२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेढ अर्ब लागतमा बूढानीलकण्ठमा बाल अस्पताल बनाइने

स्वास्थ्य क्षेत्रमा जीवन अर्पण गरेका डा. भगवान कोइराला लगायतको एक समूहले काठमाडौंको बूढानीलकण्ठमा बाल अस्पताल निर्माण गर्ने भएको छ। अहिले काठमाडौंको जनघनत्व अनुसार बालबालिकाका लागि उपचार गर्न सबै सुविधा भएका अस्पताल छैनन्। धेरै वर्षअघि स्थापना भएको कान्ति बाल अस्पतालले सक्दो सेवा दिइरहे पनि चाप धेरै भएकाले सबैले सेवा पाउन सकेका छैनन्। अर्कोतिर यहाँ समय सुहाउँदो अत्याधुनिक सेवा र सुविधा पनि छैनन्। यस्तो बेला बूढानीलकण्ठमा सामुदायिक अस्पतालको ढाँचामा सबै सुविधासहितको बाल अस्पताल बनाउन लागिएको हो।

करिब तीन वर्षअघि स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक संस्थाले बाल अस्पताल निर्माण गर्न काम गालेको छ। दुई सय बेडको अस्पताल निर्माण गर्न करिब डेढ अर्ब रूपैयाँ लाग्ने अनुमान संस्थाले गरेको छ। संस्थाले विभिन्न संघ–संस्थाबाट अनुदान सहयोग लिएर भवन बनाउने र आवश्यक उपकरण खरिद गर्ने नीति अघि सारेको छ।

राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा अस्पताल बनाउन सक्रिय डा. कोइरालाले सरकारसँग करिब ४१ रोपनी जग्गा भाडामा लिएर दुई सय बेड क्षमताको बाल अस्पताल बनाउन लागेको जानकारी दिए। अस्पताल तीन चरणमा बनाइने छ। यो वर्षदेखि भवन निर्माण सुरु गर्ने योजना छ। ‘मुलुकको कुल जनसंख्यामा करिब ४० प्रतिशत बालबालिका छन्, तर तिनको उपचारका लागि सबै सुविधा भएका अस्पतालको अभाव छ,’ डा. कोइरालाले भने, ‘यही अभाव चिर्न अस्पताल बनाउन लागेका हौं।’

कोइरालाले अहिलेसम्म विभिन्न संघ–संस्थाले ११ करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्यसमध्ये दुई करोडभन्दा बढी सहयोग आइसकेको जानकारी दिए। सरकारले बैंक तथा वित्तीय संस्था र कम्पनीहरूलाई नाफाको एक प्रतिशत रकम सिएसआरमा खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। यही सिएसआर अन्तर्गतको सहयोग आफूहरूले पाउनेमा कोइरालाको समूह आशावादी छ।

‘क वर्गका वाणिज्य बैंकहरूले मात्र वार्षिक ६० करोड रूपैयाँ सिएसआरमा खर्च गर्नुपर्ने देखिन्छ,’ कोइरालाले भने, ‘यसको केही अंश अस्पतालले पाउनेमा हामी आशावादी छौं।’ यो गैरनाफामूलक र पवित्र उद्देश्य बोकेर स्थापना भएको संस्था भएकाले सबैको सहयोग पाउनेमा आशावादी भएको उनले बताए। डा. कोइरालाले बालबालिकाका लागि विशेषज्ञसहितको अस्पताल बनाउने जस्तो पवित्र उद्देश्य राखेर काम गर्दा कतै कतैबाट अवरोध खडा गर्न खोजिएको जानकारी दिए।

स्पष्ट पार्न माग

नेपालको औद्योगिक संस्था सूर्य नेपालले बाल अस्पतालका लागि पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। सूर्य नेपालले सिएसआर अन्तर्गत अस्पताललाई सहयोग गर्न चाहेकामा स्वास्थसम्बन्धी एक नियमावली भने बाधक बनेको छ। स्वास्थ्य मन्त्रालयले बनाएको एउटा नियमावलीमा चुरोट खैनी जस्ता वस्तु उत्पादन गर्ने कम्पनीबाट स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ–संस्थाले कुनै पनि सहयोग लिन नपाउने व्यवस्था गरिएको छ।

सूर्य नेपालका उपाध्यक्ष (कर्पोरेट ) रवि केसीले अस्पताल जस्तो पवित्र संस्थामा सहयोग गर्न पनि अवरोध हुनु राम्रो नभएको भन्दै सरकारी निकायलाई यसका बारेमा तत्काल स्पष्ट पार्न आग्रह गरे। ‘सरकार आफैंले नाफाको एक प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर भन्छ,’ केसीले भने, ‘तर अस्पताल जस्तो संस्थामा सहयोग गर्छौं भन्दा विभिन्न नियम कानुन देखाइन्छ। सरकारी निकायले यसलाई तत्काल स्पष्ट पारोस् भन्ने हाम्रो माग छ।’

केसीले सहयोग गरे पनि अस्पताल परिसरमा आफ्नो कम्पनीले उत्पादन गर्ने कुनै पनि वस्तुको प्रचारप्रसार नरहने स्पष्ट पारे। उनले कम्पनीले अहिलेसम्म सिएसआर अन्तर्गत शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी दिए। कोभिडका बेला पनि यो कम्पनीले केन्द्रीय र प्रदेश सरकारलाई सहयोग गरेको थियो।

सूर्य नेपालका प्रबन्ध निर्देशक अभिमन्यू पोद्दारले पनि बालबालिकाका लागि अस्पताल बनाउने राम्रो काम देखेकै कारण कम्पनीले सहयोग गर्न खोजेको बताए। उनले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी दिए। उनका अनुसार गत वर्ष देखिएको कोभिडपछि मात्र कम्पनीले ७० मिलियनभन्दा बढी सहयोग गरेको छ।

प्रकाशित: १२ वैशाख २०७८ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App