८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हवाइ बेड लिफ्ट गरी बिएण्डसी ल्याइन थालियो बिरामी

१९ वैशाख २०७८ को दिन बिहान साढे ९ बजे तिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ का ३२ वर्षीय प्रेम हाङ्गामलाइ श्वासप्रश्वासको समस्याले अत्यधिक समस्यामा पार्‍यो। उनलाई हतार–हतार ताप्लेजुङ अस्पताल पुर्‍याउँदा अक्सिजनको मात्रा ३५ मा झरेको पाएपछि चिकित्सले थप तर शीघ्र उपचारको खाँचो महशुस गर्दै सुबिधा सम्पन्न अस्पताल लैजना सुझाए। 

काठमाडौं लैजान हेलिकोप्टरको प्रवन्ध गर्ने योजना बनेपनि त्यहाँ अक्सिजनसहितको उपचार प्रवन्ध नहुने भएपछि बिकल्पमा झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल रोजियो। स्थानीय होटल व्यवसायी सुरेश लिम्बूले चिनजानका आधारमा प्रेमका लागि बिएण्डसीमा उपचार प्रवन्धको सुनिश्चित गरे। हाङगामलाई उपचारका लागि झापातर्फ त लगियो तर, दुर्भाग्य उनले बाटैमा देहत्याग गरे। हाङ्गामको कोरोना परीक्षण नभएपनि उनमा देखिएको रोगको लक्षण कोभिड–१९ संग मिल्दोजुल्दो थियो। उनको मृत्युपछि श्रीमतिसहित उनका परिवारका अधिकाँश सदस्यको पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएपछि उनमा समेत कोरोना संक्रमण थियो भन्ने लगभग पुष्टी भएको छ। 

अक्सिजन र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिएण्डसीलाई रोज्ने हाङ्गाम एक उदाहरण मात्र हुन्। फुङ्लिङ नगरपालिका वडा नं ६ का शिवकुमार गुरुङलाइ पनि उपचारका लागि बिएण्डसी अस्पताल नै लगिएको थियो। गुरुङको पनि उपचारका क्रममा मृत्यु त भयो। तर,अक्सिजनसहितको उपचार सेवा पाउनका लागि भने बिरामीले अहिले बिएण्डसी अस्पताल रोजीरहेका छन्। अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार अहिले बिएण्डसीमा हवाइ बेड लिफ्ट गरी काठमाडाैंसहितका बिभिन्न सुगम जिल्लाबाट पनि उपचारका लागि ल्याउने गरिएको छ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारार्थ भर्ना भएका पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा भर्ना भएका हरि पौडेललाई हवाइ बेड लिफ्ट गरी बिएण्डसी अस्पतालमा भर्ना गरी उपचार भइरहेको गिरीले जानकारी दिए। 

गत १५ र २० वैशाखमा काठमाडौस्थित मनमोहन र ह्याम्स अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीलाई समेत थप उपचारका लागि हवाइ बेड लिफ्ट गरी बिएण्डसी अस्पताल ल्याइ उपचारका लागि भर्ना गरिएको गिरीले बताए। बिएण्डसी अस्पतालमा कार्यरत डाक्टर निराजन प्रसाँइका अनुसार भेन्लिटेरसहितको आइसियु सेवा नपाएका बिरामीलाई काठमाडौ, भैरहवा, दाङ, पर्सासहितका बिभिन्न सुगम क्षेत्रका अस्पतालबाट उपचारका लागि बिएण्डसी अस्पताल ल्याइने गरेको छ। अस्पतालले कोभिड संक्रमित र अन्य बिरामीलाइ उपचार गर्न अलग–अलग भेन्टिलेटरसहित आइसियु कक्षको ब्लग सञ्चालनमा ल्याएको समेत प्रसाँइले जानकारी दिए। 

कोभिडका बिरामीलाइ क्रिटिकल केयर र एनेस्थेसियाका बरिष्ठ चिकित्सक राजु श्रेष्ठ,फिजिसियनद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतको टिमले उपचार सेवा प्रदान गर्ने बिएण्डसीले जनाएको छ। प्रस्तावित बिएण्डसी कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाँइले उपचारको गम्भीर समस्या व्यहोरीरहेका कोरोना संक्रमित अन्तिम अवस्थामा पनि आएर पनि ज्यान बचाउन सफल भएको दावी गरे। ‘एकाध मान्छे अन्तिम अवस्थामा भइ सकेपछि मात्र उपचारको पहुँचमा ल्याउने गलत प्रवृतिका कारण बचाउन कठिन हुने बाहेक भेन्लिटेरसहितको आइसियु सेवाको अभावमा अहिले सम्म मान्छेले ज्यान गुमाउनु परेको छैन,’ प्रसाँइले भने। 

पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी गरी अहिले ९ सय शैया रहेको छ। यि दुबै अस्पतालको नेतृत्वकर्ता बिएण्डसी नै हो। अस्पतालमा अहिले दैनिक १ हजार ३ सयभन्दा बढी बिरामीले अन्तरंग तथा बहिरंग सेवा,३० देखि ४० जनाको जटिल प्रकृतिको शल्यक्रिया र ६० देखि ७० को संख्याका बिरामीले सिटी स्क्यान तथा ४० भन्दा बढीको दैनिक एमआरआइ सेवा प्रदना गरिरहेको अस्पतालले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App