गत जनवरी सुरुदेखि नै अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले कोभिड–१९ विरुद्धको भ्याक्सिन बनाउन थालिसकेको थिए। त्यतिबेला यो रोगको सही नामाकरण पनि भएको थिएन र संक्रमणको स्तर पनि अत्यन्त न्यून थियो। यो महामारीले बितेका ६ महिनामा विश्वका झन्डै सवा ६ लाख मानिसको ज्यान लिइसकेको छ। अक्सफोर्ड टिम कोरोना महामारी रोकथाममा आवश्यक भ्याक्सिन निर्माणको दौडमा सबैभन्दा अघि छ।
भ्याक्सिन निर्माण गर्न बेलायती तथा स्विडिस औषधि निर्माता कम्पनी अस्ट्राजेनेका तम्तयार छन्। भ्याक्सिन अर्बौं मात्रा निर्माण गर्ने योजना छ। तर दुइटा प्रश्नको उत्तर आउन अझै बाँकी छ। के उत्पादन गर्न लागिएको भ्याक्सिन सुरक्षित छ ? र, यसले काम गर्छ ? जुलाई २० मा मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित अनुसन्धान पत्रले आशाको किरण देखाएको छ। अप्रिलदेखि सुरु भएर एक हजार स्वयंमसेवीमा गरिएको यो भ्याक्सिनको परीक्षण नजिताउन्मुख देखिएको छ।
अनुसन्धानकर्तासमेत रहेका अक्सफोर्ड जेनर इन्स्टिच्युटका निर्देशक डा. एड्रियन हिलका अनुसार नयाँ भ्याक्सिन मानव स्वास्थ्यमा प्रतिरक्षा प्रणाली मजबुत पार्न सहयोगी देखिएकोछ। यसलाई शरीरले सहन सक्छ र यो सुरक्षित पनि पाइएको छ। यसले शरीरलाई चाहिने ‘एन्टिबोडी’ र ‘टी सेल’ निर्माणमा सहयोग गर्ने पाइएको छ। ‘एन्टिबोडी’ ले आक्रमक भाइरसलाई पहिचान र निश्क्रिय पार्छ भने ‘टी सेल’ ले संक्रमित कोशिकालाई नष्ट गर्छ र त्यसभित्र खतरनाक भाइरस उत्पादन हुन दिँदैन।
डा. हिल भ्याक्सिन परीक्षणका क्रममा विकास भएका ‘एन्टिबोडी’ र ‘टी सेल’ शरीरले अन्य अवस्थामा स्वाभाविक रुपमा निर्माण गर्नेस्तरका एन्टिबडी जस्तैे रहेका र कोरोना भाइरसविरुद्धको प्रतिकार्य सशक्त रहेको पाइएको बताउँछन्। उनी भन्छन, ‘यो नतिजा प्रष्ट रुपमा राम्रो छ। यो अमेरिकी वायोटेक्नोलोजी कम्पनी मोर्डनाले बनाएको भ्याक्सिनभन्दा सफल छ। ’
विशेषगरी ‘टी सेल’ निर्माणमा देखिएको सकारात्मक परिणामले कोभिड–१९ बाट निको भइसकेका बिरामीमा एन्टिबडी निर्माणमा आउने स्वाभाविक ह्रासलाई सम्बोधन गर्न सक्ने विश्वास गरिएको छ। हराउँदै गएको एन्टिबडी निर्माण प्रक्रियाका कारण शरीरको प्रतिरक्षा प्रणालीले संक्रमण पहिचान गर्न सक्दैन। यस्तो बेला भ्याक्सिनले पनि सफल हिसाबले काम गर्न सक्दैन। सामान्य रुघाखोकीका लागि जिम्मेवार भाइरसले दीर्घकालीन प्रतिरक्षा प्रणालीको विकास गर्दैनन्।
अक्सफोर्ड विश्वविद्यालयको पछिल्लो भ्याक्सिन परीक्षण नतिजा र इन्टरफेरोन बेटाले कोभिड–१९ परास्त गर्ने दिशामा आशा जागेको छ।
टी सेल किन महत्वपूर्ण छ भने यसले दीर्घकालीन प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पु¥याउँछ। १७ वर्षअघि सिंगापुरस्थित ड्युक–एनयुएस मेडिकल स्कुलमा गरिएको एक अनुसन्धानले सार्स संक्रमित बिरामीमा पनि टी सेलमा आधारित प्रतिरक्षा प्रणाली रहेको पाइएको देखाएको थियो। कोभिड–१९ का लागि जिम्मेवार भाइरस र सार्स भाइरसबीच नजिकको सम्बन्ध भएका भाइरस हुन्।
