९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कर्मचारी र सामग्रीको अभावमा कोभिड अस्पताल बन्द

रसुवाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा स्थापना भएको कोभिड अस्पताल । तस्बिर: नागरिक

रसुवाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा रहेकाे कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकाले गत वर्ष स्थापना गरेको ५ शैयाको कोभिड अस्पताल बन्द भएको हो ।  

स्वास्थ्यकर्मी र आवश्यक उपकरण नभएका कारण सञ्चालनमा आएको चार महिनापछि अस्पताल बन्द भएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । गाउँपालिकास्थित पारच्याङ स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाइएको थियो ।  

अस्पतालका लागि करिब ५ लाख बराबरको सामग्री खरिद गरिएको थियो । ‘सुरुमा स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गरेका थियौं’, उनले भने, ‘चार महिना काम गरेर स्टाफ नर्स जागिर छोडेरै अन्तै जानु भएपछि अस्पताल बन्द भयो ।’ २०७७ कार्तिक २ गतेदेखि यो अस्पताल सञ्चालनमा आएको थियो । यो फागुनसम्म सञ्चालन भयो ।  

अस्पताल बन्द हुनुको प्रमुख कारण हो एमबिबिएस डाक्टरको नहुनु । केन्द्र सरकारले डाक्टरको दरबन्दी पठाएको भएपनि अहिलेसम्म डाक्टर ल्याउन नसकिएको उनको भनाइ छ । सरकारले डाक्टरको दरबन्दी पठाएपछि तीन पटकसम्म विज्ञापन गर्दा पनि डाक्टर उपलब्ध भएनन् । ‘विज्ञापन गर्दा डाक्टर उपलब्ध भएनन् पछि हामीले मन्त्रालयमा चिठी लेख्यौँ, मन्त्रालयले विभागलाई भनेर जवाफ दियो ,’ प्रमुख पौडेलले  भने ।

त्यसपश्चात् विभागलाई चिठी पठाएको भएपनि हालसम्म डाक्टर उपलब्ध नगराएको उनले बताए । कोभिड अस्पतालका लागि चाहिने न्यूनतम पूर्वाधारका सामग्रीहरू छ । तर अक्सिजन लगायतका अत्यावश्यक सामग्री छैन । एमबिबिएस डाक्टर नभइकन अस्पताल व्यवस्थापन हुन नसक्ने भएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वास्थ्य शाखाले जनाएको छ । यहाँ अहिले ३० शैयाको क्वारेन्टिन मात्र छ । यहाँ कोरोनाका बिरामी देखिएमा जीवजीव ग्रामीण अस्पतालमा रिफर हुने गरेको छ ।  

कोरोनाको कारण एक जनाको मृत्यु

कोरोनाको कारण रसुवाको नौकुण्ड गाउँपालिका–५ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारको लागि हिजो नुवाकोटस्थित त्रिशूली अस्पतालमा पुगेका उनलाई इमरजेन्सी वार्डमा राखेर उपचार गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ । उनको स्वाब लिएर एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।  

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५० पुग्यो

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५० पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १६, कालिकामा २२, उत्तरगयामा ७, नौकुण्डमा १ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । कोरोना संक्रमितहरू २ जना संस्थागत र ४८ होम आइसोलेसनमा बसेका छन् ।  

जिल्लामा हालसम्म २ सय ३१ जनामा कोरोना पुष्टि भएको थियो । जसमा  १ सय ८४ जना निको भएका छन् । जिल्लामा हालसम्म १ हजार ८ सय ८० वटा स्वाब संकलन गरिएकोमा १ हजार ६ सय १७ नेगेटिभ र २ सय ३१ पोजेटिभ आएको थियो ।

प्रकाशित: २० वैशाख २०७८ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App