५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोभिड संक्रमितलाई राहत

कोभिड संक्रमितहरुको उद्दारका लागि जिल्लामा गठित ‘कोभिड दु्रत प्रतिकार्य समूह’ उदयपुरले संक्रमित परिवारलाई राहत उपलब्ध गराएको छ ।

बेलका नगरपालिका २ स्थित तपेश्वरीका होम आइसोलेसनमा रहेका प्रभावितहरुलाई समूहले राहत उपलब्ध गराएको हो।  

कोभिड संक्रमित भएर २ तपेश्वरी क्षेत्रका गरिव, अशक्त, दलित, जनजातिलगायत ३० घरधुरी प्रभावित परिवारलाई समूहले बुधबार राहत उपलब्ध गराएको हो। रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने पोषिलो खानेकुरा उनीहरुलाई उपलब्ध गराइएको समूहका संयोजक भरत खड्काले बताए। उनका अनुसार कोभिड संक्रमित परिवारका मान्छे सकेसम्म घरमै बस्ने वातावरण बनाउन पोषिलो खानेकुराहरु चना, मटर, सखर, चिउरा, आलुलगायत सामग्री बितरण गरिएको छ।  

समूहले त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीसँगको सहकार्यमा उक्त सामग्री उपलब्ध गराएको हो। आर्थिक अभावले पोषिलो खाद्य सामग्री खान नपाउँदा रोगसँग लड्ने क्षमता कमजोर हुने पाइएकाले नगरपालिका र वडासँगको समन्वयमा तपेश्वरी क्षेत्रका प्रभावितलाई राहत उपलब्ध गराइएको खड्काले बताए।

बुधबार समूहका १ नं. प्रदेश समिति संयोजक महेश्वरी राईलगायत जिल्ला समितिका पदाधिकारीले वडाध्यक्ष मिश्रीलाल चौधरीलाई राहत सामग्री प्रदान गरे।  

सामग्री बुझ्दै वडाध्यक्ष चौधरीले उपलब्ध सामग्री संक्रमित परिवारलाई वितरण गर्ने बताए। उनका अनुसार तपेश्वरीबासी स्थानीयलाई हालसम्म नगरपालिका र अन्य कुनै निकायबाट पनि राहत र स्वास्थ्य सामग्री पाएका थिएनन्।

प्रकाशित: १९ जेष्ठ २०७८ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App