त्यसो त हालसम्म चारवटा भ्याक्सिनको परीक्षण सफलता उन्मुख छन्। मोर्डना र फाइजर जस्ता ठूला औषधि कम्पनीले यथेष्ट तथ्यांक नै सार्वजनिक गरेका छन्। यस्तै चिनियाँ कम्पनी क्यानसिने बायोलोजिक्सले पनि अक्सफोर्डले अनुसन्धान सार्वजनिक गरेकै दिन आफ्नो अनुसन्धानको नजिता सार्वजनिक गरेको थियो। यी सबै नतिजाले यो वर्षको अन्त्यसम्म भ्याक्सिन उपलब्ध हुनसक्ने आशा जनाएका छन्। यी परीक्षणका नतिजा उत्साहवर्धक रहे पनि उपलबध गराइएका तथ्यांकले कोभिड–१९बाट सुरक्षित गर्ने अथवा नगर्नेमा तत्काल यसैभन्न सकिन्न।
शरीरको प्रतिरक्षा प्रणालीका लागि ‘टी सेल’ र ‘एन्टिबडिज’ दुवै आवश्यक हुन्छन् तर सशक्त प्रतिकार्यका लागि ‘टी सेल’ को भूमिका बढी महत्वपूर्ण हुने मानिन्छ। भ्याक्सिन परीक्षणको अर्काे चरण ‘इफिकेसी ट्राएल’ सम्पन्न भएपछि यी भ्याक्सिनले शरीरलाई यथोचित सुरक्षा दिने अथवा नदिने भन्ने कुराको निक्र्योल हुनेछ। यस्ता परीक्षणमा अक्सफोर्ड भ्याक्सिन अन्यभन्दा अगाडि छ। बेलायतमा थप १० हजारजनामा गरिने परीक्षण अन्तिम चरणमा छ भने ब्राजिल, दक्षिण अफ्रिका, अमेरिकामा केही सातामै यसको थप परीक्षण हुनेछ। सबै कुरा आशा गरेजस्तै भयो भने नियमनकारी निकायले यो वर्षको अक्टोबरभित्रै यी भ्याक्सिनलाई आपत्कालीन अनुमोदन दिन सक्ने आशा गर्न सकिन्छ। भ्याक्सिनका यी विकल्पमध्ये कुन बढी प्रभावकारी हुन्छन् भनेर तत्काल तुलनात्मक रुपमा केही भन्न सकिन्न। तर अन्ततः यी सबैको प्रभावकारिताको तुलना गर्नुपर्ने हुन्छ। त्यसका लागि यी भ्याक्सिनको परीक्षण एउटै प्रयोगशालामा गरेर कुनले सबैभन्दा बढी प्रतिरक्षा प्रणाली विकास गर्न सके भन्न्ने कुराको निक्र्योल गर्नुपर्ने हुन्छ।
अक्सफोर्डले भ्याक्सिनसम्वन्धी प्रारम्भिक नतिजा प्रकाशित गरेकै दिन बेलायतका बायोटेक्नोलोजी कम्पनी साइनएअरजेनले कोभिड–१९ का लागि उपचारका लागि ‘इन्टरफेरोन वेटा’ नामक पदार्थ सुँघ्दा बिरामीलाई निकै फाइदा भएको घोषणा गरेको थियो। यो पदार्थ १०० जनामा परीक्षण गर्दा अधिकांश बिरामीलाई सघन उपचार कक्षमा लग्नुपरेको थिएन भने भेन्टिलेटरमा लग्नुपर्ने स्थितिमा ७९ प्रतिशतले कमी आएको थियो। यसैगरी बिरामीहरुको निको हुने सम्भावना दुई अथवा तीन गुनाले बढेको थियो।
यी नतिजालाई सावधानीपूर्वक समीक्षा गर्न आवश्यक छ किनभने साइनएअरजेनले परीक्षण कसरी ग¥यो र कस्ता बिरामीलाई संलग्न गरायो भन्ने विषयमा पर्याप्त जानकारी दिइएको छैन। न त यो नतिजाको अन्यले समीक्षा गरेका छन्। तर यो दाबी सही निक्ल्यो भने कोभिड–१९ को उपचारले थप उचाइ पाउनेछ। समग्रमा, भ्याक्सिन र औषधि दुवैको घोषणाले यो वर्षभित्र कोभिड–१९ बाट बाहिरिने रणनीति निर्माण गर्न विज्ञान सफल हुने आशा बढेको छ।
(दी इकोनोमिस्टबाट)
प्रकाशित: १० श्रावण २०७७ ०६:०९ शनिबार