम्मेवारी लिएर एक महिनाअघि सरुवा भएर आएका हुन्। सरुवा भएर आएलगत्तै उनले सेवा विस्तार गर्ने क्रममा आङ खसेकी महिलाको अप्रेसन सेवा दिन सफल भएको बताए। उनीसहित अब अस्पतालमा दुईजना गाईनोकोलोजिस्ट भएका छन्। यसअघिदेखि नै अस्पतालमा गाईनेमा डा. रितेश कर्ण कार्यरत छँदैछन्।
पाठेघरको अप्रेसनसँगै अस्पतालमा एपेन्डिक्सका बिरामीको पनि सफल उपचार अस्पतालले गरेको छ। पुस १३ गते असह्य पेट दुखेर अस्पताल भर्ना भएकी एपेन्डिक्सको बिरामी त्रियुगा नगरपालिका १२ की १२ वर्षीया सरस्वती मल्लिकको सफल अप्रेसन भएको छ। इन्टरनल मेडिसिनमा विशेषज्ञ डा. अम्रेशकुमार महतो नेतृत्वको टिमले मल्लिकको अप्रेसन सफलतापूर्वक सम्पन्न गरेको डा. झाले बताए।
सेवा सुचारु भएपछि अब आङ खसेका महिला र एपेन्डिसाईटिक्स बिरामी उपचारका लागि धरान, बिराटनगर र काठमाडौँ धाउनुपर्ने समस्या हटेको छ। ‘यसअघि उदयपुरमा यस्तो सेवा थिएन, त्यसका लागि दक्ष जनशक्ति पनि दिएन, म आपैm पनि ३÷४ वर्षअघि यही कार्यरत थिएँ’ डा. झाले भने ‘तर अहिले हामीले सेवा विस्तार गरिसक्यौँ, अब सिएसदेखि आङ खसेका महिला र एपेन्डिसाईटिक्स परीक्षण अप्रेसन सफल भईसकेकाले जिल्लाबासीलाई उपचार सहज बनाउँदै जानेछौँ।’
डा. झाका अनुसार विशेषज्ञ डाक्टरहरुको आगमनपछि अस्पतालले सेवा विस्तार गर्न सहज भएको छ। झा स्वयं गाईने विशेषज्ञसँगै हाडजोर्नी विशेषज्ञ डा. सशिभुषण प्रधान र जेनेरल फिजिसिएनका विशेषज्ञ डा. राहुल रौनियार सरुवा भई आएका छन्। त्यसैगरी यसअघि यही सेवा गरेका डा. विशाल देव पनि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ वर्षे एनेस्थेसिया (बेहोस पार्ने) कोर्ष उत्तीर्ण गरेर सरुवा लिई आएका छन् भने उनीजस्तै अर्का एनेस्थेसिया डा. कौशल तामाङ पनि आएका छन्।
इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमरेश महतो, डेन्टल सर्जन डा. नारायण चौधरी र सकुन्ताला श्रेष्ठ तथा प्रसुतिमा डा. रितेश कर्ण यहीँ कार्यरत छन्। अहिले मेसु झासहित अस्पतालमा विशेषज्ञ डा. को संख्या ८ जना पुगेको छ। अब मुटुरोग (कार्डियोलोजिस्ट), नाक–कान–घाँटी (इएनटी) तथा नशारोग विशेषज्ञ (न्युरोलोजिष्ट) को दरबन्दी अझै खाली छ। यो दरबन्दी पनि पूर्ति भएमा उदयपुर अस्पतालबाट बिराटनगर र धरानसरहको उपचार सेवा दिन सकिने डा. झा बताउँछन्।
उदयपुर अस्पताल ५० शय्यामा स्तरोन्नति भएको एकदशक बढी भइसकेको छ। साविक २५ शय्याको अस्पाललाई तत्कालीन स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलको पालामा ०६८/८९ तिर ५० शय्यामा स्तरोन्नति गरिएको थियो। दर्जन हाराहारी विशेषज्ञ डा. को दरबन्दीसहित ५० शैय्यामा स्तरोन्नति गर्ने निर्णय स्वास्थ्यमन्त्रालयले गरे पनि जनशक्ति नपठाउँदा अस्पताल ‘रिफर सेन्टर’मै सीमित हुँदै आएको थियो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्ग परियारले अब अस्प्तालमा छिट्टै आईसियु र भेन्टिलेटरसहितको सेवा सुचारु हुने पनि बताए। जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका अध्यक्ष परियारले आईसियु सञ्चालन गर्ने तयारी अस्पतालले तीब्र पारेको बताए।
अस्पतालका प्रशासन प्रमुख बृखबहादुर खत्रीले तत्काललाई पर्याप्त कोठा र केही उपकरण अभाव भएकाले भुईतलामा काम चलाऊ आईसियु सेवा सुचारु गर्न लागिएको बताए।
प्रकाशित: २६ पुस २०७८ ०८:३२ सोमबार