९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

संक्रमित बढेसँगै थपियो चुनौती

जिल्लामा काेराेना संक्रमितको संख्या बढेसँगै अस्थायी  कोभिड–१९ आइसोलेसन केन्द्रमा राखिएका संक्रमितको व्यवस्थापन र स्वास्थ्यकर्मीको अभाव खट्किएको छ । 

रोल्पामा ४ दिनअघि सञ्चालनमा आएको ‘अस्थायी  कोभिड–१९ आइसोलेसन केन्द्र’मा २१ जना संक्रमितलाई राखिएको छ । शय्या संख्या थप भएपछि सोमबार सुनिलस्मृति गाउँपालिकाका अन्य थप १२ जनालाई पनि ल्याउने तयारी गरिएको छ ।  

एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको चौबिसै घण्टा निगरानीमा रहेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको डा. अनिल केसीले बताए ।  

‘हिजो एक जनालाई सामान्य ज्वरो देखिएको थियो भने अर्को एक जनालाई उच्च रक्त चापको समस्या थियो तर आज सबै जना नर्मल हुनुहुन्छ,’ केसीले भने ।

केन्द्रमा संक्रमित थपिँदै विविध समस्याहरु  थपिन थालेको हो । एक डाक्टर, एक नर्स, एक एचए र एक जना कार्यालय सहयोगिको भरमा सुरु गरिएको केन्द्रको सेवाप्रवाहमा समस्या आएको हो ।  

डा. केसी भन्छन्, ‘हामीलाई गैरप्राविधिक कर्मचारीका अभाव भएको छ । स्वास्थ्यकर्मीले पियनदेखि प्लम्बरसम्मको काम गर्नु परिरहेको छ ।’

आइतबार विज्ञप्ति निकाल्दै डा. केसीले संक्रमितको संख्या बढेसँगै व्यवस्थापन एवं उपचारमा थप चुनौती थपिएको हुँदा सरोकारवालासँग जनशक्ति, औषधि र सामग्री मागिएको बताए ।  

‘कम्तीमा एक जना कार्यालय सहयोगी र प्रशासन हेर्ने कर्मचारी उपलब्ध गराइदिन सबैसँग अनुरोध गरिरहेका छौं,’ केसीले भने, ‘तीन जनाले लगातार चौबिसै घण्टा सेवाप्रवाह गर्नु चुनौतीपूर्ण छ । नियमित सामग्री आएन भने करिब एक सातामा स्वास्थ्य सामग्रीको पनि अभाव सुरु हुनेछ ।’  

रोल्पाका १० स्थानीय तहको सक्रियतामा सदरमुकाम लिवाङमा अस्थायी कोभिड–१९ आइसोलेसन केन्द्र स्थापना गरिएको हो । स्वास्थ्यकर्मीले सोमबारसम्म  जनशक्ति नपाएमा स्वयंसेवक बन्न अपिल गरेका छन् ।

केन्द्रको व्यवस्थापकको जिम्मा पाएका अस्पताल विकास समिति अध्यक्ष फबिन्द्र आचार्यले जिल्लास्थित सरकारी कार्यालय र सुरक्षा निकायलाई जनशक्ति व्यवस्थापनका लागि अनुरोध गरिएको बताए । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले गाउँपालिकालाई कार्यालय सहयोगी पठाउन भनेको बताए । उनका अनुसार यस्तो अवस्थामा केन्द्रमा खटिन  अन्य कार्यालयका कर्मचारीले अस्वीकार गरेका छन् ।  

रानाले भने, ‘बेलुकासम्म कुनै समाधान गर्ने तयारीमा छाैं ।’  

प्रदेश  ५ का अन्य जिल्लाको तुलनामा रोल्पाले आधुनिक र सुविधा सम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको भए पनि केन्द्र र प्रदेश सरकारले उल्लेखनीय कुनै सहयोग गरेका छैनन् । पिसिआर परीक्षण बढाउँदै जाँदा जिल्लामा संक्रमित थपिने सम्भावना बढेकाले सोहीअनुसारको तयारी गर्नुपर्ने देखिन्छ ।  

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App