कोरोना संक्रमितको उपचार गरिरहेको काठमाडौं मेडिकल कलेजले अब थप बिरामी भर्ना नलिने भएको छ ।
यसअघि कोरोनाका बिरामी उपचार गरेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च नदिएपछि शनिबारदेखि थप बिरामी भर्ना रोकेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ८१ कोरोना संक्रमित उपचाररत छन् । अब थप बिरामी नलिने निर्णय गरिएको अस्पतालकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले जानकारी दिइन् ।
गत चैतदेखि अहिलेसम्म १ सय ५० कोरोना संक्रमितको उपचार गएिकामा स्वास्थ्य मन्त्रालयले २८ बिरामीबापतको मात्र खर्च दिएको र बाँकी रकम दिन पटकपटक अनुरोध गर्दा पनि आलटाल गरेकाले भर्ना रोकेको कार्कीले बताइन् ।
‘सबै बिरामीलाई खाना/खाजाको व्यवस्थासमेत अस्पतालले गर्नुपर्छ, तर मन्त्रालयले खर्च दिएन,’ नागिरकसँग उनले भनिन् ।
कोरोनाका बिरामी उपचार गर्ने गरिएका कारण काठमाडौं मेडिकल कलेजमा अन्य बिरामीको सेवाबाट आउने आम्दानीसमेत घटेको उनको भनाइ छ । कलेजको दुवाकोट अस्पतालमा सय शैय्या कोभिड–१९ बिरामीका लागि छुट्टयाइएको छ ।
यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भने मन्त्रालयबाट खर्च प्राप्त नभएको भन्ने जानकारी आफूलाई नभएको बताएका छन् ।
प्रकाशित: २६ श्रावण २०७७ ०८:५७ सोमबार