६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश २ मा एक लाख ८० हजारलाई कोभिड–१९ विरुद्धको खोप

भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोपमध्ये ३४ हजार खोप प्रदेश २ का लागि आइपुगेको छ।  

प्रदेश २ मा खोप भण्डारण केन्द्र तयार नहुँदा विराटनगर र हेटौडाको खोप भण्डारण केन्द्रमा यस प्रदेशका लागि आएको खोप पनि भण्डारण गरिएको छ। यसै केन्द्रबाट मंगलबार प्याकेट बनाएर जिल्ला–जिल्लामा खोप पुर्‍याउन थालिएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार केन्द्रबाट आइतबार प्रादेशिक भण्डारण केन्द्रमा आइपुगेको खोप मंगलबार प्रदेशको आठवटै जिल्लामा पुगिसक्नेछ।

बुद्यबार मुख्य मन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री नवलकिशोर साह र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवबाट एकैसाथ खोपको सुरुवात गरिने निर्देशक झाले बताए।  

मुख्यमन्त्री राउतले वीरगन्जस्थित नारायणी अस्पतालबाट, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशीक अस्पताल जनकपुरबाट र सामाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट खोपको सुरुवात गर्ने प्रदेश सरकारको तयारी छ। मंगलबार दिउँसोसम्म आठवटै जिल्ला स्वास्थ्य कार्यालयको कोल्ड रुमसम्म खोपको प्याकेट पुगीसक्छ झाले भने,‘बुद्यबार विहानदेखि सबै जिल्लाको जिल्ला अस्पतालको बुथबाट खोप दिने कार्य सुरुवात हुन्छ।’  

२ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिँदैछ। पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत विवरणअनुसारको मात्रा भिन्दाभिन्दै प्याकेट बनाई हरेक जिल्लामा पठाइदैछ । केही खोप खेर जाने आकलनसहित प्रत्येक प्याकेटमा करिब १० प्रतिशत मात्रा बढी राखिएको छ।  

‘बढीमा १० दिनभित्र अग्रपंक्तिमा खटिनेहरूलाई कोभिसिल्ड खोप लगाइसकिनेछ ,’ झाले भने। पहिलो चरणमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्नलाई खोप दिने योजना छ।  

बुधबारदेखि यस प्रदेशका ३४ हजार जनालाई खोप लगाइदैछ झाले भने,‘खोप लगाउनेहरुको तथ्यांक आवधिक गर्ने काम पनि तीव्र गतिमा हुँदैछ।’ यस प्रदेशका आठवटै जिल्लाका जिल्ला अस्पतालहरुमा खोप बुथ बनाइएको छ। यही ८ वटा बुथबाट खोप अभियान संचालन हुँदैछ।

प्रदेश २ का आठ जिल्ला मध्ये पूर्वी जिल्ला सप्तरी र सिरहाका लागि विराटनगरमा तथा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका लागि हेटौंडामा खोप भण्डारण केन्द्रमा खोप राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयहरुमा पहिलादेखि नै अन्य खोपहरुलाई भण्डारण गर्न तयार पारिएको कोल्ड रुमलाई कोभिसिल्ड खोप भण्डारण गर्न तयार गरिएको छ। आठवटै जिल्लाका कोल्ड रुमहरु तयार छन्। रेफ्रिजेरेटर, फ्रिज सबै तयार अवस्थामा राखिएको छ। पहिलो चरणको खोपका लागि कुनै समस्या छैन झाले भने,‘आकस्मिक भण्डारणका लागि पथलैया एयर हाउसलाई समेत तयारी अवस्थामा राखिएको छ।’  

निर्देशनालयकाअनुसार यस प्रदेशका लागि आएको ३४ हजार ८ सय ४ खोपलाई आठै जिल्लामा पठाइने तयारी गरेको छ। सप्तरीका लागि ३ हजार ७ सय ५४, सिरहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२, महोत्तरीका लागि २ हजार १ सय ९१ खोप पठाइएको झाले बताए।

यस्तै, सर्लाहीका ४ हजार ७ सय ७२, रौतहटमा ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५ र पर्साका लागि ४ हजार ९ सय ७१ जनाका लागि खोप उपलब्ध गराइएको झाले बताए।

इन्फोरमेसन म्यानेजमेन्ट सिस्टमबाट तथ्यांक आवधिक हुँदैछ उनले भने,‘तथ्यांक आवधिक भएपछि संख्या बढ्न सक्छ।’ यस प्रदेशको प्रक्षेपित जनसंख्या ६० लाख छ। यो जनसंख्याको तीन प्रतिशतलाई खोप लगाउने प्रदेशको योजना छ। जसअनुसार कूल एक लाख ८० हजार लक्षित व्यतिmलाई खोप दिने प्रदेश सरकारको योजना छ। झाले भने,‘अहिलेसम्म ३७ हजार बढी खोप लिने लक्षित व्यतिmको तथ्यांक आवधिक भैसकेको छ, अझै हुँदैछ।’

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार नियमित खोप कार्याक्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई नै कोभिड–१९ विरुद्धको खोप अभियानमा पनि परिचालन गरिएको छ। खोप चिकित्सकको निगरानीमा लगाइने उनले बताए।  

खोप कार्यक्रमका लागि प्रदेशका प्रमुख सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ। खोप शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कमका व्यक्तिलाई लगाइँदैन।

प्रकाशित: १३ माघ २०७७ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App