ज्वरो आउने, रुघा लाग्ने, ढाड दुख्ने लगायतको समस्या भएर घरमै आराम गरिरहेका नीलकण्ठ नगरपालिका वडा नं ४ का एक युवालाई गत साउन पहिलो साता स्वास फेर्न निकै गाह्रो भयो। स्वास्थ्य अवस्था जटिल हुन थालेपछि अस्पताल खोज्दै आफै सदरमुकाम धादिङबेसी झरे। धादिङबेसी आएर कोभिड परीक्षण गराउँदा संक्रमण पुष्टि भयो। त्यसपछि धादिङ अस्पतालले संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा भर्ना भए। १० दिनको अस्पताल बसाईपछि बल्ल स्वास्थ्यमा सुधार आयो अहिले उनी घरमा नै आराम गरिरहेका छन्।
सामान्य ज्वरो आउँदा, रुघा लाग्दा एक, दुई दिनमै निको हुने गरेको सुनाउँदै उनले यस पटक जीवन र मृत्युसँग जुध्नु परेको अनुभव सुनाए। ‘पहिले सामान्य रुघा लाग्दा, ज्वरो लाग्दा घरमै आराम गरेर निको हुने गथ्यो,’ उनले भने, ‘यसपटक घरमै बसेर निको पार्छु भन्दा सकिन अस्पताल नै जानुपर्यो, १० दिनको अस्पताल बसाई १० वर्ष जस्तै भयो।’ कोरोनाको संक्रमणको समयमा अस्पतालमा धाइरहदाँ आफूलाई पनि सर्ने हो कि भन्ने चिन्ताले सामान्य बिरामी हुदाँ अस्पताल नगएको उनले सुनाए। त्यसैले यसपटक स्वास्थ्यमा ध्यान नदिदाँ मृत्युसँग जुध्नुपर्ने बाँध्यता सिर्जना भएको बताए।
यता नीलकण्ठ नगरपालिका वडा नं ८ को एक पुरुषको पनि उस्तै अनुभव छ। केही दिनअघि टाउको दुख्ने, रुघा लाग्ने समस्या भएपछि लामो समय घरमै आराम गरे। स्वास्थ्य अवस्था जटिल हुन थालेपछि अस्पताल गए। एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमण भएको पुष्टि भयो। धादिङबेसीको आइसोलेनमा उपचारपछि चार दिन अघि डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन्। सामान्य स्वास्थ्य समस्या आउदाँ स्वास्थ्य संस्था जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने भएकाले समयमै उपचार गराउनुपर्ने अनुभव उनले गरेका छन्।
कोभिड १९ को संक्रमण दर कायमै छ। छिनमै घाम त छिनमै पानीले हिजोआजको मौसम निकै परिवर्तित छ। ओल्लो घर पल्लो घर, तल्लो घर माथिल्लो घर सबै तिर ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने लगायतका समस्या भएका बिरामी छन्। घरदेखि स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको लाम उस्तै छ। अस्पतालका बेडहरु भरिएका छन्। समयमै अस्पताल जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने गरेको छ।
पछिल्लो साता धादिङ अस्पतालमा ज्वरोका बिरामी आउने क्रम बढ्दो छ। अस्पतालले ज्वरोका बिरामी आउने क्रम अत्याधिक हुन थालेपछि छुट्टै ‘फिवर (ज्वरो) क्लीनिक’ चलाएको छ। हिजोआज दैनिक ओपिडी, इमर्जेन्सी र फिवर क्लीनिकमा गरी २ सयको हाराहारीमा बिरामी आउने गरेका छन्। ज्वरो आएर जाँच गराउन धादिङ अस्पतालमा आउनेको संख्या मात्रै दैनिक ६० को हाराहारीमा हुने गरेको धादिङ अस्पतालका इमेजेन्सी इन्चार्ज कृष्णप्रसाद उप्रेतीले बताए।
‘इमजेन्सीमा आउने बाहेक ओपिडीमा आउनेको संख्या पनि दैनिक एक सयको हाराहारीमा छ’ इमर्जेन्सी इन्चार्ज उप्रेतीले भने, ‘अधिकांश बिरामी ज्वरो, रुघाखोकी, ज्यान दुख्ने समस्या लिएर आउँछन्,यो समस्या सिजनल फ्लु र मौसम परिवर्तन कै कारण हो।’
धादिङ अस्पताल आइपुग्ने बिरामीहरु धेरैजसो अन्यत्र उपचारपछि मात्रै आउने गरेको पाइएको छ। अस्पताल जाँदा कोरोना सर्छ भन्ने त्रासले मेडिकलहरुबाट नै औषधि किनेर खाने र अवस्था जटिल भएर ल्याव टेस्ट नै गर्नुपर्ने भएपछि मात्रै अस्पताल आइपुग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘सामान्य अवस्था हुँदैमा अस्पताल नआउने र जटिल भइसकेपछि भर्ना नै भएर बस्नुपर्ने अवस्थामा अस्पताल आइपुग्ने गरेका छन्’ इमर्जेन्सी इन्चार्ज उप्रेतीले भने, ‘यसले बिरामीको स्वास्थ्य झन बिग्रिने खतरा हुन्छ।’
कोरोना संक्रमणको त्रासले नै गर्दा ज्वरो र भाइरल फ्लुका बिरामी मेडिकलहरुमा नै उपचार गराएर फर्किने गरेको पाइएको छ। सदरमुकामका मेडिकलहरुमा पनि दैनिक १० जना भन्दा बढी बिरामी आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। सामान्य ज्वरो हो सिटामोल खाएरै निको हुन्छ भन्दै घरमा बस्न नहुने स्वास्थ्यकर्मीहरुको भनाई छ। फिवर क्लीनिकमा चेक गर्न आइपुगेका अधिकांश बिरामी कोरोना शंकास्पद लक्षण देखिएर मात्रै आइपुग्ने गरेको अस्पतालका सुचना अधिकारी विक्रम बिकले बताए।
प्रकाशित: २७ श्रावण २०७८ १२:१५ बुधबार