अन्य रोगको हकमा लाभदायी मानिएको इन्भ्यासिभ भेन्टिलेटर कोरोनाका बिरामीको हकमा भने लाभदायी हुन नसकेको कोरोना उपचारमा संलग्न चिकित्सकले बताएका छन्। इन्भ्यासिभ भेन्टिलेटर सिकिस्त बिरामीको फोक्सोमा पाइप जोडेर उपचार गर्ने गरिन्छ। हुड वायो प्याप भेन्टिलेटर पनि प्रयोग हुने गर्छ।
त्रिवि शिक्षण अस्पताल कोभिड १९ सम्पर्क चिकित्सक डा. सवीन थपलियाका अनुसार भेन्टिलेटरमा उपचार गरिएका ५ जनामध्ये १ जना मात्र निको हुने गरेको देखिन्छ। केही समयअघि साताभरि नै भेन्टिलेटरमा उपचार गरिएका एकजना पनि निको भएनन्,’ उनले भने। डा. थपलिया भन्छन्, ‘भेन्टिलेटरमा पुगेका कोभिडका बिरामीको ८० प्रतिशत मृत्यु दर छ।’
वीर अस्पतालका अनुसार हालसम्म भेन्टिलेटरमा ६३ जना कोरोना संक्रमितको उपचार आइसियुमा गरिएको छ। तीमध्ये २५ जनाको मृत्यु भएको छ। भेन्टिलेटरमा राखिएका १६ जनामध्ये कात्तिक महिनासम्ममा १ जना मात्र निको हुन सफल भएका छन्। १४ जनालाई इन्भ्यासिभमा र ९ जनालाई ननभ्यासिभ भेन्टिलेटरमा राखिएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म ३ जनाको इन्भ्यासिभ भेन्टिलेटरमा उपचार भइसकेको छ। इन्भ्यासिभ भेन्टिलेटरमा राखिएका कोरोनाका बिरामीको हकमा उपयोगी सावित हुन नसकेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन्। ‘नन्भ्यासिभको तुलनामा इन्भ्यासिभमा राम्रो परिणाम राम्रो आउन सकेको छैन,’ उनले भने।
पाटन अस्पतालका कोभिड १९ उपचार संयोजक डा. बिमल पाण्डेको अनुभवमा पनि भेन्टिलेटरमा पुगेका कोरोना संक्रमित निको हुने दर अत्यन्त कम छ। ‘इनभ्यासिभ भेन्टिलेटरको निको हुने दर औसतमा ५ देखि १० प्रतिशत मात्र रहेको बताउँछन्।
भेन्टिलेटरसम्म पुग्ने कोरोना संक्रमितको भाइरसले तीव्र रुपमा फोक्सो नष्ट गरिसकेको हुने कारण उनीहरुलाई भेन्टिलेटरको सहयोगले लाभ मिल्दैन।
बीर स्पतालका कोभिड उपचार फोकल पर्सन डा. अच्युत कार्कीका अनुसार कोेरोना संक्रमितको तुलनामा अन्य रोगका बिरामी बढी निको हुन्छन्। भेन्टिलेटरसम्म पुग्ने कोरोना संक्रमितको भाइरसले तीव्र रुपमा फोक्सो नष्ट गरिसकेको हुने कारण उनीहरुलाई भेन्टिलेटरको सहयोगले लाभ मिल्दैन। ‘कोरोना भाइरसले ७÷८ दिनमै फोक्सो नष्ट गर्छ,’ उनले भने। कोरोना तर युवाको हकमा भने औषधि र ननइन्भ्यासिभ भेन्टिलेटरले लाभ मिलेको देखिन्छ। यो अस्पतालमा अहिलेसम्म ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड १९ संयोजक डा. बिमल पाण्डेको अुनभवमा पनि इन्भेसिभ भेन्टिलेटरमा पुगेका बिरामी निको भएको पाउनै मुस्किल छ। त्यसमा पनि वृद्धा तथा दीर्घरोगी छन् भने निको नै हुँदैनन्। तर युवाहर र अन्य रोग नभएकाहरुको हकमा हुडबायोप्याप र नन्भ्यासिभ भेन्टिलेटरमा लाभ मिलेको देखिन्छ। ननभ्यासिभमा बिरामीले श्वास तान्न सक्ने अवस्थामा प्रयोग हुने भएकोले यसको परिणाम पनि बढी देखिएको उनको भनाइ छ।
चिकित्सकका अनुसार बे्रन स्ट्रोक तथा अन्य दुर्घटना, अन्य रोगको निमोनियाको हकमा इन्भ्यासिभ भेन्टिलेटरको प्रयोग भएमा निको हुने सम्भावना बढी हुन्छ। त्रिवि शिक्षण अस्पतालका कोभिड १९ उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार अन्य रोग लागेर भेन्टिलेटर राखिएकामध्ये ६० प्रतिशत निको हुने गर्छन् भने कोरोना संक्रमितहरु १५ देखि २० प्रतिशत मात्र निको हुने सम्भावना रहन्छ।
अन्तर्राष्ट्रियस्तरमा कोरोनाका बिरामीको हकमा इन्भ्यासिभ भेन्टिलेटरमा अन्त्यन्तै कम निको हुने गरेको पाइएको छ। गत अक्टोबरमा युरोपबाट प्रकाशित ‘दि ल्यानसेट’ जर्नलमा प्रकोपको पहिलो महिना अप्रिलमा ५ सय ५३ जनामा गरिएको अध्ययनअनुसार २८ दिनभित्रमा भेन्टिलेटरमा राखिएका ५ सय ३० जनाको मृत्यु भएको थियो भने भेन्टिलेटर बाहिर रहेका १ सय ८६ जनाको मात्र मृत्यु भएको थियो।
ननभ्यासिभ भेन्टिलेटर कोरोनाका बिरामीको लागि लाभदायी भएपछि पाटन अस्पतालले वायोप्याप र हुडबायोप्याप भेन्टिलेटर प्रयोग गर्ने गरेको डा. पाण्डेले जानकारी दिए। सुरुमा २० वटा विदेशबाट लिएका यस्ता हुड कोभिडका बिरामीमा प्रयोग भएको थियो। यी सामाग्री छिटो फुट्ने समस्या देखिएकोले बिरामीलाई प्रयोग गर्न महँगो पर्ने देखिन्छ।
समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका युवा वैज्ञानिकहरुको सहयोगमा कोभिड उपचारमा आवश्यक पिपिई तथा अन्य सामग्री उत्पादन गरी विभिन्न अस्पताललाई वितरण गरेका छन्। सोही क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिषठन, टिचिङ, वीर, पाटन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी उपक्षेत्रीय अस्पताल, धुलिखेल, गंगालाललगायत दर्जनांै अस्पताललाई आवश्यकताअनुसार वितरण भइसकेको छ। पुनले हुडसहित पुनले १३ वटा आवश्यक सामग्री उत्पादन गरी वितरण गरेका हुन्।
प्रकाशित: ८ मंसिर २०७७ ०१:३३ सोमबार