१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा कोरोनाको छुट्टै युनिट

बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा छुट्टै युनिट गठन गरेको छ। प्रदेशस्तरमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी अस्पताल र जिल्ला अस्पतालका प्रमुख सदस्य रहेको उच्च स्तरीय समिति गठन गरिएको छ भने सबै अस्पतालहरुमा एक जना चिकित्सकको संयोजकत्वमा कोरोना युनिट तयार पारिएको छ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय÷सर्वपक्षीय निर्देशक समिति बनाइएको छ। ‘बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेकै संरचनाले प्रभावकारी काम गर्न नसक्ने देखिएकाले प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै युनिट तयार पारेका हौं,’ मुख्यमन्त्री शाहीले भने, ‘सहजीकरणका लागि मेरो संयोजकत्वको सबै राजनीतिक दल सदस्य रहेको निर्देशक समिति बनाइएको छ।’  

प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी असपताल र सबै जिल्ला अस्पतालमा रहेको कोरोना युनिटलाई आवश्यक जनशक्ति पदपूर्तिको अधिकार पनि दिइएको छ । कर्णालीमा स्वास्थ्यको २५ प्रतिशत जनशक्ति मात्रै छ। बाँकी जनशक्ति १५ दिनभित्र पदपूर्ति गर्न कोरोना युनिटहरुलाई निर्देशन दिइएको छ।  

प्रदेश सरकारले हालको मौजुदा जनशक्ति मध्ये ७५ प्रतिशतलाई कोरोना उपचार तथा रोकथाममा खटाउने निर्णय गरेको छ । बाँकी २५ प्रतिशत जनशक्तिले मात्रै नियमित स्वास्थ्यको काम गर्नेछ । मुख्यमन्त्री शाहीले प्रदेशस्तरमा गठन भएको उच्च स्तरीय समितिले कोरोना विरुद्धको योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम गर्नेछ भने अस्पतालहरुमा गठन भएको कोरोना युनिटले विरामीहरुको उपचार र आवश्यक जनशक्तिको पदपूर्ति गर्नेछ।  

यस्तै कर्णाली प्रदेश अस्पतालमा डिएसपीको कमाण्डमा सुरक्षा टोली खटाउने निर्णय पनि सरकारले गरेको छ । संक्रमित र उनीहरुका आफन्तको अत्याधिक भिड हुनुका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षा र कामको रेखदेख गर्नका लागि डिएसपीको कमाण्डमा प्रहरी टोली खटाउन लागिएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०७८ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App