५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा भेरोसेलको दोस्रो मात्रा : खोप लगाउन २८ किलोमिटर यात्रा

खोप लगाउन भक्तपुरको दुवाकोट आएका अपाङ्गता भएका व्यक्तिलाई ट्याक्सीमा सेवा दिँदै स्वास्थ्यकर्मी

कोरोना विरुद्धको भरपर्दो अस्त्र नै खोप भएको बेला खोपप्रति सबैको आर्कषण बढेको छ।  कोभिड विरुद्धको खोप भेरोसेल खोपको दोस्रो डोज लगाउनेका लागि काठमाडौंदेखि भक्तपुरसम्म जानेहरुको संख्या बढ्दो छ। भक्तपुरमा २२ र २३ गते भेरोसिल लगाउने कार्यक्रम तय भएपछि काठमाडौंबाट भक्तपुर पुगी खोप लगाउनेहरु समेत बढेको स्वास्थ्य चौकीका प्रमुखहरुले बताएका छन्।

भक्तपुरको ताथलीस्थित हेल्थपोष्टका इन्चार्ज हरिनारायणप्रसाद साह मंगलबार चौकीमा सेवाग्राहीको चाप बढेको बताए। ‘खोप कार्ड लिएर आउनु भएको छ, नलगाई दिन भएन, सबै प्रमाण बोकेर आएका छन्।’ उनले भने।

उनले खोप अभियान चलिरहँदा बुधबारमात्र ६७ जना काठमाडौं ठेगाना भएका  सेवाग्राही भएको बताए। ‘किन भनेर पनि सोधेँ, त्यो क्रममा उहाँहरुले काठमाडौंमा धेरै भीड छ, त्यहाँ बस्दा पालो नआउने भएपछि आएको बताए।’ इन्चार्ज साहले भने।

इन्चार्ज साहले खोपका लागि काठमाडौंदेखि भक्तपुरसँम्म आउनेहरुको संख्या बढेको बताए। ‘पहिला यस्तो थिएन, योपटक यस्तो भएको छ।’ उनले भने।

उनले खोपप्रति जनताको चासो बढेको र खोपले कोरोनाबाट सुरक्षित हुने भएपछि मानिसहरु जसरी भए पनि खोप लिन चाहिरहेको बताए। ‘जनता खोप चाहिरहेका छन्, तर सरकारले पुग्दो मात्रामा दिन सकेको छैन।’ उनले भने।उनीसँग सहमत छन्, चाँगुनारायण नगरपाकिा वडा नं. २ का वडा अध्यक्ष शिवहरि केसी पनि।  

उनले वडाबासीको माग अनुसार खोप नआउँदा विभिन्न व्यक्तिहरुको फोन आउने गरेको समेत बताए। खोपका लागि दबाब समेत आउने गरेको छ। ‘विभिन्न व्यक्तिहरुले फोन गरी खोप कहिले आउँछ भनी सोध्ने गरेका छन्।’ उनले भने।

यता भक्तपुरमा ७ हजार ५ सय ९९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।  

खोप अन्तर्गत मंगलबार भक्तपुर नगरपालिकाका का १ हजार २ सय २२,  चाँगुनारायण नगरपालिकाका  १ हजार २ सय २२, मध्यपुरथिमि नगरपालिकाका २ हजार ४ सय ५०, सूर्यविनायक नगरपालिकाका २ हजार ७ सय १ जनाले खोपको दोस्रो मात्रा लगाएका छन्। बुधबार पनि खोप लगाउनेको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ।

खोप लगाउनका लागि भक्तपुरका मात्र नभएर छिमेकी जिल्लाका ज्येष्ठ नागरिकहरु समेत आएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष केसीले वडास्थित स्वास्थ्य चौकीमा खोप केन्द्र रहेको बताउँदै खोप लगाउने कार्यलाई सहज रुपमा सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेको बताए।

प्रकाशित: २३ असार २०७८ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App