नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना स्वास्थ्य बिमा गरिएको छ । कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तीमा रहेका काम गर्ने स्वास्थ्य कार्यालय अन्तर्गतका सबै ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख रुपैयाँको बिमा गरिएको हो । स्वास्थ्यकर्मीहरुको सामूहिक बिमा गरिएको ‘पोलिसी पेपर’ बिहीबार नेता बस्नेतले बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँलाई हस्तान्तरण गरे ।
नेता बस्नेतले आफूसहित जिल्लाका अगुवा नेता, कार्याकर्ताबाट रकम जुटाएर एक वर्षको म्यादी बिमा गरिदिएका हुन् । प्रतिस्वास्थ्यकर्मीको ६ सय रुपैयाँका दरले राजधानीको आइएमइ जनरल इन्सोरेन्स कम्पनीमो सामूहिक बिमा हो । यसका लागि तीन लाख ६७ हजार आठ सय रुपैयाँ भूक्तानी गरिएको छ । बिमापछि एक वर्षभित्र पिसिआर बिधीबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भए प्रतिस्वास्थ्यकर्मीले एक लाख रुपैयाँ पाउने छन् ।
सामूहिक बिमा गरिएको पेपर हस्तान्तरण गर्दै नेता बस्नेतले संकटमा सबै मिलेर काम गर्नुपर्ने बताए । ‘सहयोगको आवश्यकता दुःखमै पर्ने हो,’ उनले भने । स्वास्थ्यकर्मीका लागि उनले पिपिइ सेट र एन९५ माक्स पनि उपलब्ध गराएका छन् । बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले बिमाले माहामारीमा अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाएको बताए ।
यसअघि बस्नेतले कोरोनाबाट मुलुकमा पहिलो पटक ज्यान गुमाएकी सुत्केरीको शिशुको पोष्टिक आहारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए । गएको बैशाख १ गते धुलिखेल अस्पतालमा ती महिलाको मृत्यु भएको थियो । मृत्यु हुँदा नौ दिनको सुत्केरी रहेकी उनी सिन्धुपाल्चोक बाह्रविसेकी थिइन् । शिशुको उच्च शिक्षासम्मको जिम्मेवारी पनि नेता बस्नेतले लिएका छन् । कोरोना नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै बस्नेत स्वास्थ्य सामाग्री बितरणमा व्यस्त रहँदै आएका छन् ।
प्रकाशित: २२ जेष्ठ २०७७ १५:३५ बिहीबार