सौतिक विश्वास
खोपको दुवै मात्रा लगाएको ३ सातापछि दिल्लीका एक विज्ञान पत्रकारलाई उच्च ज्वरो, घाँटी दुख्ने र शरीरमा विभिन्न खाले असुविधा हुन थाल्यो। २२ अप्रिलमा पल्लभ बागला नाम गरेका ती पत्रकारलाई कोरोना भाइरस पोजेटिभ देखियो। चार दिनपछि गरिएको छातीको एक्सरेले संक्रमणका कारण उनको फोक्सो सेतो भइसकेको देखायो।
लक्षण देखिएको ८ दिनसम्म पनि ज्वरो नघटेपछि उनलाई अस्पताल भर्ना गरियो। अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)का चिकित्सकले ५८ वर्षीय बागलाको रगत परीक्षण गरेर स्टेरवाइड औषधि दिए। मधुमेहका बिरामीसमेत रहेकाले उनको रगतमा सुगरको मात्रा ह्वात्तै बढ्यो। सौभाग्यवश उनको अक्सिजनको लेभल त्यति डरलाग्दो हिसाबले घटेन।
अस्पतालको ८ दिनको बसाइपछि घर फर्कनुअघि चिकित्सकले उनको फोक्सोको स्क्यान र समान उमेरका तर खोप नलगाएका अर्काे एक मधुमेह बिरामीको फोक्सोको स्क्यान देखाएर तुलना गर्न भने। ‘यी दुई स्क्यानमा फरक प्रस्ट थियो। चिकित्सकले मैले खोप नलगाएको भए मलाई सघन उपचार कक्ष अथवा भेन्टिलेटरमा उपचार गर्नुपर्ने स्थिति आउने बताए। समयमै खोपको दुवै मात्रा लगाएकाले मेरो जीवन सुरक्षित भयो,’ उनले भने।
भारतको कुल १ अर्ब ३० करोड जनसंख्यामध्ये ३ प्रतिशत जनसंख्याले मात्र खोपको दुवै मात्रा (डोज) लगाएका छन्। तर खोपका दुवै मात्रा लगाएको २ सातापछि पुनः संक्रमित हुनेको संख्या बढ्दो छ। यसरी पुनः संक्रमण हुनेमा अधिकांश चिकित्सक, नर्स र अस्पतालका कर्मचारी रहेका छन्। तर पत्रकार बागला एक अपवाद भएकाले वैज्ञानिकले उनको नाक तथा घाँटीबाट स्वाब लिएर भाइरसको आनुवांशिक कोड पत्ता लगाउन चाहे। यो अध्ययनको उद्देश्य भाइरसका नयाँ तथा संक्रामक प्रजातिविरुद्ध भारतमा हालसम्म लगाइएका दुई थरीका खोप प्रभावकारी छन् छैनन् पत्ता लगाउनु थियो।
अध्ययनले यी कोरोना खोप विवादरहित हिसाबले प्रभावकारी देखाएका छन्। खोपले संक्रमणलाई रोक्न सक्दैन तर संक्रमितलाई भाइरसका खतरनाक प्रजातिका कारण हुने गम्भीर बिरामी र मृत्युबाट बचाउँछ। खोप शतप्रतिशत पूर्ण हुँदैनन् र तीव्र रुपमा फैलिएको महामारीलाई रोक्न र पुनः संक्रमणबाट जोगाउन खोपले कठिन परिश्रम गर्नुपर्ने हुन्छ। अप्रिल २६ तारिखसम्म अमेरिकामा खोप लगाएका ९ करोड ५० लाखमध्ये ९ हजार ४५ लाई मात्र भाइरसले पुनः संक्रमण गरेको अमेरिकाको सेन्टर फर डिजेज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले जनाएको छ।
पुनः संक्रमित भएकामध्ये ८ सय ३५ जना अर्थात् ९ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको थियो भने १ सय ३२ जना अर्थात् १ प्रतिशतको मृत्यु पनि भएको थियो। यसैगरी अस्पताल भर्ना भएका १ तिहाइ बिरामी तथा मृत्यु भएका १५ प्रतिशतमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएको थिएन। तथ्यांकको अभावका कारण भारतमा ठोस हिसाबले यसै हो भन्न सकिने स्थिति छैन। तर स्वास्थ्यकर्मीमा पुनः संक्रमण देखिएको र केही मृत्युसमेत भएको रिपोर्ट सार्वजनिक भएका छन्। तर मृत्युको कारण संक्रमण भए÷नभएको अझै प्रस्ट छैन।
