२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भेरोसेल खोप अभियानमा व्यापक दुरुपयोग

सरकारले काठमाडौं उपत्यकामा गरेको कोभिड १९ बिरुद्धको भेरोसेल खोप अभियानमा व्यापक दुरुपयोग भएको पाइएको छ। मंगलवारदेखि सुरु भएको सो अभियानमा लक्षित उमेर समुह र पेशागत समुह भन्दा बाहिरका व्यक्तिहरुले समेत खोप लिएका छन्। बुधवार काठमाडौ बौद्धका ४० वर्षीया र ३५ वर्षीया दुई महिलाले टेकु अस्पताल खोप कन्द्र पुगेर खोप लिएको बताए। उनीहरु दुवै ५४ वर्ष मुनिका र पेशागत हिसावले जोखिम समुहका हैनन्। उनीहरुले आफ्नो मान्छेको भनसुनमा खोप लिन सफल भएको बताए।  

बिहिवार कामठाडौको सिभिल अस्पताल खोप केन्द्रमा थुपै्र खोप अभियानका समुह बाहिरका भेटिए। दुई युवती र दुई युवकले बिहान कसैलाई कुपन लिन पठाएपछि दिउँसो मात्र खोप लिन आएको बताए। अस्पताल केन्द्रले खोप लिन आउनेलाई कुपन दिएर पठाएको थियो। खोप लिएका दुई बिद्यार्थी युवतीले सवैले लिइरहेको हुनाले आफु पनि खोप लिन आएको बताए। ‘म पेशाले विद्यार्थी हुँ, मेरो परिवारमा म मात्र खोप लगाउन बाँकी थिएँ’ उनले भनिन्। ‘ यहाँ खोप जसले पनि लगाउन पाइरहेका छन्, मेरो कुपन दाईले बिहान काटिदिनु भयो’ उनले भनिन्।  

अस्पतालका सुरक्षागार्डका अनुसार अस्पतालमा टोकन वितरण गर्ने काम प्रहरीले गर्छ। खोप केन्द्रहरुमा अनियमितता भएपछि थप सुरक्षाको जिम्मा प्रहरीलाई दिएको काठमाडौं महानगरपालिका स्वास्थ्य बिभागका प्रमुख हरि कुवंरले बताए। ‘हामीले खोप पुर्‍याउन मात्र समन्वय गर्ने हो, खोप केन्द्रहरुको व्यवस्थापन जिल्ला जनस्वास्थ्य कार्यालयले गर्छ’ उनले भने।  

शसस्त्र प्रहरी कोभिड अस्पताल खोप केन्द्रमा व्यापक अनिमितता भएपछि बिहिवार केन्द्रमा थप प्रहरी परिचालन गरेको काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत बद्री बहादुर खड्गाले बताए। खोपमा दुरुपयोग भएपछि पाँच दिनसम्म चल्ने भनिएको अभियान शुक्रवार नै एक दिन अघि नै सकिने भएको बताए। लक्षित समुह बाहिरको समुहले खोप लिंदा लक्षित व्यक्तिले नपाइ अरुले पाउने स्थिति रहेको खड्गाको भनाइ छ। अपुग रहेका लक्षित समुहलाई अर्को पटक खोप उपलब्ध गराउने खड्गाले बताए।  

खोप अभियानका सवै केन्द्रहरुमा अनुगमन सम्भव नभएकोले खोप अभियानमा केही दुरुपयोग हुन सक्ने भक्तपुर जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारले बताए। भक्तपुरमा पनि पाँच दिनको लागि छुट्टयाएको खोप अभियान चार दिनमै सकिएको मिजारले जानकारी दिए। खोप अभियान अनुसार सार्वजनिक यातायातका चालक, सह–चालक,स्कल र विश्वबिद्यालयका शिक्षक, ५४ बर्ष माथिका उमेर समुह, सफाइ कर्मचारी, अतिआवश्यक सेवामा खटिने कर्मचारी लगायत छन्।

संक्रमण २० प्रतिशत

गत चौविस घण्टामा नेपालमा कोरोना संक्रमणदर २० प्रतिशत रहेको छ। परीक्षण भएका १२ हजार ७ सय ६३ वटा नमूना मध्येमा २ हजार ६ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। थप संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ५९ हजार ४ सय ३७ जना पुगेका छन्। ती मध्येमा ४ लाख ४९ हजार ५ सय ३२ जना कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्।  

गत चौविस घण्टामा ३३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृतक हुनेमा केही दिन अघि मृत्यु भइ चौविस घण्टाभित्रमा नेपाली सेनाले रिपोर्ट संकलन गरेका मृतक सहित ३३ पुगेको मन्त्रालयले जनाएको छ। थप मृतक सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ९ हजार ४ सय ६३ जना पुगेका छन्। ती मध्येमा दोस्रो लहरको अवधिमा ६ हजार १ सय ९२ जनाको दोस्रो लहरको अवधिभित्र मृत्यु भएको हो। नेपालमा कोरोना संक्रमणदर दुइ सातादेखि करिव एउटै दरमा देखिएको छ।

प्रकाशित: १ श्रावण २०७८ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App