६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

इलाम अस्पतालमा बिरामीले पाएनन् एक्स–रे सेवा

इलाम अस्पताल । तस्बिर : भीम/नागरिक

प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्य बिरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका हुन् ।  

५० शड्ढयाको अस्पतालमा एउटामात्रै एक्स–रे मेसिन थियो । अस्पताल परिपरिका निजी क्लिनिकहरूमा समेत एक्स–रे सेवा नभएपनि बिरामी यो सुविधाबाट बञ्चित भएका हुन् । गर्मी महिना सुरु हुँदै गर्दा अस्पतालमा रुघाखोकी, ज्वरो, छाती दुख्ने, हाडजोर्नी, मांसपेशी दुखेर अस्पताल आउने बिरामीको संख्या अधिक छ । प्रायः छाती दुखेका र अन्य बिरामीलाई समेत एक्स–रे सेवा लिनु अनिवार्य हुन्छ । तर, सदरमुकामकै सरकारी अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामीले कि केही टाढाका निजी अस्पताल पुग्नुपरेको छ, कि अन्य जिल्लाका अस्पताल ।  

सिकिस्त बिरामी भएकी छोरी लिएर अस्पताल आएका माइजोगमाईं गाउँपालिकाका एक सेवाग्राहीलाई स्वास्थ्यकर्मीले बिरामीको छातीको एक्स–रे गर्न सुझाए । तर, एक्स–रे सुविधा न अस्पतालमा थियो, न नजिकैका क्लिनिकहरूमै । ‘सरकारले पैसा लिएर स्वास्थ्य बिमा गराएको छ तर अस्पतालमा एक्स–रेसम्मको सुविधा लिन पनि महँगो शुल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता रहेछ,’ ती सेवाग्राहीले भने, ‘सिकिस्त छोरीको छात्तीको एक्स–रे गराउन तत्काल अर्काे निजी अस्पताल धाउनुपर्‍यो ।’  

इलाम अस्पतालको ओपिडीमा दिनहुँ २ सयभन्दा बढी बिरामी स्वास्थ्य जाँच गराउन आउँछन् । तीमध्ये ६० देखि ९० बिरामीको कुनै न कुनै एक्स–रे गर्नुपर्ने हुनेगरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताउँछन् । अहिले अस्पतालसँगै जोडिएका क्लिनिकमा समेत एक्स–रे सुविधा नपाउँदा यहाँका केही बिरामी सिङफ्रिङस्थित एपोलो अस्पताल पुग्न बाध्य छन् । एपोलो अस्पतालमा पनि एक्स–रे गराउनमात्रै दिनमा १० हाराहारीका बिरामी आइरहेको अस्पतालले जनाएको छ । तर, इलाम अस्पतालबाट दिनहुँ एक्स–रे गराउनुपर्ने समस्याका अरू ठूलो संख्याका बिरामी कि एक्स–रे नै नगराइ फर्किन्छन्, कि जिल्लाबाहिरका अस्पताल पुग्न बाध्य छन् ।  

व्यवस्थापक खतिवडाले एक्स–रे मेसिन बिग्रेर मर्मतकै लागि आफू काठमाडौंमा रहेको बताए । ‘अब मेसिन मर्मत गरेर इलामको गाडीमा हालिसकेको छु,’ उनले बुधबार भने, ‘ढिलोमा पनि आउँदो आइबारदेखि अस्पतालमा एक्स–रे सेवा चालू हुन्छ ।’ उनले अस्पतालमा एउटैमात्र एक्स–रे मेसिन भएकाले बिग्रिएका बेला बिरामीलाई समस्या पर्ने गरेको बताए ।  

इलाम अस्पतालमा केही समययता भिडियो एक्स–रे सुविधा पनि छैन । भएको मेसिन बिगिएकाले यो सुविधा अहिले नभएको अस्पतालका सूचना अधिकारी कुलप्रसाद देवानले बताए । ‘भएको मेसिनले काम नगरेकाले भिडियो एक्स–रे सुविधा अहिले नभएको हो,’ उनले भने, ‘नयाँ मेसिन आइसकेको छ, जडान गरेर सञ्चालन भएपछि सेवा सुरु हुन्छ ।’

प्रकाशित: २७ फाल्गुन २०७७ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App