२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अस्पताल खोटाङको नियमित सेवा सुचारु

खोटाङ रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु भएको छ । गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पुर्याइएकी १६ वर्षीया बालिकालाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परीक्षणकाक्रममा आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरेको अस्पतालले बिहिबारदेखि नियमित सेवा सुचारु गरेको हो । 

बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको नियमित सेवा सुचारु गराइएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताए ।  

बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर परीक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकोमा बिहिबार नेगेटिभ रिपोर्ट आएको हो । भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी बालिकाको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो । 

जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि बाम्राङलाई बुधबारदेखि ‘सिल’ गरिएको छ । संक्रमित बालिकाको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको पिसिआर परीक्षणका लागि बुधबार नमूना संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि वडालाई ‘सिल’ गर्ने निर्णय गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए ।  

हालसम्म जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पुष्टि भएको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । यस्तै, बिराटनगरबाट सरुवा भएर आएका ७ जना प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित: ११ भाद्र २०७७ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App