काभ्रेको धुलिखेल नगरपालिकाका एक हजार जनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ । नगरपालिकाका झन्डै २४ सङ्क्रमितसँगको सम्पर्कमा रहेका हजार व्यक्तिको तत्काल पिसिआर परीक्षण गरिने भएको हो ।
सङ्क्रमितको सम्पर्कमा रहेका हजार नागरिकको पिसिआर परीक्षणको तयारी गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।
‘समुदायमा कोरोना फैलन नदिन तत्काल एक हजारको परीक्षणको तयारी गरेका हौँ”, उनले भने। सङ्क्रमितको सम्पर्कमा आएका नगरपालिकाका नागरिकलाई पिसिआर परीक्षण गर्न वडा वा नगर कार्यालयमा छिटो सम्पर्क गर्न आग्रह गरिएको उनले बताए ।
नगर स्वास्थ्य शाखाले सङ्क्रमितको सम्पर्क रहेकाको पहिचान भइरहेको तथा पहिचान भएका र सम्पर्कमा आउनेको क्रमैसँग परीक्षण गरिने जनाएको छ । शाखा प्रमुख सन्दीप केसीले भने, ‘सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान गरिरहेका छौँ, अब उनीहरूको परीक्षण तत्कालै सुरु गर्दैछौँ ।’ण्
हालसम्म ४ सय नागरिकको ‘कन्ट्याक्ट ट्रेसिङ’गरी परीक्षण गरिसकिएको उनले जानकारी दिए । शाखाका अनुसार हालसम्म धुलिखेल बसोबास गर्ने २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये समुदायका ८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
पहिचानका क्रममा एक सङ्क्रमितसँग ३० जनासम्म सम्पर्कमा आएको पाइएको केसीले बताए । ‘सरदर एक सङक्रमित व्यक्ति २५ जनासम्मको सम्पर्कमा पुग्ने गरेको पाइयो,’ उनले भने।
सङ्क्रमितको सम्पर्कमा आएकालाई ‘होम क्वारेन्टिन’मा सुरक्षित बसी परीक्षणका लागि स्वाब सङ्कलन गर्न सहयोग गरिदिन समेत आग्रह गरिएको उनले बताए । धुलिखेलमा दुई हप्ताको बीचमा सङ्क्रमित व्यक्तिको सम्पर्कमा सयौँ नागरिक आएकाले तत्काल पहिलो चरणमा एक हजारको परीक्षण गर्न लागिएको हो ।
उक्त परीक्षणमा संस्थागत रूपमा सरकारीलगायत कार्यालयका एक जना ‘स्याम्प्लिङ’ गरी परीक्षण गरिनेछ । शनिबार मात्रै काभ्रेपलाञ्चोकमा देखिएका ३५ सङ्क्रमितमध्ये धुलिखेल अस्पतालमा कार्यरत १२ थिए ।
यसअघि विभिन्न स्थानमा अस्पतालमै कार्यरत नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भैसकेको छ । त्यस्तै धुलिखेलमा तीन प्रहरी, एक कानुन व्यवसायी तथा स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।
धुलिखेल–७ का ९८ बर्षिय वृद्धको कोरोना सङ्क्रमणबाट यही भदौ २ गते बिहान मृत्यु भएको थियो । पिसाब बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका वृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी भइ प्लाज्मा थेरापीमार्फत कोरोना भाइरस्को उपचार गर्ने तयारी भइरहेका बेला मृत्यु भएको अस्पतालले जनाएको छ ।
वृद्धलाई कोरोना देखिएलगत्तै उनीसँगै बस्ने छोरा र बुहारीसहित नौ जनालाई कोरोना सङ्क्रमण पुष्टी भैसकेको छ ।
प्रकाशित: ७ भाद्र २०७७ १३:०४ आइतबार