२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गर्भवती महिलाले जितिन् संक्रमण, उपमेयरले दिइन् अण्डा र हर्लिक्स

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी गर्भवती महिलाले कोभिड–१९ को संक्रमण जितेकी छन्। सात महिनाकी गर्भवती २१ वर्षीय मनिषा कट्वालले कोभिड–१९ को संक्रमण भएको २० दिनपछि संक्रमण जितेकी हुन्। ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म १०६ जनालाई संक्रमण हुँदा गर्भवती कट्वाललाई पनि संक्रमण पुष्टि भएको थियो।

शनिबार स्वास्थ्यकर्मी लिएर घरैमा गरिएको एन्टिजेन परीक्षणका क्रममा संक्रमित गर्भवतीको रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताइन्।  

संक्रमण पुष्टि भएपछि चिन्ता मानिरहेकी गर्भवती महिलाको एन्टिजेन परीक्षण तथा भेटघाटका लागि उपमेयर राई स्वास्थ्यकर्मीसहित घरैमा पुगेकी थिइन्।

होम आइसोलेसनमा बसिरहेको अवस्थामा तेस्रोपल्ट जाँच गर्दा गर्भवती महिला संक्रमणमुक्त बनेकी हुन्। पहिलोचोटी एन्टिजेन परीक्षण र दोस्रोपल्ट पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो। तेस्रोपल्टको एन्टिजेन परीक्षणका क्रममा उपमेयर राईले गर्भवती महिलालाई अण्डा, साबुन, हर्लिक्ससहित भेट गरेकी छन्।

उपमेयर राईले बडहरेका वडाध्यक्ष किशोर बस्नेतको उपस्थितिमा गर्भवतीलाई व्यक्तिगत खर्चमा दुई क्यारेट अण्डा, दुईवटा नुहाउने साबुन र एकवटा हर्लिक्स प्रदान गरेकी छन्। ‘दुई पल्टसम्म चेक गर्दा पनि पोजिटिभ आएपछि गर्भवतीले पीर मानिरहेकी थिइन्। त्यही भएर स्वास्थ्यकर्मीसहित भेटघाटमा गएकी थिएँ,’ उपमेयर राईले भनिन्, ‘तेस्रोपल्ट चेक गर्दा नेगेटिभ रिपोर्ट आएको छ।’  

जन्मदिनमा स्वास्थ्यकर्मीलाई भाले  

आफ्नो जन्मदिनको अवसरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्वास्थ्यकर्मीलाई भाले प्रदान गरेका छन्। शनिबारको जन्मदिनको अवसर पारेर अध्यक्ष राईले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा दिनरात खटिरहेका स्वास्थ्यकर्मीलाई दुईवटा भाले प्रदान गरेका हुन्। उनले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा खटिरहेका स्वास्थ्यकर्मीलाई भाले उपलव्ध गराएका हुन्। 

प्रकाशित: १६ जेष्ठ २०७८ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App