१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान तनावग्रस्त, आन्दोलनको विरोध गर्दै राजनीतिक दलले उपकुलपति कार्यालयको ताला तोड्यो

उपकुलपति कार्यालयको ताला तोड्ने क्रममा ढोकामा भएको तोडफोड। तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सोमबार दिउँसो तनावग्रस्त भएको छ।

आइतबारदेखि ओपिडी सेवासमेत ठप्प हुने गरि शुद्धिकरण अभियान अन्तर्गत संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि नेकपा एमालेसहित केही राजनीतिक दलहरु त्यसविरुद्ध प्रदर्शनमा उत्रिँदा सोमबार प्रतिष्ठान केहीबेर तनावग्रस्त बनेको हो। 

एमाले, संघीय लिम्बुवान मञ्च, राप्रपालगायत दलहरु वीपीमा उपचार सेवा बहिष्कारविरुद्धमा छन्। उनीहरुले सोमबार सेवा बहिष्कारविरुद्ध प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा लगाएको ताला तोड्न पुगेका थिए।

उपकुलपतिसहित चारैजना पदाधिकारीहरुको कार्यकक्षमा संघर्ष समितिले गत असार १६ गते तालाबन्दी गरेका थिए। उक्त तालाबन्दी हालसम्म जारी नै छ। सोही ताला सोमबार राजनीतिक दलहरुले तोडेका हुन्। सो क्रममा प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरुबीचमा केहीबेर झडपसमेत भएको थियो। 

ताला तोड्ने क्रममा आक्रोशित भिडले उपकुलपति कार्यालयको ढोको शिसासमेत तोडफोड गरेका छन्। एक जना राजनीतिक दलका कार्यकर्ताहरु शिशाले हात काटेर घाइते भएका छन् भने केही प्रहरीसमेत सामान्य घाइते भएका छन्।

वीपी प्रतिष्ठानमा सेवा बहिष्कारविरुद्ध धरानका राजनीतिक दलहरु प्रदर्शन गर्दै।

एमाले धरानका अध्यक्ष हर्क एभेङले उपचार सेवा पनि अवरुद्ध हुने गरि वीपीमा आन्दोलन भएकोले त्यसविरुद्ध उभिएको बताए। उनले विरामीहरुमाथि अन्याय गर्न नहुने पनि बताए। संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले सुरुमा राजनीतिक दलहरुले शुद्धिकरण आन्दोलनलाई समर्थन गरेको तर अहिले सेवा बहिष्कार हुँदा विरामीहरुले उपचार नपाउने अवस्था भएकोले त्यसको विरोध गरिएको बताए। 

उपचार सेवा बहिष्कार नगर्न आग्रह गरिए पनि वीपीका आन्दोलनरत पक्षले नमाने पछि आफूहरु सेवा निरन्तर हुनुपर्छ भन्ने पक्षमा भएको बताए।

प्रकाशित: २१ भाद्र २०७८ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App