उदयपुरमा एक महिनाअघि भेरोसिल लिएका नागरिकहरु समयमा खोप नआइपुग्दा दोस्रो डोज लिनबाट वञ्चित हुने सम्भावना बढेको छ। गत साउन १० गते आएर १२ र १३ गते सञ्चालित अभियानअन्तर्गत खोप लिएका २४ हजार ६ सय लक्षित वर्गका नागरिकले २८ दिन बित्दासम्म दोस्रो मात्राको खोप लिन पाएका छैनन्।
समयमा खोप नआइपुग्दा पहिलो डोज हान्ने नागरिक प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। पहिलो डोज लिएको ३ सातादेखि एक महिनाभित्र दोस्रो डोज लिइ सक्नुपर्ने भए पनि एक महिना पुग्दासम्म खोप नआइपुगेपछि दोस्रो डोज दिन ढिला भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदी बताउँछन्।
उनका अनुसार साउन १० गते आएको खोप वितरण गरेर सबै स्थानीय तहमार्फत् १२ र १३ गतेसम्म लक्षित वर्गलाई लगाइएको थियो। लक्षित वर्गलाई लगाएर बचेको ६ सय २ थान खोप प्रमुख जिल्ला अधिकारीको रोहबरमा दोस्रो प्राथमिकतामा परेका वर्गलाई १५ गते लगाइएको थियो।
१५ गते खोप लगाएको २७ दिन पुगिसक्दासम्म खोप आउने सुरसार नदेखिएकाले पहिलो डोज खोप लिनेहरु प्रभावित हुने देखिएको हो। साता दिनअघि नै आउने भनिएको खोप अहिलेसम्म नआइपुग्दा अर्को डोज लिन ढिला भएको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका छन्।
साउन अन्तिम साताभित्रै आइसक्नुपर्ने खोप हालसम्म नआइपुगेको भन्दै सुबेदीले प्रदेशमै खोप नआएकाले जिल्लामा ल्याउन नसकेको बताए। साउन अन्तिम साता प्रदेशका सबै जिल्ला पुगिसक्नुपर्ने खोप भदौ पहिलो साता बित्न लाग्दासम्म प्रदेशमै नआएको उनले बताए।
सुबेदीका अनुसार खोप आउन अझै एकसाता कुर्नुपर्ने खबर पाएको बताएका छन्। ‘आज थोरै मात्रा खोप प्रदेश कार्यालय आइपुग्ने भन्ने सुनिएको छ’ उनले भने ‘तर, पुग्दो खोप आउन सातादिन कुर्न भनेका छन्। सातादिनपछि प्रदेशमा आयो भने हामीकहाँ आउन दुईदिन अझै ढिला हुन्छ।’
भेरोसेल लगाएको सातादिनपछि नै उदयपुरमा अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप आएर पनि लगाइ सकिएको छ। त्यो खोप भने एकै जोड भए पुग्ने भएकाले समस्या नभएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जिबी निरौलाले बताए।
निरौलाका अनुसार एक डोज मात्र लगाउँदा हुने जोन्सन एण्ड जोन्सन खोप जिल्लाका १७ हजार सेवाग्राहीले लगाएका छन्। सुरुका दुईदिन ५० वर्षभन्दा माथिका नागरिक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जाने तयारीमा पुगेकालाई लक्षित गरी दिइएकोमा लक्षित बर्गबाट बाँकी रहेपछि भोलिपल्ट सबै उमेर समूहलाई खोप दिइएको थियो।
जिल्लामा सुरुमा दिइएको पहिलो चरणमा खोपको दोस्रो मात्रा पनि दिन पाइएको छैन। गत माघ १४ गतेदेखि सञ्चालित भारतीय कम्पनीको कोभिशिल्ड खोपको पहिलो मात्राको खोप १२ हजार जेष्ठ नागरिकले लिएका थिए। उनीहरुले अहिलेसम्म दोस्रो डोज पाउन सकेका छैनन्।
प्रकाशित: ४ भाद्र २०७८ ०९:१५ शुक्रबार