४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा रित्तिदै पिपिई मौज्दात

पिपिई सेट लगाएका भेरी अस्पतालका स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

कोरोना संक्रमितको उपचार र मृतकको शव ब्यवस्थापनमा प्रयोग गरिने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सेटको मौज्दात भेरी अस्पतालमा रित्तिदै गएको छ। अस्पतालका अनुसार अहिले दैनिक १ सयभन्दा बढी पिपिई खर्च भइरहेको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पिपिईको मौज्दात अस्पतालसँग निकै कम रहेको बताए।  

पिपिईको मौज्दात अब हप्ता जतिलाई पनि पुग्ने नरहेको अस्पताल प्रशासनले जनाएको छ। ‘बजेटकै समस्याले गर्दा पिपिईसहितको स्वास्थ्य सामाग्री किन्न अलि गाह्रो छ, माथि बजेट माग्दा तिमीहरु अहिले आफै खरिद गर, हामी पछि बजेट पठाउँछौं भनेर भन्छन्, हामीले आफै खरिद गर्ने अवस्था छैन,’ उनले भने।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले पिपिईको मौज्दात रित्तिदै गएकाले अब चाँडै समस्या आउन सक्ने बताए। ‘पिपिईको मौज्दात कम भएकाले नयाँ खरिद गर्ने विषयमा पनि छलफल चलेको छ,’ उनले भने। अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले पिपिईको मौज्दात रित्तिदै जाँदा यस विषयमा छलफल भइरहेको बताए। ‘अस्पताल विकास समितिसँग पर्याप्त बजेट हुन्थ्यो भने हामी आफै खरिद गथ्र्यौ, तर अहिले त्यो सम्भावना छैन,’ श्रेष्ठले भने।  

अस्पतालले अक्सिजन अभाव हुन नदिनका लागि भने आफ्नै ‘लिक्वीड’ अक्सिजन ट्यांक निर्माण गर्न लागेको छ। ‘लिक्वीड अक्सिजन ट्यांक एक हप्ताभित्रमा जडान गर्दैछौं, अक्सिजनमा अहिले दैनिक तीन लाख जति खर्च भइरहेको छ, लिक्वीड ट्यांक बनेपछि अस्पतालको दैनिक एक लाखमात्रै खर्च हुन्छ,’ अध्यक्ष धितालले भने। अस्पतालले अहिले अक्सिजनलाई प्रति सिलिण्डर ९ सय १५ रुपैयाँमा खरिद गरिरहेको छ। अस्पतालमा अचेल दैनिक २ सय ५० देखि ३ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०७८ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App