१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

चीनले थप १६ लाख डोज खोप अनुदान दिने

चीनले नेपालका लागि कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा यस्तो जानकारी दिएकी हुन्। चिनियाँ प्रधानमन्त्री ली कछ्याङले नेपालका लागि थप खोप अनुदानमा दिने निर्णय गरेको उनले जानकारी दिएकी हुन्। 

भेटका क्रममा खोपसहित दुई देशबीचको अन्य सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। थप १६ लाखसहित चीनले नेपालमा अनुदानका रूपमा मात्र ३४ लाख डोज खोप दिनेछ। हालसम्म मित्रराष्ट्रका रूपमा सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराउने राष्ट्रमा चीन हुनेछ । 

अनुदान दिने र खरिद प्रक्रियाबाट बढी खोप दिने राष्ट्रमा पनि चीन नै हुने स्थिति रहेको अहिलेसम्मको खोपको तथ्यांकले औंल्याएको छ। यसअघि अनुदानका रूपमा भारतले ११ लाख खोप अनुदानस्वरूप दिएको थियो। दुई देशबाट गरी नेपाललाई ४५ लाख डोज अनुदानमा आइसकेको छ। चीनले थप अनुदान खोप दिनुको पछि खोपको व्यापारिक सम्बन्ध बढाउने नीति हुन सक्ने खोप विज्ञहरूको अनुमान छ।

चीनले नयाँ सरकारसँगको छिमेकी सम्बन्ध बढाउन पनि खोप दिएको हुन सक्ने राष्ट्रिय इपिडिमोलोजी महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन्। ‘पूर्वसरकारसँग चिसिएका सम्बन्धलाई पुनस्र्थापित गर्न पनि हुन पनि सक्छ,’ मरासिनीले भने। ‘खोपको व्यापार नीतिस्वरूप पनि अनुदानमा खोप दिएको हुन सक्छ,’ कोभिड–१९ विरुद्धको खोप सल्लाहार समितिका संयोजक डा. श्यामराज उपे्रतीले भने।  

छिट्टै उपलब्ध हुने खोपमा चीनबाट अनुदानमा आउने १० लाख, खरिद प्रक्रियाबाट ४२ लाख र जापानबाट आउने १६ लाख र भारतबाट खरिद प्रक्रियाबाट आउने थप १० लाख खोपसहित ६८ लाख डोज खोप हुनेछ। यसअघि नै अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत आएको १६ लाख खोपसहित ५० लाख जनसंख्याले खोप पाउनेछन्।

 गत साता चीनबाट ल्याइएको ८ लाख खोपसहित ५४ लाख जनसंख्याले एक महिनाभित्रमा खोप पाउने स्थिति देखिएको छ। योसहित ७७ लाख २० हजार ८ सय १३ जनाले कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाइसक्नेछन्। त्यसैगरी थप खोप अमेरिकाको मोर्डना र फाइजर कम्पनीको खोप खरिद गर्ने प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि बढाइरहेको मन्त्रालय स्रोतले जनाएको छ।  

संक्रमणदर २० प्रतिशत  

शुक्रबार नेपालमा कोरोना संक्रमणदर २० प्रतिशत रहेको छ। परीक्षण भएका १४ लाख १ सय ८२ नमुनामध्येमा २ हजार ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा तीन सातादेखि कोरोना संक्रमणदर औसत २० प्रतिशत दरमा पाइएको छ। थप संक्रमितसहित नेपालमा ७ लाख १२ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। तीमध्येमा कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा ४ लाख ४९ हजार ७ सय ९२ जनामा संक्रमण भइसकेको छ।

शुक्रबार कोरोनाबाट ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्येमा केही संख्या अन्य दिनका मृतकमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। थप मृतकसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ जना पुगेका छन्। तीमध्ये ६ हजार २ सय ३५ जनाको दोस्रो लहरभित्रै मृत्यु भएको हो। शुक्रबार काठमाडौ उपत्यकामा थप ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: २ श्रावण २०७८ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App