भारतको सरकारी तथ्यांकका अनुसार खोप लगाएका हरेक १० हजारमध्ये २ देखि ४ जनामा पुनः संक्रमण देखिएको छ। तर भाइरस परीक्षण भएका ३ महिनासम्म उनीहरूले खोप लगाएका थिए÷थिएनन् भन्ने सोधखोज नभएकाले तथ्यांक पूर्ण मानिएको छैन। अस्पतालका प्रमाण पनि मिश्रितखाले छन्। अमेरिकाको मायो क्लिनिकका प्राध्यापक डा. भिनसेन्ट राजकुमारले तामिलनाडुका २ प्रमुख अस्पतालमा गरेको सोधखोजले अत्यन्त थोरै स्वास्थ्यकर्मीलाई मात्र पुनः संक्रमण भएको देखिएको बताए। ‘जो संक्रमित भएका थिए, उनीहरू छिट्टै निको भए,’ डा. राजकुमारले बिबिसीलाई भने।
तर, अर्काेतिर दिल्लीको सबैभन्दा ठूलो लोकनायक जयप्रकाश नारायण अस्पतालका ६ प्रतिशत चिकित्सकलाई पुनः संक्रमण भएको छ। खोपको दुवै मात्रा लगाएका यी चिकित्सकमध्ये कसैलाई पनि अस्पताल भर्ना गर्नुनपरेको अस्पतालमा कार्यरत डा. फराह हुस्सेनले बताइन्। उनका अनुसार केही संक्रमित चिकित्सकका परिवारजनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो।
यसैगरी दिल्लीको अर्काे अस्पताल फोर्टिस सी–डकमा काम गर्ने १ सय १३ स्वास्थ्यकर्मीमध्ये १५ लाई दोस्रो खोप लगाएको २ सातापछि संक्रमण देखिएको थियो। यीमध्ये १४ जनामा सामान्य लक्षण थियो भने एकजनालाई अस्पतालमा भर्ना गर्नुपरेको थियो। ‘हामीले स्वास्थ्यकर्मीमा पुनः संक्रमणका प्रशस्त उदाहरण देखेका छौं तर अधिकांशमा सामान्य लक्षण देखिएको छ। खोपले गम्भीर बिरामी हुनबाट जोगाएको छ,’ मधुमेह रोगका विशेषज्ञ डा. अनुप मिश्र भन्छन्।
केरलामा भएको एक अध्ययनअन्तर्गत खोपको दुवै मात्रा लगाएका तर पुनः संक्रमण देखिएका ६ जनाको आनुवांशिक अध्ययन गरिएको थियो। दुई बिरामीमा शरीरको प्रतिरक्षा प्रणालीलाई छल्नसक्ने भेरियन्टले संक्रमण गरेको देखिए पनि यी दुवैजना गम्भीर हिसाबले बिरामी भएनन्। भारतको सामान्य जनसंख्यामा यस्तो पुनः संक्रमणको स्तर र खोपको प्रभावकारिताबारे थप अध्ययन हुन आवश्यक रहेको वैज्ञानिक ठान्छन्।
‘अधिकांशमा खोप लगाएपछि पनि संक्रमण हुन्छ भन्ने आशंका छ र यस्तो आशंकाले खोप लिन चाहनेलाई प्रभावित गरेको छ,’ भाइरसविज्ञ डा. सहिद जमिल भन्छन्। सबैभन्दा ठूलो चिन्ताको विषय के हो भने भारतमा खोपको अत्यन्त ढिलो गतिका कारण हर्ड इम्युनिटी हासिल हुने सम्भावना पनि अत्यन्त कमजोर छ। जनसंख्याको ठूलो तहले खोप लगाएमा अथवा संक्रमण व्यापक भएमा हर्ड इम्युनिटी हासिल हुने मानिन्छ। तर खोप लगाउन सर्वसाधारण अनिच्छुक रहेमा चुनौती झन् थपिने देखिएको छ। भारतमा देखिएको दोस्रो लहरले भाइरसलाई उत्परिवर्तन (म्युटेसन) मार्फत झन् खतरनाक बनाउन सक्ने वैज्ञानिक बताउँछन्। त्यसैले भविष्यमा आउनसक्ने लहर रोक्न पनि भारतको आनुवांशिक अध्ययन हुन जरुरी छ। (बिबिसी)
प्रकाशित: १ जेष्ठ २०७८ ०१:३२ शनिबार